काठमाडौँ – ११ औँ महाधिवेशनको मिति र स्थानबारे टुंगो लगाउन नेपाली काँग्रेसको भातृ सङ्गठन नेविसंघ केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजेपछि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने नेबिसंघ प्रबक्ता युपी लामिछानेले समुद्रपारी लाई जानकारी दिनुभयो । बैठकले महाधिवेशन कहाँ र कहिले गर्ने भनेर टुंगो लगाउने लामिछानेले बताउनुभयो । ११ बजे भनिए पनि बैठक केही ढिला शु्रु हुने लामिछानेले बताउनुभयो । बैठकमा अध्यक्ष रञ्जित कर्णले असार मसान्तसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गर्ने तयारी थाल्नुभएको छ ।
काठमाडौँ, पोखरा, चितवन वा विराटनगरमध्ये कुनै एक स्थानमा महाधिवेशन गर्ने प्रस्ताव कर्णले गर्ने जनाईएको छ । लामो समयदेखि आन्तरिक विवादका कारण हुन नसकेको नेविसंघ महाधिवेशन पार्टीको १३ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै भ्रातृ संगठनहरुको महाधिवेशन भदौ भित्र गराइसक्ने घोषणा गरेपछि महाधिवेशनको माहोल तातेको हो ।
आउँदो महाधिवेशनबाट नेविसंघ सङ्घीय संरचनामा जानेछ । बैठकमा केन्द्रीय समितिको संख्या, पदाधिकारीको संख्या , नीति तथा कार्यक्रम लगायतका विषयमा पनि छलफल हुनेछ ।