Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

Dharma Raj Adhikariनेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेस प्रजातन्त्रको पर्याय शब्द बनेको छ । आधुनिक नेपालको शुरुवात नै प्रजातान्त्रिक अन्दोलनको प्रारम्भ थियो । ‍‍‌‍सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा आधुनिक मूल्य एबं मान्यताहरुको प्रतिस्थापन गर्न नेपाली कांग्रेसले १०४ वर्षको राणाशासनको अन्त ३० बर्षको पञ्चायत र अन्तमा २३८ बर्षको राजतन्त्रको समेत अन्त गर्दे लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्ने सबै ऐतिहासिक आन्दोलनको नेत्तृत्व दिदै आएको कुरा ऐतिहासिक तथ्य भैसकेको छ । यतिमात्र होइन एउटा भयानक दुष्चक्रमा फसेको संबिधान सभाबाट पनि ८ बर्षको अन्तरिम काललाई चिर्दै आधुनिक नेपालको गणतन्त्रात्मक लोकतान्त्रिक संबिधानको घोषणा पनि अन्तत कांग्रेसकै नेत्तृत्वबाट मात्र सम्भव हुन सक्यो । नेपालको संबिधान २०७२ को घोषणा संगै आधुनिक नेपाल निर्माणको प्रक्रियाको पहिलो चरणको (राणा शासनको अन्तबाट शुरु भएर) अन्त भएको छ । यो कालखण्ड नेपालकै इतिहासमा नेपाली जनताले गरेको सबैभन्दा लामो, कठोर, बलिदानपूर्ण काल रह्यो जसले नेपाली जनतालाई पूर्ण सार्वभौम शक्तिको स्रोत बनायो ।

अब आधुनिक नेपालको दोस्रो चरण सुरुवात भएको छ । यो चरण विकास निर्माणको चरण हो । त्यसैले अहिलेको समय लामो तथा कठोर प्रजातान्त्रिक आन्दोलनको अन्त्य र एक लोकतान्त्रिक नेपालको अनन्त यात्राको आरम्भ पनि हो । एउटा युगको अन्त र अर्को युगको सुरुवात हो । यो नयाँ युगको यात्रा पनि अत्यन्तै जटिल र संवेदनशील छ । यसको प्रारम्भिक काल ज्यादै चुनौतिपूर्ण देखिन्छ । लामो संघर्ष र बलिदानबाट नेपाली समाजको नयाँ संरचना र स्वरुपको एउटा बैधानिक घोषणा भयो । तर यो बृहत राष्ट्रिय (संघीय) संरचनालाई स्थानीय स्तरमा तथा जनस्तरमा पुरयाउन र यसको अभ्यासलाई सुनिश्चित गर्दै सुसंस्कृत पार्ने चुनौती नेपाली समाजमा देखिन्छ । जति छिटो सबल र बुध्दिमत्तापूर्ण तरिकाले यी चुनौतीहरुको व्यवस्थापन हुन सक्ला त्यति नै छिटो नेपाली जनताले सुख शान्ति र समृद्धिको जीवन यापन गर्न पाउनेछन् । नेपालको वर्तमान अबस्थालाई यसरी पनि भन्न सकिन्छ कि अहिले राष्ट्र निर्माणको नक्शा मात्र बनेको छ । यो इन्जिनियरले एउटा घर बनाए जस्तै हो । नक्शा बन्दैमा घर बन्दैन । घरको परिकल्पना कागजमा मात्र हुन्छ । अझै केहि सानातिना विवादहरु देखिएका छन् । अहिले परिकल्पना गरिएको नेपालरुपी घरको ७ कोठामा केहि हेरफेर गर्नुपर्‍यो, यता घटाउनु पर्‍यो, उता थप्नुपर्‍यो भन्ने आवाजहरु उठेका छन् । यी र यस्ता असन्तुष्टिको ब्यबस्थापन सहि ढंगबाट भएनन भने एउटा कोठाले अर्को कोठा, अर्को कोठाले अर्को कोठाको विस्तार एबम परिमार्जन गर्दे जाने परिस्थिति बनेमा सिंगो घरको निर्माण परियोजनामा नै असर नपर्ला भन्न सकिदैन । त्यसैले यस कुराको गम्भीरतालाई बेलामा नै सम्बन्धित सबैले बुझ्न जरुरी देखिन्छ ।

आसन्न नेपाली कांग्रेसको महाधिबेशन गणतन्त्र नेपालको संबिधान २०७२ जारी गरेपछिको पहिलो महाधिबेशन हुन गईरहेको छ । यो महाधिबेशन यसकारणले पनि बढी महत्वपूर्ण छ कि यसले एउटा गणतान्त्रिक नेपालको विकास र समृद्धिको भिजन बोकेको प्रभाबकारी नेतृत्वको चयन मात्र नगरी समस्त पार्टीको बैचारिक एबम सांगठानिक संरचनाहरुको समेत व्याख्या र ब्यबस्था गर्नुपर्ने ऐतिहासिक दायित्व बोकेको छ । मुलुक संघीय संरचनामा गईसकेकोले अब मुलुकभित्रका सबै अवयवहरु तदनुसार बदलिनु अनिबार्य छ ।

राष्ट्रिय सन्दर्भको चर्चालाई मोड्दै यहाँ नेपाली कांग्रेसको भातृसंस्थाको रुपमा बिकसित विदेशस्थित नेपाली जनसम्पर्क समितिको भूमिका, दयित्व र चुनौतीको चर्चा गर्ने कोशिस गरिएको छ । नेपाली जनसम्पर्क समितिको जन्म र विकास एउटा ऐतिहसिक पृष्ठभूमिमा भएको हो । नेपाली कांग्रेसले निरङ्कुश पञ्चायत बिरुध्दको संघर्षमा प्रवास अर्थात् विदेशमा बस्ने नेपाली समुदायको सहयोगलाई परिचालन गर्न नेपाली जनसम्पर्क समितिको गठन गर्ने परिकल्पना जननेता बि.पी. कोइरालाले गर्नुभएको थियो । निरङ्कुश पञ्चायत बिरुध्दको संघर्षमा नेपाली कांग्रेसलाई प्रवास खासगरी भारतमा रहेको नेपाली समुदायबाट महत्वपूर्ण सहयोग प्राप्त भएको कुरा सर्बबिदितै छ । तसर्थ नेपाली जनसम्पर्क समिति भनेको विदेशमा रहेको नेपाली कांग्रेसको संगठन हो अर्थात् विदेशमा बसेका नेपाली कांग्रेसका समर्थकहरुको संगठन पनि हो जसको उद्धेश्य विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइलाई आवश्यक सहयोग गर्दै नेपाली कांग्रेसका समस्त क्रियाकलाप र संघर्षमा साथ दिनु नै हो । त्यसैले आन्दोलनको अवस्थामा दिनुपर्ने साथ सहयोग अथवा भूमिका र अबका दिनमा खेल्नुपर्ने भूमिका र दायित्व बदलिएको हुनुपर्छ । अब बढी रचनात्मक र बस्तुगत हुन जरुरत छ । नेपाली जनसम्पर्क समितिलाई हेर्ने दृष्टिकोणमा पनि परिबर्तन हुन जरुरत छ । आजका दिनमा नेपाली जनसम्पर्क समितिको प्रभावकारी भूमिकाले एउटा पार्टीको संगठनलाई मात्र मजबुत पार्दैन कि समस्त राष्ट्रको छबिलाई समेत उच्च पार्ने काम गर्न सक्छ ।

हिजो निरंकुशताको बिरुध्द संघर्ष जेलनेल तथा जिउज्यान समेत आहुती दिने नेपाली कांग्रेसका नेता कार्यकर्ता अहिले लोकतन्त्रको स्थापना पछि नेपाली कांग्रेस राष्ट्रको सबैभन्दा ठुलो बिश्वासयोग्य पार्टी बनेको छ, जसलाई राष्ट्रिय एवम अन्तर्राष्ट्रिय क्षेत्रबाट आधुनिक नेपालको संवाहकको रुपमा हेरिएको छ । नेता कार्यकर्ताको काँधमा राष्ट्रनिर्माणको जिमेवारी आएको छ । अब नेपाल बनाउने र बिगार्ने जस-अपजस पनि नेपाली कांग्रेसले नै लिनुपर्ने अवस्था आएको छ । नेपाली कांग्रेसको अगामी महाधिबेशनले यसको वर्तमान भूमिका र जिम्वेवारीलाई गहिरो समीक्षा गरी भविष्यको मार्गदर्शन तथा प्रभाबकारी नेतृत्वको पहिचान गर्ने छ भन्ने आशा गर्न सकिन्छ ।

बर्तमान अवस्थामा नेपाली जनसम्पर्क समितिहरु विभिन्न देशमा बसोबास गर्दै आएको समाजमा विस्तार हुंदै बिश्वब्यापी बन्दै गईरहेको छ । जनसम्पर्क समिति जस्तो प्रवासी नेपालीहरुको नेपाली कांग्रेसको संगठनमा एउटा बलियो आधारशीला बन्न सक्ने संभावना बोकेको कुरालाई आत्मसाथ गर्न आबश्यक देखिन्छ । यस ऐतिहासिक घडिमा नेपाली जनसम्पर्क समितिको भूमिका दायित्व र चुनौतीको चर्चा हुनु जरुरी छ ।

बिश्वब्यापीरुपमा ५० औं लाखको जनसंख्यामा रहेका प्रवासी नेपालीहरुको समुदायमा नेपाली काँग्रेसका समर्थकहरुको संगठनको रुपमा बिकसित नेपाली जनसम्पर्क समितिलाई कुन अबधारणा, कुन व्यवस्था एबं नीतिमा नेपाली कांग्रेसले आफ्नो मूल संगठनको संरचनामा प्रबाह गर्ने हो बन्ने बिषय सुस्पष्ट हुन आवश्यक छ । हालका दिनहरुको समीक्षा गर्ने हो भने नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समितिको सन्दर्भमा कुनै ठोस नीति एबं अवधारणा नै छैन भन्न नसके पनि ब्यबहारिकरुपमा भन्नुपर्दा अत्यन्तै अब्यवस्थित रुपमा संचालन भएको अवस्था छ । प्रजातान्त्रिक संगठन संचालनको मान्यता र मूल्यबाट संगठन संचालन भएको देखिदैन । जुन नेपाली कांग्रेसका सबै भातृसंगठनहरुको पुरानै समस्या हो । तथापि नेपाली कांग्रेस पार्टीले नेपाली जनसम्पर्क समिति तथा यसको भूमिका र योगदानको कदर गर्दै काँग्रेसको महाधिबेशनमा समेत जनसम्पर्क समितिको संस्थागत सहभागितालाई ब्यबस्थित गरेको पाईन्छ, जुन कुराले जनसम्पर्क समितिको राजनैतिक महत्व र भूमिकाको गम्भीरता अनुमान गर्न सकिन्छ । अगामी अधिबेशनमा विभिन्न देशबाट सहभागी हुन जाने प्रतिनिधिहरु आपसी भेला गरेर जनसम्पर्क समितिहरुले भोग्न परेका समस्या र तिनको संस्थागत समाधानतर्फ एक मुष्ठ सुझाबको प्रतिबेदन पेश गर्नु बढी उपलब्धिमूलक हुन सक्छ ।

नेपाली जनसम्पर्क समितिको भूमिका र दायित्वको चर्चा गर्दा यसले गर्न सक्ने कुरा र राष्ट्रलाई दिन सक्ने योगदानको क्षेत्र धेरै नै छन् जसलाई निन्न बुंदागत रुपमा संक्षेपमा उल्लेख गर्न सकिन्छ ।
१. प्रवासमा रहेका नेपालीहरुलाई संगठित गर्ने र नेपाली समुदायको हित र कल्याण मा सक्रिय हुने ।
२. जनसम्पर्कका सदस्यहरु एबं नेपाली समुदायमा प्रजातान्त्रिक मूल्य मान्यताको प्रशिक्षण गर्ने तथा नेपालको समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका र योगदानको प्रचार प्रसार गर्ने ।
३. नेपालको राष्ट्रिय विकासमा प्रबासमा रहेको नेपाली समुदाय र अन्तर्राष्ट्रिय समुदायबाट बिभिन्न सीप, प्रविधि तथा लगानीका क्षेत्रहरुको पहिचान र प्रबर्द्धन गर्ने ।
४. नेपाल र नेपालीले भोग्नुपरेका विभिन्न राष्ट्रिय बिपत्ति तथा दुःख कष्टहरुमा साथ दिन नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग परिचालन गर्ने ।
५. प्रवासमा रहेको नेपाली समुदायमा नेतृत्व बिकासको अबसर प्रदान गरी राष्ट्रिय एबम अन्तर्राष्ट्रिय स्तरमा नेतृत्वको विकास गर्ने ।
६. नेपाली कांग्रेसका सबै राष्ट्रिय कार्यक्रमलाई प्रवास क्षेत्रमा पनि विभिन्न गतिबिधिहरु सम्पादन गरी कांग्रेसको लोकप्रियता अभिबृद्धि गर्ने ।
७. प्रवासमा कार्यरत अन्य पार्टीका भात्तृसंस्थाहरु एबं अन्य सामाजिक संघसंस्थाहरुसंग सहयोगको आदान-प्रदान गरी सम्पूर्ण प्रवासी नेपाली समुदायको प्रतिष्ठाको रक्षा गर्दै हामी नेपाली भन्ने राष्ट्रिय गौरबलाई संधै उच्च राख्ने आदि ।

जहाँसम्म जनसम्पर्क समितिका समस्या तथा चुनौतीहरुको प्रश्न छ यस सम्बन्धमा पनि निकै अस्पस्टता र अन्योलको अवस्था छ । अधिकाँश देशहरुमा संगठित भएका जनसम्पर्क समितिहरुको निर्माण तथा गतिबिधिहरु नितान्त नबिन प्रयासहरु हुन् जो अझैसम्म पनि प्रारम्भिक अवस्थामा नै देखिन्छन । बिगत १०-१५ वर्षको छोटो अनुभबमा पनि उल्लेख्य संगठनात्मक उपलब्धिहरु हासिल भएका छन् । यसको विस्तारको क्रम जारी छ र निकट भबिष्यमा नै अरु कैयन देशहरुमा संगठन विस्तार हुने कुरा निश्चित छ । छोटो अबधिका बिचमा पनि जापान, अष्ट्रेलिया हंककंग, अमेरिका तथा युरोपका केहि देशहरुका जनसम्पर्क समितिहरुले विभिन्न कमी कमजोरीका बाबजुद विभिन्न सांगठानिक तथा सामाजिक भलाईका कार्यक्रमहरुमा पनि सक्रिय हुंदै आएका छन् । साथै नेपाली कांग्रेसको १२ औं महाधिबेशनमा पहिलोपटक जनसम्पर्क समितिबाट प्रतिनिधिहरुको सहभागिताको व्यवस्था भएकोले प्रवासस्थित जनसम्पर्क समितिका गतिबिधिहरुको परिचय कांग्रेसको महाधिबेशनमा राख्ने अबसर प्राप्त भएको थियो ।
प्रबासमा गठन भएका जनसम्पर्क समितिहरुको प्रभाबकारी संचालनमा देखिएका प्रमुख समस्या तथा चुनौतीहरु निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
१. पार्टीको जनसम्पर्क समिति सम्बन्धि स्पष्ट नीति तथा कार्यक्रमको अभाब ।
२. जनसम्पर्क समितिको समयानुकूल स्पष्ट बिधानको अभाब ।
३. बादबिबाद र ग्रुपिज्मको विकास, संगठनमा ब्यक्तिबादी प्रवृतिको हाबी, वैचारिक प्रतिस्पर्धाको अभाब, संभवत: नेपाली कांग्रेसभित्रको विवादको प्रभाब ।
४. संगठन विस्तार, प्रशिक्षण कार्यक्रम, सूचना प्रबाह एवम सामाजिक संजाल प्रयोगमा न्यूनता ।
५. प्रवासमा नेपाली कांग्रेसको क्रियाशील सदस्य वितरणको नीति एवं निश्चित मापदण्डको अभाब आदि ।

कुनै पनि संगठन समस्या मुक्त त हुनै सक्दैन । समस्या र चुनौती के हुन् र त्यसको समाधानमा हामी कति चिन्तित छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपाली कांग्रेसको संसारभरिका जनसम्पर्क समितिहरुले भोग्नुपरका समस्याहरु प्रायः एउटै प्रकारका होलान । संगठनको समयानुकुल बिधान र कार्यक्रमको निर्माण र त्यसको निष्ठापूर्ण पालना र व्यवहार नै समस्याको समाधान हो भने कुरा सर्बबिदितै छ । राम्रा राम्रा नीति कार्यक्रमहरु बने पनि त्यसको सही पालना र कार्यान्वयन हुन सकेनन भने कुनै अर्थ हुंदैन तसर्थ नेपाली कांग्रेसको अगामी १३ औं महाधिबेशनले भर्खरै बामे सर्दै गरेको नेपाली जनसम्पर्क समितिलाई एउटा सशक्त, ब्यबस्थित र प्रभाबकारी भात्तृसंगठनमा बिकसित हुने बाताबरण बनाउने छ भन्ने आशा गर्दै त्यसको भावना अनुसार विभिन्न देशमा कार्यरत जनसम्पर्क समितिहरु बढी ब्यवस्थित र क्रियाशील हुन सक्नेछन् भन्ने आशा गर्न सकिन्छ ।***

५ जनवरी २०१६
फुकुओका, जापान

तपाईको प्रतिक्रिया