आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – एक्काइस वर्षअघि भएको कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त काठमाडौँ दहचोक बस्ने रामहरि परियारलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार पक्राउ गरेको छ । वादी नेपाल सरकार, प्रतिवादी परियार भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको २०५५ चैत ५ गतेको फैसलाले पाँच वर्ष कैद हुने ठहरेको र उक्त कैद बेरुजु रही फरार रहेका परियारलाई बखतीगाउँ दहचोकबाट पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानको लागि परियारलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी दिनुभयो । मकवानपुर बसामाडीमा २०५१ फागुन २६ गते विष्णु परियारको छोराको विवाहको निम्ता मान्न आएका ध्रुवे परियार र प्रह्लाद परियार ट्रकमा चढी मनहरितर्फ जान लाग्दा प्रह्लाद परियारले गाडीमा अगाडि राखिएको देउताको मूर्ति भाँचिदिएको विषयमा विवाद हुँदा प्रतिवादी रामहरिसमेतका व्यक्तिले पीडित ध्रुवे परियार र प्रह्लाद परियारलाई गाडीको लिभरले हानी, कुटपिट गरी घाइते बनाएका थिए ।
घाइतेमध्येका ध्रुवेको उपचारको क्रममा सोही वर्षको चैत ८ गते वीरगञ्ज अस्पतालमा मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा रामहरिलाई सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय हुने गरी फैसला गरेको थियो ।

तपाईको प्रतिक्रिया