बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – नागरिक समाजका अगुवाहरुले संविधानसभामा रहेका दलहरुलाई माघ ८ मा संविधान ल्याउने नाममा अर्को दिननै च्यातिने संविधान नल्याउन आग्रह गरेका छन् । अधिकतमलाई मान्य हुने संविधान ल्याउन आग्रह गर्दै ध्रुविकृत हुँदै गएका दलहरुलाई सहमतिमा नै नयाँ संविधान ल्याउन सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर सभामुख समेत भइसकेका नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले दलहरुले सहमति वा प्रक्रिया भन्दै झगडा गर्न जनताले मतदान नगरेको भन्दै त्यसको निर्धारण दलहरुले आपसी समझदारीमा नै गर्नुपर्ने धारणा राखे । यद्यपि उनले अहिले विगतका सम्झौताहरुलाई वेवास्ता गर्दै बहुमतबाट मात्रै संविधान जारी गर्न दलहरु उद्धत भएकोमा भने आपत्ति जनाए ।
संविधान भनेको विधायिका होइन । त्यसैले संविधानसभा कुनै युगान्तकारी मोडमा मात्र हुन्छ, देशमा ठूलो उथुलपुथुल भएपछि मात्र संविधानसभा बन्छ । यसले संविधान निर्माण गर्ने छुट्टै प्रक्रिया हुन्छ’, ढुंगानाले भने । उनले जुन कारणले संविधानसभा बन्यो त्यसको पूर्ती यस संविधानसभाले गर्नुपर्ने बताउँदै जनयुद्ध, १२ बुँदे सम्झौता, जनआन्दोलन, मधेश आन्दोलन लगायत विभिन्न आन्दोलनमा गरिएका सम्झौताको मागले यस संविधानसभाले पूर्ती गर्नुपर्ने बताए । ‘त्यो कुरा पूरा गर्दै राज्यको पुर्नसंरचना गर्नुहुन्छ भन्ने हाम्रो आशा छ,’ उनले भने ।

‘अहिले १२ बुँदे सम्झौताका सहयात्री नेकपा–माओवादीलगायत ठूलो शक्ति संविधानसभाबाट बाहिर छ । एमाओवादी दुई ठाउँबाट संघर्षरत छ । यस्तो स्थिति हुनुहुँदैन थियो । यस्तो अवस्थामा जनयुद्ध, मधेश आन्दोलन, जनजाती, दलित, महिला, विपन्न वर्ग आदिका मुद्दा सम्बोधन नगर्ने हो भने के होला ?’ ढुंगानाले संविधान कुनै दल विशेषको एजेण्डा नभएर र राष्ट्रको एजेण्डा रहेको स्पष्ट पारेका थिए ।
खेलमा प्रतिस्पर्धा भए पनि अन्त्यमा मेलमिलाप हुने भन्दै संविधानलाई पनि दलहरुको प्रतिस्पर्धाको बीच मेलमिलापको दस्तावेज बनाउन उनले आग्रह गरे । ‘सबैको चित्त बुझाउन सकिँदैन तर धेरैको चित्त बुझ्ने संविधान ल्यानुहुन्छ भन्ने हामीले आशा गरेका छौं,’ उनले भने ।

उनले माघ ८ मा संविधान ल्याउन नसकेपनि केही न केही प्रतिबद्धताको दस्तावेज ल्याउन आग्रह गरे । ‘तपाईंहरुलाई खुलामञ्चमा हात मिलाएको देखेका छौं । अब जनतासँग माफी माग्नुहोस् । हामी यस कारणले माघ ८ मा संविधान ल्याउन सकेनौं भन्नुहोस् । जेठसम्म समय माग्नुहोस्, प्रतिबद्धता पूरा गर्नुहोस् । नेपाली नागरिकको मन ठूलो छ, माफ गर्छौं ।’
कार्यक्रममा नागरिक अगुवाहरुको साथै एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, मधेशी जनाधिकार फोरम नेता उपेन्द्र यादव, नेपाली कांग्रेस नेता दीपकुमार उपाध्याय, एमाले नेता प्रदीप ज्ञवाली लगायतको सहभागिता थियो ।***

तपाईको प्रतिक्रिया