अग्निप्रसाद सापकोटा
सभासद्, सिन्धुपाल्चोक क्षेत्र नं. २
अग्निप्रसाद सापकोटाको नाम जिल्लामा राजनीतिज्ञभन्दा अगाडि शिक्षासेवीले चर्चित थियो । सिन्धुपाल्चोकको जनजागृति माविको प्रधानाध्यापक छाडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता हुनुभएका सापकोटाले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट दोस्रोपटक संविधानसभा सदस्य रहनुभएका सापकोटा एमाओवादी स्थायी समिति सदस्य हुनुहुन्छ । महाभूकम्पले सबैभन्दा ठूलो प्रभाव पारेको सिन्धुपाल्चोकको जनप्रतिनिधिका हैसियतमा उद्धार, राहत र पुर्नस्थापनाका विषयमा गरिएको कुराकानीको सम्पादित अंशः
भूकम्पले सबैभन्दा धेरै प्रभावित सिन्धुपाल्चोकमा उद्धार, राहत र पुर्नस्थापनाका कामहरु कसरी भइरहेका छन् ?
जुरेमा गएको पहिरोको एक वर्ष नपुग्दै सिन्धुपाल्चोकले महाभूकम्प सामना गर्नुपर्यो । महाभूकम्पको सर्वाधिक असरले जिल्ला नै थलिएको छ । वैशाख १२ गतेको भूकम्पपछि उद्धारको काम सकिनैलाग्दा फेरि २९ गतेको भूकम्पले झन् तहसनहस बनायो । दोस्रो धक्कापछि थपिएको उद्धारको काम जारी छ । राहत पुर्याउन कठीन भएको छ । उच्च लेकाली भागमा रासन लैजान बाटो सुचारु भएको छैन । हेलिकाप्टरले मौसम प्रतिकुल बनेको छैन भनेर राहत लैजान मानेको छैन । कुइनेटो परेका जिल्लामा सरकारी टोलीसमेत पुग्न सकेको छैन । तर, सुगमका केही ठाउँमा भने राम्रैगरी राहत पुगेको छ । राहतमा असमान वितरण छ । त्रिपालसमेत पुग्न नसक्दा अस्थायी बसोबास पनि समस्या भएको छ । भग्नावशेष पन्छाउन टेन्टको आवश्यकता छ, त्यो पनि पुग्न सकिएको छैन । उद्धार पूरा हुँदैछ, राहत पुग्न त पुगेको छ तर पर्याप्त छैन । धेरै काम व्यवस्थित गर्नुपर्ने छ ।
सिन्धुपाल्चोकका भूकम्प पीडितलाई पुर्नस्थापना त्यहिँ गर्नुहुन्छ कि अन्यत्रै सार्नुहुन्छ ?
बस्ती सार्न युद्धस्तरमा काम गर्नुपर्ने देखिएको छ । भग्नावशेष पन्छाएर एक वर्षलाई अन्तत्रै आवासको व्यवस्था गर्नुपर्ने भएको छ । २९ गतेपछि झन् ध्वस्त भएकाले स्थानीय पीडितहरु त्यहाँ बस्न सक्ने अवस्था छैन । २० वटा गाविसका बासिन्दालाई वषर्ा सुरु नहुँदै अन्ततिर सार्नैपर्छ । अब ठूलो जोखिम पहिरो हो । कतिपय आफैँ पनि काठमाडौंको मुलपानीलगायतका ठाउँमा सरिसक्नुभएको छ भने बाँकीलाई तत्कालै सार्नुपर्छ ।
पूरै बस्ती सार्न सम्भव छ ?
सम्भव हुनैपर्छ । सम्भव नभए त्यहाँ बस्नै सकिँदैन । माङ्खालगायतका ठाउँमा मनसुन सुरु हुनेवित्तिकै पहिरोको जोखिम अवश्यम्भावी छ । हामीले सोच्दा नसोच्दै आफैँ सर्न सक्ने परिवार भक्तपुर, काठमाडौंलगायतका ठाउँमा सरिसकेका छन् । स्थिति निक्कै कहालीलाग्दो देखिएको छ । पहिरो बगेको छ । धाँजा फाटेको छ । टेक्ने जमिन नै बगेर सकिन्छ भन्ने त्रास छ । बस्ती सार्न असम्भव भन्ने सोचेर बस्ने अवस्था नै छैन ।
उद्धार र राहत प्रभावकारी नभएको गुनासो पीडितहरुले गर्नुभएको छ ? तपाईं महाभूकम्पपछि खटिनुभएको छ । स्थिति पीडितले भनेजस्तो नै हो ?
उद्धार र राहतमा सरकारी प्रयासहरु चित्तबुझ्दो हुन सकेन । साधन स्रोत सीमित भए पनि सरकारी संयन्त्रबीच समन्वय र समझदारी हुन सकेन । अहिले पनि कतिपय बिकट क्षेत्रका बासिन्दाले राहत पाउन सक्नुभएको छैन । समयमा उद्धार नहुँदा कतिपयको ज्यान गएको छ ।
राजनीतिक दलबीच नै पीडितलाई राहत दिने विषयमा भागबण्डा भएको खबर साँचो हो ?
सुरुसुरुका दिनमा राजनीतिक दलका नेताले आफ्ना कार्यकर्ता च्याप्ने प्रवृत्ति देखियो । तर पीडित जनता भने एकै ठाउँमा देखिए । उनीहरुले रुखोसुखो बाँडेर नै खाए । सँगै बसौँ, सबै बाँचौ भन्ने भावना जनतामा देखियो । एकै भावना भएका जनताका मिलनका अगाडि राजनीतिक दलको भागबण्डा लामो समय टिक्न सकेन । अन्ततः भागबण्डाको मनस्थिति नै न्यूनिकरण भयो ।
सरकारी संयन्त्रको निष्पक्षतालाई लिएर तपाईंले पनि पटक-पटक गम्भीर विषय उठाउनुभएको छ ? कुन त्यस्ता सरकारी संयन्त्र थिए, जसले निष्पक्षता काम नराखी आफ्नो साख गिराए ?
सरकारी संयन्त्रमध्ये सुरक्षाकर्मीको पहल र प्रयास अत्यन्तै प्रभावकारी देखियो । तर, रेडक्रसजस्तो अन्र्तराष्ट्रिय संस्थाले निष्पक्षतामा देखाउन सकेन । रेडक्रसका पदाधिकारी निष्पक्ष देखिएनन् । उनीहरुका परिवारलेमात्रै राम्रा-राम्रा पाल पाउने अवस्था भयो । राहत वितरण पनि भद्रगोलजस्तो भयो । जसको पहुँच छ उसले गर्नेजस्तो देखियो । कोल्टो परेको छेउछाउका जनताले अहिले पनि अल्पकालीन राहत र अस्थायी बसोबासको सुविधा पाएका छैनन् । उद्धार र राहतले लय लिन थालेको थियो २९ गतेको धक्काले बनाएका योजना र व्यवस्था पनि भताभुङ्ग भएको छ । मन्त्री र सविचहरु बीच नै कार्यक्षेत्रको हानाथाप हुँदा त्यसको असर जिल्लासम्म पनि पुग्यो । अर्कमण्यताको स्थिति रहृयो । सानो सानो कुरामा पनि मतान्तर रहने अवस्था सिर्जना भयो ।
सरकारी राहत प्रयासलाई कसरी लिनुभएको छ ?
सरकारले पीडितलाई राहत दिन जुन रफ्तारमा काम गर्नुपर्ने हो हुन सकेन । सम्भव भएको कुरामा पनि विदेशी सहयोगको मुख हेर्ने सरकारी प्रवृत्ति राम्रो भएन । अहिले पनि कतिपय भूकम्प पीडितले राहत पाउन सकेका छैनन् । पहिले जे भए पनि नयाँ बाली आउन ६ महिनासम्म पीडितहरुले कुर्नैपर्छ । त्यतिन्जेल सरकारले राहतको व्यवस्था गर्नुपर्छ । सरकारले पनि तत्कालै अन्नको स्टोर तयार गर्नुपर्छ । खोलामा बाढी र पहिरो आउन सुरु गरेपछि फेरि अर्को विपत्ति आइलाग्ने निश्चित छ । त्यसअगाडि नै अन्नको भण्डारण र वितरणमा आवश्यक तयारी गरिहाल्नुपर्छ ।
सिन्धुपाल्चोकले पटक पटक प्राकृत्तिक विपत्तिको सामना गरिरहनुपरेको छ । जुरेको गएको पहिरोले धेरै धनजनको क्षति गरेको थियो । अहिले महाभूकम्पको सामना गर्नुपर्यो । जिल्लाको दीर्घकालीन विकास योजनाहरु कसरी अगाडि बढाउनुपर्छ ?
भूकम्पपछि प्रधानमन्त्रीसहित विपक्षी दलका नेता र मधेसी पार्टीका शीर्ष नेता प्राकृतिक विपत्तिको केन्द्रविन्दु सिन्धुपाल्चोक जानुभएको थियो । त्यहाँ मैले स्पष्टरुपमा विकासको खाका प्रस्तुत गरेको थिएँ । महाभूकम्पको केन्द्र गोरखाको भए पनि त्यहाँ खास खास क्षेत्रमा मात्रै प्रभाव रहृयो । तर सिन्धुपाल्चोकमा ६८ गाविस र २ नगरपालिका नै ध्वस्त भयो । ९८ प्रतिशत घर बस्न सकिने अवस्थाका छैनन् । खोलानाला सुकेका छन् । अस्वभाविक परिदृष्य देखिएका छन् । भूबनोट पनि कमजोर छ । म प्राविधिक त होइन तर विज्ञहरुका अनुसार उच्च पहाडी र लेकाली भू-बनोट कमजोर छ । अब जिल्लाको वस्तुस्थितिबारे गहन अध्ययन गर्न दक्ष खालको टिम पठाउनुपर्छ । बारबारको प्रकोपले जिल्लालाई सताएको छ । जुरेले पनि यसअघि नै संकेत गरेको थियो । पछिल्लो भूकम्पले अब कुन स्तरको पहिरोको खतरा हुन्छ कल्पना गर्न सकेको छैन । हामी बेखबरजस्तै भएका छौँ । सरकारी तयारी भएको छैन । अवधारणा अनुसार ठोसरुपमा अध्ययन गरेर काम गर्न ढिला भएको छ । अब २४-२५ दिनमा मनसुन सुरु हुँदैछ । त्रासदीको खतरा छ । कुन स्केलमा महाविपत्तीको सामना गर्नेछ भन्ने छैन । तसर्थ व्यक्तिगतभन्दा पनि सरकारी पहलमा तत्कालै आवश्यक योजनाहरु परिचालित गर्नुपर्ने आवश्यकता छ ।