पेरिस : युरोपियन फुटबलको सर्वाधिक ठुलो प्रतियोगिता युरोकप फुटबलको १५ औं संस्करण आजबाट फ्रान्समा सुरु हुँदैछ ।
मिनी विश्वकपको रूपमा लिइने यो प्रतियोगिताको उद्घाटन खेल अन्तर्गत आज राति पौने एक बजे आयोजक फ्रान्सले रोमानियाको सामना गर्नेछ । यसपटकदेखि प्रतियोगितामा २४ टोलीलाई समावेश गरिएको छ । फ्रान्सका विभिन्न १० सहरमा हुने प्रतियोगितामा सहभागी राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक फ्रान्ससँगै रोमानिया, अल्बानिया र स्विट्जरल्याण्ड रहेका छन् ।
यसैगरी समूह ‘बी’ मा इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया रहेका छन् भने समूह ‘सी’ मा जर्मनी युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड छन् । यसैगरी समूह ‘डी’ मा स्पेन, चेक गणतन्त्र, टर्की र क्रोएसिया रहेका छन् भने समूह ‘ई’ मा बेल्जियम, ईटाली, आयरल्याण्ड र स्विडेन छन् । समूह ‘एफ’ मा पोर्चुगल, आईसल्याण्ड, अष्ट्रिया र हंगेरी छन् ।
प्रत्येक समूहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहने ६ टोली मध्येबाट उत्कृष्ट चार टोली प्रि क्वाटरफाईनलमा पुग्नेछन् । – एजेन्सी
नेपाली समयअनुसार :