Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

Mrigendraसिरहाको लहानमा भएको नेपाल औषधि व्यवसायी संघको १२ औं राष्ट्रिय महाधिवेशनबाट मृगेन्द्रमेहर श्रेष्ठ हालै केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको छ । संघको बागमती अञ्चल शाखा र केन्द्रमा दुई दशकदेखि कृयाशील रहनुभएका श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईं अध्यक्षमा निर्वाचित भएपछि आम उपभोक्ता र व्यवसायीको अपेक्षा कसरी पूरा गर्नुहुन्छ ?
नेपाल औषधि व्यवसायी संघले मुलुकका कुनाकाप्चासम्म औषधिको उपलब्धता र मुल्य एकरुपतामा काम गर्छ । आम उपभोक्तालाई सर्वसुलभ ढंगले औषधि उपलब्ध गराउने र व्यवसायिक हक हितको पक्षमा नयाँ नेतृत्वले काम गर्ने प्रतिबद्धता जनाउँदछु ।

औषधिको मुल्य एकरुपतामा तपाईंको भूमिका के हुन्छ ? किनभने औषधिको मूल्य फरक पर्ने गरेको गुनासो उपभोक्ताले धेरै समयदेखि राख्दै आएका छन् ।
काठमाडौंमा किने पनि विराटनगरमा किने पनि औषधिको मूल्य एउटै हुन्छ । काठमाडौंमा पाँच रुपैयाँमा पाइने औषधि, विराटनगरमा पनि पाँच रुपैयाँमा नै बिक्री गर्ने औषधि व्यवसायी संघको नीति हो ।

‘संस्थागत आपूर्ति’को मारमा धेरै उपभोक्ता परेका छन् । त्यससम्बन्धमा संघले अब कस्तो नीति लिन्छ ?
केही समस्या संस्थागत आपूर्तिमा देखिएका छन् । त्यसलाई सच्याउन हामीले औषधि उत्पादक संघलाई पत्राचार गरिसकेका छौं ।

औषधि व्यवसायीका समस्याहरु के-के छन् ? समाधानका लागि अब यहाँको भूमिका कस्तो हुन्छ ?
औषधि व्यवसायमा दर्ता भएकाभन्दा दर्ता नभएका औषधि पसलहरुले विकृति सिर्जना गरेका छन् । उनीहरुलाई कानुनी दायराभित्र ल्याउन हामीले भनिसकेका छौं । औषधि व्यवसायमा अहिले जनशक्ति अभाव रहेको छ । बिहान उठेदेखि राति अबेरसम्म एक जनाले पसल हेर्नुपर्ने अवस्था छ । मैले यो समस्या हल गर्न व्यवसायी सहायकको नीति अघि सारेको छु । व्यवसायी सहायक नहुँदा खाना खान समेत फुर्सद नपाउने अवस्था छ । करमा जानुपर्छ, अन्य सरकारी काममा जान पनि पाइरहेका छैनौं । त्यसमाथि कुनै बेला औषधि दर्ता गरेकै समयमा निरीक्षण भएका खण्डमा उल्टै सजायको भागिदार हुनुपरेको छ । यस विषयलाई गम्भीरताका साथ उठाएर समस्या निराकरणमा हाम्रो प्रयत्न हुँदैछ ।

औषधि व्यवसायलाई अझै मर्यादित बनाउन अब संघको नीति के हुन्छ ?
सरकारले समेत गर्न नसकेको देशभर औषधि उपलब्ध गराउन व्यवसायी सक्षम भएका छन् । सुगमा मात्रै नभएर डोल्पा, मुगु, हुम्लाजस्ता विकट जिल्लाहरु पनि औषधि पुर्‍याएका छौँ । सरकारले तोकेको भन्दा कुनै पनि अतिरिक्त शुल्क व्यवसायीले लिन पाउँदैनन् । कसैले सरकारले तोकेकोभन्दा बढी असुलेको अवस्थामा कारबाही गर्न हामी तयार छौं ।

रिफ्रेसर कोर्स सञ्चालनको तयारी कहाँसम्म पुगेको छ ?
ब्रिजकोर्सका लागि औषधि व्यवसायी संघले रिफ्रेसर कोर्स सञ्चालन गर्नुपर्छ भनेर माग गरिरहेका छौँ । लामो समयदेखि रिफ्रेसर कोर्स सञ्चालन भएको छैन । तर, बजारमा भने नयाँ नयाँ खालका औषधिहरु आइरहेका छन् । कसरी काउन्सिलिङ गर्ने भनेर यो कोर्स सञ्चालन गर्न भनेका छौँ ।

तपाईंको तीन वर्षे कार्यकाललाई उपलब्धीमुलक बनाउने योजनाहरु के के छन् ?
तीन वर्षे कार्यकाल उपभोक्तामैत्री र व्यवसायिक हक हितका लागि केन्द्रित हुनेछ । बिना दर्ताका औषधि पसललाई नियन्त्रण गर्नुपर्ने चुनौति रहेको छ । बिना दर्ताका औषधि पसललाई समाजबाट बहिस्कृत गर्ने अभियान नै चलाएका छौँ । त्यसका लागि साइनबोर्डमा रुकरुपता ल्याउने काम भएको छ । लागु औषधका सम्बन्धमा कानुनीरुपमा अस्पष्टता हटाउनुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया