बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौँ- संविधानसभाको आइतबारको बैठकमा पनि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिद्वारा प्रस्तुत छैठाँै प्रतिवेदनमाथि सभासद्हरूले बोल्ने क्रम नसकिएपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

छपन्न सभासद्ले भाग लिएको सो बैठकमा अधिकांश एकीकृत नेकपा (माओवादी)लगायत सरकारको प्रतिपक्षमा रहेका सभासद्ले सहमतिमै संविधान जारी गर्नुपर्ने माग गर्दै प्रक्रियामा गए त्यसको प्रतिकार गर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकको अन्त्यमा एमाओवादीका जनार्दन शर्माले पहिचानसहितको सङ्घीयता आवश्यक भएको तर त्यो एकल पहिचान होइन बहुपक्षीय पहिचान हुनुपर्छ भन्नुभयो ।

उहाँले सबैले संविधान पाएको महशुस हुनेगरी सन्तुलित ढङ्गले अधिकारको बाँडफाँड हुनुपर्ने धारणा राख्नु भयो । सोही दलका शक्ति बस्नेतले सहमतिको इमान्दार प्रयास नगरिएको आरोप लगाउँदै मिलनबिन्दु खोज्न आग्रह गर्दापनि सत्ता पक्षका दलले नौबुँदे प्रस्तावलाई अघि बढाएर सहमतिको प्रयासलाई जटिल बनाएका छन् भन्नुभयो । उहाँले जनतालाई अधिकार दिँदैमा मुलुक विखण्डन नहुने तर्क प्रस्तुत गर्नुभएको थियो ।

यसअघि बैठक चलिरहँदा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभामा बोल्दा अध्यक्ष वा सभामुखको बारेमा कुनै टिप्पणी नगर्न रुलिङ गर्नुभयो

सभासद्ले एकतर्फी बोल्ने क्रममा सभाध्यक्षले संविधान निर्माणको प्रक्रिया सुरु गर्न नपाउने भन्दै विभिन्न आशयका टिप्पणी गरेपछि उहाँले यस्तो रुलिङ गर्नुभएको थियो ।

एमाओवादी कै धनीराम पौडेलले सहमतिको साटो सभाध्यक्षले प्रक्रिया सुरु गरेमा सभाध्यक्ष नेम्वाङप्रति फरक दृष्टिकोण राख्न बाध्य हुने भनेपछि अध्यक्ष नेम्वाङले उहाँको सो भनाइलाई रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो । संविधानसभाको अर्को बैठक भोलि माघ ४ गते दिउँसो १ बजे बस्ने छ । रासस

तपाईको प्रतिक्रिया