बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौँ- संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच संविधानसभा भवन बानेश्वरमा आज आयोजना गरिएको बैठक बिनानिष्कर्ष सकिएको छ ।

सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा रहेका मतभिन्नताहरुमा सहमति जुटाउन दुईपक्षीय बैठक बसेपछि पुनः अपराह्न २ बजेपछि चार दलका बहुपक्षीय बैठक आयोजना गरिने भएको छ ।

बैठकपछि पत्रकारलाई नौ बुँदे प्रस्तावलाई परिमार्जन गर्न आफूहरू तयार रहेको जानकारी दिँदै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय हितका विषयलाई सर्वोपरि राखेर अन्य विषयमा लचिलो भएर सहमतिको प्रयास गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय संरचनाका विषयमा सहमतिभन्दा निकै टाढा छौं तर अन्य विषयमा सहमति नजिक पुगेका छौं ।”

एमालेका नेता भीम रावलले बैठकमा सहमतिका लागि राम्राराम्रा कुरा प्रस्तुत भएका र त्यसलाई ठोस रुप दिने प्रयास भइरहेको उल्लेख गर्दै अपराह्न हुने बैठकमा अहिलेसम्म प्रस्तुत भएका विषयले कस्तो आकार लिन्छ त्यसका आधारमा निर्णय गरिने बताउनुभयो ।

उहाँले सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा प्रक्रिया के हुने भन्नेबारेमा निष्कर्ष निकालिने पनि उल्लेख गर्नुभयो ।

मधेसवादी दलका नेता उपेन्द्र महतोले विवादित विषयमा सहमति नभइसकेको तर वार्ता चलिरहेको बताउनुभयो । विवादित विषयमध्ये न्यायपालिकाको विषयमा मात्र सहमति नजिक पुगेको तर सङ्घीयता र समावेशीतामा भने बढी विवाद देखिएको उल्लेख गर्दै उहाँले अब विवादित विषयमा प्रश्नावली बनाएर छलफल गरिनु आवश्यक नभएकाले सहमति नै गरिनुपर्नेमा जोड दिनुभयो ।

संविधानसभा नियमावलीमा प्रश्नावलीको प्रावधान पनि नभएको उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया