नेपाली कांग्रेसको १३ औ महाधिवेशन नजिकिदै छ । कांग्रेसको गाँउ र क्षेत्रीय अधिवेशन अधिकांश जिल्लामा सम्पन्न भइसकेको छ भने जिल्ला अधिवेशन केही जिल्लामा सकिएको छ । पार्टी सभापति सुशील कोइरालाको निधन पछि कांग्रेसले फागुन १ गते सम्मका लागि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेपनि महाधिवेशनको मिति नसरेपछि भने नेताहरुको चर्चा र तयारी निरन्तर चलिरहेको छ । कांग्रेसमा यसपालीको अधिवशेनबाट गाँउ तथा जिल्ला तहमा पनि युवाहरुको वर्चश्व बढ्दै गएपछि केन्द्रिय तहको राजनीतिमा पनि एकप्रकारको तरंग पैदा भएको छ । अझ कांग्रेस भित्र विद्यार्थी पुस्ताका नेता गगन थापाले आफू महामन्त्रीको दाबेदार भएको घोषणा गरेपछि बा र हजुरबा पुस्ताका नेताहरु तिल्मिलाएका छन् । यसै सन्दर्भमा सलोजा दाहालले युवा नेता गगन थापासंग गरेको कुराकानी ।
महाधिवेशनको तयारी कस्तो चल्दै छ ?
औपचारिक रुपमा केही दिनका लागि कार्यक्रम स्थगित भएका छन् । तर आन्तरिक रुपमा तयारीहरु भइरहेका छन् ।
गाँउ देखि जिल्लासम्म पनि युवाहरुको लहर देखिएको छ । केन्द्रमा चाही युवाको तयारी कस्तो छ नी ?
पार्टीको अरु साथीले पनि पहल गरिरहनुभएको होला । काठमाडौँमा यस विषयमा छलफल भइरहेका छन् । अझ नेविसंघका पृष्ठभूमिबाट आएका साथीहरु बीचमा निरन्तर छलफलमै छौ । त्यस्तै दस्तावेज नै तयार पारेर जिल्लामा पनि पठाएका छौ । त्यसको फिडब्याकपछि हर्ने छौ ।
तपाइहरु कतिको आशावादी हुनुहुन्छ ?
यो प्रत्यक्ष अप्रत्यक्ष रुपमा पार्टी भित्र देखि बाहिरपनि निरन्तर उठेको विषय हो । अझ हामी नेविसंघमा लामो समय नेतृत्व गरेका साथीहरुपनि संगै छौ । त्यतिमात्र होइन गाँउ, क्षेत्र र जिल्ला तहमा पनि युवा पुस्ताको वर्चश्व क्रमश बढिरहेको छ । यस्तो अबस्थामा परिर्वतन हुन्छ र हुनुपर्छ भन्नेमा हामी विश्वस्त छौ ।
नेपाली कांग्रेसमा अझै पनि हजुरबा पुस्ताको बर्चश्व छ । तपाइ पार्टीको महामन्त्रीको दावेदार भन्दै हिड्नुभएको छ नि ?
हामीले अगाडि कोही छ भनेर पर्खेर बस्ने भन्दा पनि हाम्रो लागि कुन स्थान सही हो भनेर छुट्याउनु आवाश्यक छ । कांग्रेस केन्द्रिय समितिमा यस अघि पनि केही युवाहरु पुगे तर निर्णायक तहमा अझै पुग्न सकेका छैनन । त्यसैले युवाको सशक्त उपस्थिती देखिएको छैन । पदाधिकारी वा महामन्त्री भनेको निर्णायक तह हो त्यहाँ युवाको उपस्थिति अत्यावश्यक छ ।
तपाइलाई महामन्त्री बनाउने विषयमा युवा नेताहरुबीचमा पनि छलफल या सहमति भएको हो ?
सहमति भन्दा पनि हामी निरन्तर छलफलकै क्रममा छौ । अब कांग्रेसमा पनि युवा नेतृत्वको खाँचो छ भन्ने कुराको महसुस हाम्रो वृत्तमा भएको छ । म भन्दा अगाडिको कोही युवाको नेतृत्व गर्दै आउंछ र हाम्रो मद्दतले पुग्छ भने म त्यसमा जान तयार छु । यदी होइन भने मलाई साथ दिनुपर्छ ।
१२ औ महाधिवेशनमा पनि कुनै प्यानलमा नलागी बढी मत पाएर केन्द्रिय सदस्य बन्नुभयो । अब महामन्त्री उमेद्धार हुदाँ समेत कुनै प्यानलमा नलाग्ने घोषणा गर्नुभएको छ । यो अडान अन्तिम समय सम्म पनि टिकीरहन्छ ?
प्यानलमा नगइ निर्वाचनमा जाने उमेद्वार हुने कुरा कुनै हदसम्म बाध्यताको कुरा होला । तर अबको आवाश्यकता पनि बनेको छ । जुनसुकै उमेर समूह वा विचार समूहको भए पनि हामीहरु पार्टीमा तलदेखि माथिसम्म गुट उपगुटमा विभाजित भएका छौ । त्यो अस्वभाविक पनि होइन । हाम्रो पार्टीको निर्माण नै यसरी विभाजित भएको छ । पार्टीको निर्णय गर्ने ठाउँमा कुनै गुटले बोकेर पुरयायो भने त्यो गुटको सीमा भित्र बसेर त केही गर्न सकिएला तर मूल रुपमा त त्यही गुटअनुसार नै चल्नुपर्ने बाध्यता रहन्छ । स्वतन्त्ररुपमा कुनै गुटको गन्ध नल्याई काम गर्न हामी स्वतन्त्ररुपमा अघि बढ्नै पर्छ । त्यसैले मैले महामन्त्रीको दाबेदारको रुपमा अघि बढेको छु । तर मेरो जेनेरेशनको कोही दाइ दिदी नेतृत्व गर्नका लागि तयार हुनुहुन्छ भने म उहाँको पछि जान तयार छु । होइन भने मलाई सहयोग गर्नुस भनेको हो ।
तपाईहरु जस्तो युवा जोस जाँगर भएको नेताहरु कांग्रेसमा हुनुहुन्छ । तर कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको हो ?
हो यस विषयमा हाम्रो भूमिका प्रति हामी आफैलाई चित्त बुझेको छैन । संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टीले प्रतिपक्षीको मञ्च प्रयोग गर्दै गर्दा सबैभन्दा प्रभावकारी भूमिका निर्वाह गर्न पाउने ठाउ भनेको संसद हो । संसदीय व्यवस्थामा सैदान्तिक प्रतिबद्धता भएको व्यवहारमा प्रयोग गर्ने र विश्वास गर्ने परिपाटी भनेको अत्यन्त फितलो भएको महसुस भएको छ । म अहिले संसदीय समितिको सभापति पनि छु । यस अघि पनि संसदीय दलमा बसेर काम गरेँ । चाहे सरकारमा बस्दा होस वा अरु वेला होस संसदको समिति, संसदको अधिकार र संसदको बैठकलाई उपभोग गर्ने क्रम कम हुदै गएको छ । अझ बुझाइ नै कमजोर हुदै गएको छ । त्यसैले संसदले भूमिका निर्वाह गर्न सकेको छैन ।
तपाई त युवाले अब जिम्मेवारी लिनुपर्छ भन्ने व्यक्ति काम गर्न सकेनौ भनेर पन्छिन पाइन्छ र ?
व्यक्तिगत रुपमा गर्न सकिने भूमिकाहरु म लगाएत धेरै साथीहरु चुकेका छैनौ भन्ने लाग्छ । तर संसदलाई डिरेक्सन गरेर जाने पनि मुख्य नेतृत्व नै हो । अहिलेसम्म संसदीय दलको कार्यसमिति बनेको छैन । संसद चलेको बेलामा महिनामा दुईपटक संसदीय कार्यसमितिको बैठक बस्नैपर्छ भन्ने छ । तर अहिलेसम्म त्यो प्राक्टिस भएकै छैन । मैले कसैलाई आरोप लगाएको होइन । तर हामीले चाहेर पनि गर्न सकेका छैनौ । त्यसैले प्रतिपक्षीको फितलोपनकै कारण सरकार पनि कमजोर भएको महसुस हुन्छ । ***