Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

२०७२ साल बैशाख १२ गतेको भूकम्पले नेपालको राजधानी लगाएत १४ जिल्लामा धनजनको ठूलो क्षति भयो । ८२ बर्षको अन्तरालमा ठूलो शक्तिशाली भूकम्पले अरु धेरै जिल्लाहरु पनि प्रभावित भए ।
झण्डै नौ हजार मानिसको मृत्यु भयो । २०औं हजार घाइते र अपाङ्ग बन्न बाध्य भएका थिए । भूकम्पका कारण धेरै ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदाको समेत क्षति भयो । भूकम्प पछि आएको ठूला पराकम्पन र पहिरोले पनि थप नोक्सान पुरयाएको थियो ।
भूकम्पको असरबाट नेपाल अझै बाहिर निस्कन नेपालले अझै पनि सकिरहेको छैन । भूकम्पले गर्दा अकाल मृत्यु बरण गर्न बाध्य भएका मानिसहरुको पीडाको बिस्तारै खाटा बस्तै गए पनि पीडामा परेर बाचेकाहरुको बिचल्ली छ । सुरक्षित जीवनको आशामा अझैपनि नागरिकहरु बसेका छन् ।
राज्यले जनताको पीडा, चिन्ता र आवश्यकतालाई जुन तीब्रता, तत्परता, लगनशीलता र द्रूतताकासाथ काम अगाडि बढाउन पर्ने थियो त्यसो गर्न सकिरहेको छैन । यो लापरबाहीपूर्ण दुःखद र निराशाजनक पक्ष अद्यापि रहिरहेकै छ । नेपालमा त्यो शक्तिशाली भूकम्प पछि पराकम्पन आउने क्रम जारी रहेको छ ।
२०७३ लागे यता पनि भर्खरै यही अप्रिल महिनामा नै बिश्वका बिभिन्न भागमा र खासगरी एशियाका बिभिन्न देशमा केन्द्रबिन्दू बनाएर एकपछि अर्को आएका भूकम्पहरुबाट अहिले भूकम्प संबन्धि अनुमानको बजार निकै तातेको छ । यस स्थितिबारे चीनीयाँ भूकम्पबिद्हरुको के भनाइ आएको छ भने यो संसारमा ठूला भूकम्पहरुको एउटा लामो श्रृंखलको शुरुवात हुन सक्छ । यद्यपि यसलाई पुष्टी या खोरज गर्न सक्ने कुनै बैज्ञानिक आधार भने आउन सकेको छैन ।
केही दिन पहिला ६.५ म्याग्निच्यूडभन्दा बढीको भूकम्पको केन्द्र क्रमश अफगानिस्तान र म्यानमार रहेका थिए । यद्यपि यी दुबै भूकम्पबाट जन धनको त्यत्ति ठूलो नोक्सान हुन पाएन । तर जापानमा दुइ साता जति अघिको बिहीवार, शुक्रबार र शनिवार तीन दिन नै लगातार तीब्र भूकम्पका धक्काहरु आएका कारण यो अड्कल अनुमानको आरम्भ फेरि शुरु भयो र शनिवारकै दिन प्रशान्त महासागरको अर्को किनारामा रहेको ल्याटिन अमेरिकी देश इक्वेडरमा ७.८ म्याग्निच्यूडको भूकम्पले त अटकल अनुमानको आँधी नै ल्याइदियो ।
सामान्यतः भूकम्पको कुनै पनि ठूलो धक्का पछि क्रमशः कम या मन्द हुदै जाने पराकम्पन अर्थात् ‘आफ्टरसक’को श्रृंखला आउने गर्दछ भन्ने मानिदै आएको हो । नेपालमा अहिलेसम्म त्यस्ता ४४५ पराकम्पनहरु आइसकेका छन् । तर यस पटक जापानमा भूकम्प क्रमशः तीब्र हुँदै गएको श्रृंखलाले कुनै अर्कै भिन्न कुरा बताइरहेको बिज्ञहरु अथ्र्याउँदै छन् । गत बर्ष नेपालमा आएको ७.९ म्याग्निच्यूडको भूकम्प पछि ७.४ म्याग्निच्यूड पराकम्प गएको बताइएको थियो । जसलाई भूकम्पको एउटा नयाँ किसिको बिशिष्ट दर्जाको रुपमा बिज्ञहरुले हेरेका थिए ।
निश्चय नै चीनीया भूकम्पबिद्हरुको अहिलेका भयावह रायप्रति धेरैको सहमति देखिएको छैन । तर उता अमेरिकी भूकम्पबिद्हरुले पनि नेपाल र जापानमा गएको भूकम्पहरुमा कुनै बिशेष कुरा देखिरहेका छैनन् । त्यसमा पनि पछिल्लो इक्वेडरको भूकम्पलाई त उनीहरु जापानको भूकम्पसँग कुनै सम्बन्ध नरहेको मान्दछन् । उनीहरुको के भनाइ छ भने ७ म्याग्निच्यूडभन्दा बढीको औसत १५ वटा यस्ता भूकम्प हरेक बर्ष आउने गर्दछन् तर तीनको केन्द्रबिन्दू धेरैजसो समुद्रमा हुने गर्दछ ।
यस्ता दुइटा भूकम्पहरु एकै दिन आउनु उनीहरुका अनुसार कुनै ठूलो कुरा होइन । तर जुन अग्ला भवनहरु बनाउने गति यस क्षेत्रमा तीब्रताकासाथ चलिरहेको छ यस भूकम्पीय जोखिम बढी भएका देशहरुले सबै भूकम्पका धक्काहरुलाई चूनौतिकारुपमा हेरिनु पर्दछ । भवन या घर निर्माण गरिदा भूकम्प प्रतिरोधी किसिमका हुनुपर्ने कुरामा कुनै होलो खुकुलो गरिनु नहुने कुरा भने एकदमै प्रष्ट छ ।
इतिहास हेर्दा नेपालमा विक्रम सम्वत १२१८ असार शुक्ल तृतीया सोमबारका दिन पहिलो विनाशकारी भूकम्प गएको थियो । त्यतिबेला भूकम्प मापन यन्त्र (रेक्टर स्केल)को आवीस्कार नभएको र कति रेक्टरको भूकम्प गयो भन्ने वैज्ञानिक आधार छैन । यद्यपि क्षतिको मूल्यांकनका आधारमा विज्ञहरुले त्यतिबेला करिब ७.७ म्याग्निच्यूडको भूकम्प गएको अनुमान लगाउँदै आएका छन् । त्यसै भूकम्पमा राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाण्डौ उपत्यकाको एकतिहाई जनसंख्या प्रभावित भएको थियो । काठमाण्डौका सर्वसाधारणले १५ देखि एक महिनासम्म शहर छाडेका थिए । एक महिनासम्म पटकपटक भूकम्पका धक्काहरु महसुस गरिएको थियो । धैरै घर, मन्दिर र पुरतात्विक सम्पदाहरु पनि ध्वस्त भएका थिए ।
त्यसपछिको दोस्रो ठूलो भूकम्प विक्रम सम्वत १३१६ को उल्लेख गरिएको छ । त्यस भूकम्पले पनि ठूलै क्षति पु¥याएको अनुमान गरिन्छ । धेरै मानिसको मृत्यु भएको अनुमान गरिए पनि यकिन तथ्यांक भने छैन । तथापि त्यही कारण मुलुकमा महामारी फैलनुका साथै अनिकाल परेकोले समेत त्यो ठूलै भूकम्प थियो भन्ने अनुमान गरिएको छ ।
दोश्रो भूकम्पको १४९ वर्षपछि काठमाण्डौलाई केन्द्रबिन्दु बनाएर विक्रम सम्वत १४६५मा तेश्रो भूकम्प आएको थियो । जुन भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिर जगैदेखि भत्काइ दियो । त्यतिबेला काठमाण्डौ उपत्यकाका धेरै मठमिन्दर र घरहरु भत्केका थिए । ठाउँठाउँमा जमिनमा ठूलठूला धाँजा फाटेका थिए । पानीको पुराना मुहान सुकेर नयाँ स्थानमा मूल पलाएका थिए । त्यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किएका थिए ।
विक्रम सम्वत १७३७ सालमा पनि अर्को भूकम्प गएको भूकम्प इतिहासविद बताउँछन् । जसले ठूलो विपत् निम्त्याएको थियो । दर्जनौं मानिस मरेका थिए । काठमाडौँलाई नै केन्द्रबिन्दु बनाएर गएको त्यस भूकम्पमा परी राजा श्रीनिवास मल्ल घाइते भएका थिए । तुलनात्मक रुपमा त्यतिबेला धनजनको कम क्षति भएको थियो ।
त्यसरी नै १८२४ असार १ गते त झन् एकैदिन २१ पटक भूकम्पको धक्का महसूस गरिएको थियो । यसले के कति धनजनको क्षति पु¥यायोे त्यसको कुनै आधिकारिक अभिलेख अहिलेसम्म भेटिएको छैन । तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै धनजनको क्षति भएको सहजै अनुमान गर्न सकिन्छ ।
विक्रम सम्वत १८६७ जेठ १० गते काठमाण्डौँ, ललितपुर र भक्तपुरमा घरहरु भत्केका थिए । काठमाण्डौ र ललितपुरमा ठूलो मानवीय क्षति भने त्यसबाट भएन । यद्यपि मठमन्दिर धेरै भत्किए । भक्तपुरमा भने निकै मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
त्यसरी नै अर्को ठूलो भूकम्प विक्रम सम्वत १८८० यमपञ्चकका दिन गयो । एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिँदा यो भूकम्प गएको हो भनिन्छ । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पु¥यायो । त्यस बेलासम्म भूकम्पको क्षति विवरणको यकिन तथ्यांक नभए पनि त्यसपछि भने नेपालमा गएका भूकम्पको तथ्यांक स्पष्टरुपमा पाइन्छ ।
विक्रम सम्वत् १८९० भदौ १२ गते सोमबार साँझ करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राती ११ बजे पनि पुनः भूकम्पको दोश्रो झड्का महसुस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरू र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । त्यस भूकम्पले भक्तपुर, ठिमी, साँखु र बनेपा नराम्ररी प्रभावित भएका थिए । काठमाडौँमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो ।
१८९० सालकै असोजमा अर्को ठूलो भूकम्प गयो । एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पा¥यो । अघिल्लो वर्षको भूकम्पले लगाएको घाउ सेलाउन नपाउँदै एक वर्षपछि १८९१ साल असार र असोजमा फेरि दुई ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।
नेपालको भूकम्प इतिहासमा सबैभन्दा विनाशकारी भूकम्प १९९० माघ २ गतेकोलाई मानिन्छ । त्यतिबेला काठमाडौँमा त्रिभुवन विक्रम शाह राजा थिए । संखुवासभाको चैनपुर केन्द्रबिन्दु बनाएर गएको ८ं.४ म्याग्निच्यूडको त्यो शक्तिशाली र बिनाशकारी महाभूकम्पले देशलाई धेरै ठूलो र नराम्रो असर पा¥यो ।
त्यतिबेलाको भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाडौँ उपत्यकामा मात्र चार हजार ५ सय जनाले ज्यान गुमाएका थिए । ९५ हजार मानिस घाइते भएका थिए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको त्यसको अभिलेख छ । त्यसबेला काठमाण्डौ उपत्यका झण्डै तहसनहस नै भएको थियो । धरहराको आधा भाग त्यतिबेलै भत्किएको हो । घण्टाघर पनि क्षतिग्रस्त भएको थियो । भूकम्पले मुलुकका ९५ प्रतिशत स्थानमा खानेपानी आपूर्ति बन्द भएको थियो । झण्डै ५० प्रतिशत पुल भत्किए । सात लाखभन्दा बढी मानिस घरबारविहीन भएका थिए ।
त्यस पछि २०३७ सालमा सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दू बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट बझाङसहित सुदूरपश्चिमका बैतडी, बाजुरा र दार्चुला जिल्ला बढी प्रभावित भएका थिए । त्यसबेला करिब २५ सय घर ध्वस्त भए । १ सय २५ जना मानिसले ज्यान गुमाए । २ सय ४८ जना घाइते भए । ११ हजार ६ सय ४ ध्वस्त भएका थिए ।
अनि २०४५ साल भदौ ५ गते बिहान पौने पाँच बजे ठूलो भूकम्प गएको थियो । उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६. ७ म्याग्निच्यूडको भूकम्पमा ७५० जनाले ज्यान गुमाए । ६ हजार ५ सय भन्दा बढी घर भत्किए । यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पु¥यायो भने काठमाण्डौ उपत्यकामा समेत त्यसको असर परेको थियो । २०६८ साल असोज १ गते भारतको सिक्किम केन्द्रबिन्दु भएर गएको ६.९ मग्च्यिूडको भूकम्प गएको थियो । जसमा ५ जनाको मृत्यु भएको थियो । २७ जनाबन्दा बढी घाइते भएका थिए ।
गत बर्ष २०७२ साल वैशाख १२ गते मात्र गोरखा जिल्लाको उत्तरी क्षेत्र बार्पाकलाई केन्द्रबिन्दु बनाएर ७.९ म्याग्निच्यूड तीब्रताको महाभूकम्प गएको थियो । एक म्याग्निच्यूडको तीब्रता बढ्दा त्यो अघिल्लोभन्दा १० गुणा बढीको भूकम्प हुने गर्दछ । त्यो भूकम्पका पराकम्पनहरु अहिलेसम्म पनि आइरहेका छन् । भूकम्पको भय निरन्तर रहेको भए पनि यसबाट जोगिने उपायहरु भने अझैसम्म पनि राम्रोसँग नगरिएकोले सर्बत्र चिन्ता छ । भूकम्पको पीडत र भूकम्प पछिको पीडा निरन्तर जारी छ ।

तपाईको प्रतिक्रिया