काठमाडौँ – सुरक्षासम्बन्धी नेपाल भारत बैठक आजदेखि सुरु हुने भएको छ । दुई पक्षीय परामर्श समितिको बैठक सैन्य सामग्री खरिद र नेपाली सेनालाई भारतले उपलब्ध गराउने हेलिकप्टरको विषयमा केन्द्रित हुने बताइएको छ ।
नयाँदिल्लीमा सुरु हुने बैठकमा दुई वर्ष अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला दिएको हेलिकप्टर बिग्रेर प्रयोगमा नआएको विषयमा पनि छलफल हुनेछ । एक अधिकारीका अनुसार त्यो हेलिकप्टर मर्मत गर्ने या त्यसको साटो अर्को लिने विषयमा भारतीय पक्षसँग छलफल हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले काठमाडौँको टुँडिखेलमा निकै तामझामका साथ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको हेलिकप्टर प्राविधिक खराबीका कारण धेरै प्रयोगमा आउन नसकेको एक अधिकारीले बताए ।
हरेक वर्ष नियमित रूपमा बस्नुपर्ने सुरक्षासम्बन्धी परामर्श बैठक गतवर्ष नेपालको आन्तरिक राजनीतिक परिस्थितिका कारण बस्न सकेको थिएन । बैठकको पूर्वसन्ध्यामा नेपाली र भारतीय अधिकारीबीच अनौपचारिक तयारी बैठकसमेत भएको छ ।
आजको वार्तापछि नेपाली टोलीले भोलि भारतीय सेनाका सेनापतिसँग समेत भेटघाट गर्ने कार्यक्रम छ ।