नेपाली फिल्म क्षेत्रमा नायिकाको नाम लिँदा अग्रस्थानमा आउने नाम हो, रेखा थापा । फिल्म ‘हिरो’बाट नायिकाका रूपमा डेब्यु गरेकी उनले पछिल्लो फिल्म ‘तथास्तु’सम्म आइपुग्दा उनले दर्जनौँ फिल्ममा अभिनय गरिसकेकी छन् । कति फिल्ममा काम गरिन् भन्ने उनलाई सम्झना पनि छैन । ग्ल्यामरदेखि एक्सनपूर्ण भूमिकामा उनको अभिनय निकै जम्ने गर्छ । त्यसैकारणले उनी अभिनित अधिकांश फिल्मले सफलताको स्वाद चाख्ने गरेका छन् । फिल्म ‘हिरो’मा अभिनय गरेको केही समयपछि त्यही फिल्मका निर्माता छविराज ओझासँग विवाह गरेकी रेखाले उनीसँगको करिब १२ वर्षको वैवाहिक जीवन केही वर्षअघि टुंग्याइन् । विशेषत प्रेम र सेक्ससम्बन्धी कुराकानी भइरहँदा छविराजको नाम आएपछि उनले आफुले छविराजसँग जोडिएको कुनै पनि कुरा नगर्ने अडान लिइन् । ‘चार-पाँच वर्षदेखि मलाई यही विषयमा प्रश्न आइरहन्छ, अन्य मानिसको पनि त तपाईं कुरा गर्न सक्नुहुन्छ नि, किन खालि एउटै मात्र नाम लिइरहनु हुन्छ ?’ उनको भनाइ थियो । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सारसंक्षेप :–
प्रेम के हो ?
प्रेमको परिभाषा आफैमा गहन छ । जसले प्रेम गर्छ उसले नै प्रेमको भाषा जानेको हुँदैन । वास्तवमा प्रेम सस्तो देखिने तत्व होइन, यो महसुस गर्ने कुरा हो । गुलियो खाँदा त्यसबाट प्राप्त हुने अथवा महसुस हुने गुलियोपना हुन्छ नि, प्रेम पनि त्यस्तै हो ।
प्रेम किन आवश्यक छ ?
मानव शरीरमा श्वासप्रश्वासको जति महत्व छ, प्रेमको महत्व पनि त्यति नै छ । यो एउटा चुम्बकीय शक्ति हो । प्रेमकै कारण पृथ्वी अडिएको छ । प्रेमविना मान्छे बाँच्न सक्दैन ।
तपाईंको पहिलो प्रेम कुन उमेरमा भयो ?
मेरो पहिलो प्रेम म जन्मिएदेखि नै भयो । त्यो बेला मैले आमाको स्तनपान लिँदा खेरी नै आमासँग प्रेम गरेको थिएँ, त्यसपछि बाबासँग अनि परिवारसँग पनि प्रेम भयो ।
अनि आकर्षक पुरुषसँग नि ?
एकजना व्यक्तिसँग निकै सिरियस किसिमको प्रेम भयो । तर, पछि बुझ्दै जाँदा माया भनेको प्राप्तिका लागि होइन रहेछ । प्रेम गरेपछि त्यो मानिस मेरै हुनुपर्छ भन्ने कुरा भ्रम रहेछ । यो त केबल बगिरहने खोला जस्तै हुँदोरहेछ ।
दिगो प्रेम राख्न महिला र पुरुषमध्ये को अग्रपंक्तिमा हुँदो रहेछ ?
मलाई लाग्छ, साँचो प्रेमको कुनै पनि सीमाना हुँदैन । तर, दिगो प्रेममा चाहिँ महिलाहरू नै अगाडि हुन्छन् । किनकि, उनीहरु संयम हुन्छन्, शान्त हुन्छन् । महिलालाई प्रेमका हरेक चिज प्रिय लाग्छ । त्यसकारण पनि प्रेमको मामलामा उनीहरू गम्भीर हुन्छन् ।
त्यसो भए पुरुष फ्रड हुन्छन् त ?
अहिलेको माहौल हेर्दा महिला पुरुष दुवै बराबर हुन् कि जस्तो लाग्छ । उनीहरू दुवै आपूmलाई कमी हुन दिँदैनन् । तर, हेल्दी किसिमको प्रेम गरेको चाहिँ मैले कमै पाएको छु ।
प्रेम र सेक्सको सम्बन्ध कस्तो हो ?
प्रेम यस्तो शब्द हो, जसले मानिसलाई आफैमा आनन्द दिन्छ । राम्रो र चोखो प्रेम गर्ने जोडीको दिमागमा सेक्स शब्द आउँछ जस्तो लाग्दैन ।
प्रेमका लागि सेक्स अनिवार्य हो कि सेक्सका लागि प्रेम ?
अहिलेको आधुनिक समयलाई हेर्दा अहिले प्रेममा स्वार्थीपना पाउँछु । प्रेमका लागि सेक्स र सेक्सका लागि प्रेम दुवै देख्छु । तर, साँचो प्रेम एउटा निचोडको हद पार गरेसम्म सामान्य हुनुपर्छ ।
तपाईंको जीवनमा प्रेम र सेक्सको महत्व कस्तो रह्यो ?
जीवनमा म यी दुई कुराबाट टाढा नै रहेँ । अहिलेको कुरा गर्दा पनि म कसैको प्रेममा परेँ भन्दा कसैले पत्याउँदैनन् र पत्याउने वातावरण पनि छैन । सबैजना हावादारी कुरा भन्दै उडाउँछन् । (हाँसो)
तपाईंको सानै उमेरमा विवाह भयो । त्यो प्रेमको आकर्षण थियो या सम्बन्धको थियो ?
वास्तवमा त्यो केही थिएन । त्यो बेला मेरो ‘किस्मत’ या ‘लक’ नै त्यस्तो थियो होला । परिवारमाझ रहेर म हुर्के बढे पनि फिल्मी करियरमा मलाई गार्जेनको आवश्यकता थियो । किनकि, त्यो बेला फिल्म क्षेत्रमा आउँदा म एक्ली थिएँ । मलाई अभिभावकको खाँचो थियो ।
अहिले सम्झँदा त्यो निर्णय सही लाग्छ ?
मैले गरेको हरेक निर्णय मलाई सही लाग्छ । किनकि, हरेक मान्छे आफ्नो कर्म लिएर आएको हुन्छ, मेरो पनि त्यही हो । मलाई कहिल्यै पनि आफ्नो काममा पश्चात्ताप लागेन किनकी जुन मान्छेको कर्ममा राम्रो नराम्रो लेखिएको हुन्छ, उसको भोगाइ पनि त्यस्तै हुन्छ ।
तपाईंलाई महिला र पुरुषको कुन कुराले आकर्षण गर्छ ?
मलाई दुवै वर्गको फिट एन्ड फाइन किसिमको बडी, पुष्ट शरीर राम्रो लाग्छ । जसले लगाएको पहिरन सुहाउँदिलो होस् ।
दर्शकहरू आर्यन सिग्देल र रेखा थापाको जोडी फेरि एकपटक पर्दामा हेर्न चाहन्छन् नि ?
आर्यन भनेको रेखाबाटै जन्मिएको सन्तान हो् अर्थात मेरै व्यानरबाट जन्मिएको सन्तान । मैले अरू पनि नयाँ सन्तान जन्माउनु पर्ने हुन्छ । फेरि म जुन पायो त्यही कथामा फिल्म पनि खेल्दिनँ । मानवीय जनजीवनका विषय, सामाजिक विषयवस्तु र अझ बढी सन्देशमूलक किसिमका फिल्म खेल्न रुचाउँछु । दर्शकको त्यो चाहना हुनु स्वाभाविक हो । वास्तविक रूपमा भन्नुपर्दा न मैले उसको केही बिगारेको छु, न उसले मेरो केही नै बिगारेको छ ।
नारीप्रधान फिल्ममा बढी देखिनुहुन्छ, प्रेमकथाका फिल्ममा काम नगर्ने हो ?
कुरा त्यस्तो होइन । मैले खेलेका प्रायः फिल्ममा प्रेमका कथा नै हुन्छन् । तर, तपाईंले भन्नुभएको जस्तो पूर्ण प्रेमकथाको फिल्मचाहिँ अब कात्तिकतिर नयाँ कलाकार लिएर म आफैमा डिरेक्सन गर्दैछु । त्यसपछि आफ्नै ब्यानरमा अर्को प्रेम कथाकै फिल्म बन्नेछ, जसमा म आफैले अभिनय गर्नेछु ।
पुनः विवाह गर्ने योजना पनि होला नि ?
मान्छेमा हरेक बस्तुको उपभोग गर्ने चाहना हुन्छ । मलाई पनि विवाहको विषयमा घर परिवारबाट निरन्तर रूपमा दबाब आइरहेको छ । ‘तिमी विवाह गर्न चाहन्छौ भने हामी केटा खोजिदिन्छौँ’ भनिरहनु भएको छ । तर, म अहिले काममा व्यस्त भएकाले त्यतातिर सोचेकी छैन ।
आफ्नै क्षेत्रको व्यक्तिसँग विवाह गर्ने हो ?
म मेरो क्षेत्रलाई आफ्नो माइती ठान्छु । त्यसकारण माइतीको मान्छेसँग विवाह पनि गर्नुहुँदैन क्यार (हाँसो) । म अरू जस्तो केटा खोज्दै कतै जान्नँ, मलाई खोज्न केटा आफैमा आउनुपर्छ ।
भनेपछि कहिलेसम्म विवाह होला त ?
भर्खरै ०७२ साल सुरु भएको छ । मेरो चाहना ०७४ सालसम्म विवाह गर्ने योजना हो । यदि, त्यो बेलासम्म पनि विवाह भएन भने म देशसँग विवाह गर्छु । किनकि, मेरो विवाह गर्ने उमेर अझै पनि बितेको छैन । (पुनः हाँसो)
अनि छोराछोरीको चाहना नि ?
मान्छेसँग विवाह गरेँ भने एउटा छोरा र छोरी जन्माउँछु । तर, देशसँग विवाह गरेँ भने सबै जनता आफ्ना छोराछोरी हुनेछन् ।
तपाईंको नयाँ प्रोजेक्ट ‘रामप्यारी’को बारेमा केही बताइदिनुहुन्छ कि ?
‘रामप्यारी’ ट्याम्पो ड्राइभरको कथा हो । मेरो फिल्मले राष्ट्रियताको कुरा गर्नेछ । स्वदेशमा काम गर्न लजाउँने अनि विदेशमा गएर चाहिँ जस्तो पनि काम गर्नेहरू प्रति स्वदेशमै काम गर्ने वातावरण छ भन्ने किसिमको सन्देश दिनेछ । यहाँ ट्याम्पो चलाएर महिनाको १५ देखि २० हजार पनि कमाउन सक्ने महिलाहरू छन् । स्वदेशमै काम गर्न सके कमाइ पनि राम्रो हुन्छ भन्ने सन्देश दिनेछु । फिल्म पूर्ण रूपमा महिलावादी हुनेछ ।
(नायिका रेखा थापासँग रंग पत्रकार नेमिष गौतमले गरेको यो कुराकानी शनिबारको सौर्य दैनिकबाट लिएका हौँ ।)