बौध्दिक आतंक मच्चाउनेहरु नै हुन धर्मका नाममा राजनीति गर्नेहरु
टोकियो – दोस्रो जनआन्दोलनपछि आम सर्वसाधारणको धारणा थियो, तत्कालिन शाहीकालिन गृहमन्त्री कमल थापाको राजनीतिक भविष्य सकियो । तर, कमल थापाले राजनीतिलाई पूर्ण विराम लगाएनन् । गणतन्त्रपछि दोस्रोपटक भएको संविधान सभामा उनको दल राप्रपा नेपालले समानुपातिक तर्फ २४ सिटसहित चौथो स्थान कायम गरयो । अझ काठमाडौंसहितका सहरी निर्वाचन क्षेत्रमा समानुपातिक मतमा प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीलाई उछिन्यो । संवैधानिक राजतन्त्र र हिन्दू राज्यको पक्षमा एकल अभियान चलाएर राजनीतिक छवि जोगाएका राप्रपा नेपालका अध्यक्ष थापासँग गरिएको कुराकानीको सम्पादित अंशः
राजतन्त्रप्रति राप्रपा नेपालको निष्ठाको प्रश्न छ, त्यसमा कति पनि फरक आएको छैन ?
धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा अन्तिम निर्णय गर्नुभन्दा अगाडि नेपाली जनताको अभिमत बुझ्नका निमित्त राष्ट्रिय जनमतसंग्रह गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो पार्टीको मान्यता छ । हिन्दूराष्ट्र पुनर्स्थापना गर्ने एजेन्डामा पार्टीको स्वार्थभन्दा माथि उठेर एकजुट होऔं भन्ने आहृवान गर्दछौँ । सम्भव भए, सहकार्य र एकता गरेर पनि सबैलाई आहृवान गर्दछौँ । धर्मको नाममा राप्रपा नेपालले राजनीति गरेको छैन, बरु ती व्यक्तिले धर्मको नाममा राजनीति गरिरहेका छन्, ९४ प्रतिशत जनताको आस्था र आवाजलाई निषेध गर्ने र धर्मनिरपेक्षताको आडमा धर्म परिवर्तन गराउने, परम्परागत धार्मिक साँस्कृतिक मूल्य मान्यतालाई कमजोर बनाउने काम गरिरहेका छन्, उनीहरुले धर्मको नाममा राजनीति गरिरहेका छन् । नेपालमा धर्म परिवर्तनमा केही पश्चिमा मुलुकहरु लागेका छन् । केही पश्चिमा मुलुकहरु, जो आफैं धर्म सापेक्ष छन्, उनीहरुले यहाँका कतिपय एनजीओ, आईएनजीओ, सामाजिक संघ संस्था, अधिकारवादी संघ संस्थाहरुलाई प्रयोग गरेर एकप्रकारको बौध्दिक आतंक खडा गरेका छन् । म गौरवसाथ भन्दछु कि राप्रपा नेपालमात्रै त्यस्तो पार्टी थियो जसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भनेको थियो, संविधानका अन्तरवस्तुमा तटस्थ रहनुस् । संविधान निर्माण नहुँदासम्म तपाईंले हाम्रो चाहनाको विषयमा पनि नभन्दा हुन्छ ।
दोस्रोपटक गरिएको रथयात्रा सकिएको छ । जनतामा तपाईंले पार्टीले लिएका एजेन्डाप्रति धारणा कस्तो पाउनुभयो ?
संविधानसभा निर्वाचन अगाडि राप्रपा नेपालले मेची-काली रथयात्रा गरेको थियो र संविधानसभा निर्वाचन भएको एक वर्ष पछि आफ़्नै नेतृत्वमा मेची-काली रथयात्रामा गएँ । राप्रपा नेपालले लिएको एजेन्डामा जनता झन् प्रष्ट भएको पाएको छु । भलै, सञ्चारमाध्यमले पर्याप्त स्थान दिएनन्, हामीसँग त्यसको रेकर्ड छ जनताको उपस्थिति कुनै चानचुने थिएन । एउटा कुरा अवश्यम्भावी छ कि, हाम्रो एजेन्डा कुनै न कुनै दिन स्थापित हुनेछ ।
रथयात्रा संविधान निर्माणलाई प्रभावित पार्न गरिएको भन्ने पनि आरोप लाग्यो नि ?
रथयात्राको कार्यक्रम ६ महिना अगाडि नै तयार पारेका थियौं । संविधानको मस्यौदा निर्माणलाई ध्यानमा राखेर नै कार्यक्रम निर्धारण गरेका थियौँ । दुर्भाग्यवश केही सीमित नेताहरुको अकर्मण्यता, स्वार्थ र सत्तालिप्साको कारणले माघ ८ गतेभित्र संविधान निर्माण हुनेमा गम्भीर आशंका पैदा भएको छ । तथापि संविधानसभाबाट संविधान निर्माण गर्ने कुरामा राप्रपा नेपालले सकारात्मक, रचनात्मकरुपमा भूमिका खेल्नेछ ।
राप्रपा नेपालका मुलतः दुइटा एजेन्डामध्ये तपाईंहरुले पछिल्लो समय संवैधानिक राजतन्त्रको कुरालाई बढी प्राथमिकता दिनुभएको छैन ? एजेन्डा छाड्नुभएको हो ?
जहाँसम्म राजतन्त्रप्रति राप्रपा नेपालको निष्ठाको प्रश्न छ, त्यसमा कति पनि फरक आएको छैन । हामी अहिले पनि नेपालको निमित्त संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र उचित हो भन्ने मान्यता राख्दछौं । हाम्रो मान्यता विगत ८ वर्षको घटनाक्रम, अभ्यास र प्रयोगले पनि बारम्बार पुष्टि गरिरहेको छ । त्यसकारणले गर्दा हामी हाम्रो सिध्दान्तबाट विचलित भएका छैनौं ।
सनातन हिन्दूराष्ट्र तत्कालै संविधानमा लेखिने सम्भावना देखिँदैन । त्यसको न्यूनमत सर्त जनमतसंग्रह स्वीकार्य हुन सक्छ ?
सनातन हिन्दूराष्ट्र सकेसम्म सहमतिको आधारमा निर्णय गरियोस् भन्ने हाम्रो दृष्टिकोण छ । सहमति हुन सक्दैन भने धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा अन्तिम निर्णय गर्नुभन्दा अगाडि नेपाली जनताको अभिमत बुझ्नका निमित्त राष्ट्रिय जनमतसंग्रह गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो पार्टीको मान्यता छ । यो मान्यतलाई संविधान सभामा पनि सशक्तरुपमा आवाज उठाउनेछौं र यो प्रस्ताव संविधानसभामा औपचारिकरुपमा दर्ता गराइएको छ । यस विषयमा छलफल हुन्छ भन्ने विश्वास लिएका छौं ।
हिन्दूराष्ट्रको पक्षमा कांग्रेसका खुमबहादर खड्कासहितका नेताहरु पनि आउनुभएको छ । उहाँहरुसँगको सहकार्य र गठबन्धन हुने सम्भावना कत्तिको छ ?
विगतमा सनातन हिन्दूराष्ट्रको पक्षमा राप्रपा नेपाल एक्लो थियो । अहिले विभिन्न राजनीतिक दलका महत्वपूर्ण नेताहरु, विभिन्न धार्मिक संस्थाहरुले पनि नेपाल सनातन हिन्दूराष्ट्र हुनुपर्छ भन्ने आवाज उठाउनुभएको छ । यसलाई हामीले अत्यन्तै सकारात्मकरुपमा लिएका छौं, हामी स्वागत गर्दछौं । नैतिक समर्थन गर्दछौं । हिन्दूराष्ट्र पुनर्स्थापना गर्ने एजेन्डामा पार्टी स्वार्थभन्दा माथि उठेर एकजुट होऔं भन्ने आहृवान गर्दछौं । सम्भव भएसम्म , सहकार्य र एकता गर्न पनि सबैलाई आहृवान गर्दछौं ।
तपाईंहरुमाथि धर्मको नाममा राजनीतिक गरेको आरोप छ नि ?
९४ प्रतिशत जनताको आवाज उठाउनु धर्मको नाममा राजनीति हो कि होइन ?, म भन्छु होइन । धर्मको नाममा त ती व्यक्तिले राजनीति गरिरहेका छन् ९४ प्रतिशत जनताको आस्था र आवाजलाई निषेध गर्ने र धर्मनिरपेक्षताको आडमा धर्म परिवर्तन गराउने, परम्परागत धार्मिक साँस्कृतिक मूल्य मान्यतालाई कमजोर बनाउने काम गरिरहेका छन्, उनीहरुले धर्मको नाममा राजनीति गरिरहेका छन् । राप्रपा नेपालले सनातन हिन्दू धर्मको आधारमा शासन व्यवस्था हुनपर्छ भनेको होइन । म दोहोरयाएर, तेहेरयाएर भन्न चाहन्छु राप्रपा नेपालले धर्मको राजनीति गरेको होइन । फेरि एउटा धर्मलाई राज्यले संरक्षण र सुविधा दिनुपर्छ भनेको पनि छैन । सर्बधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रताको पक्षमा छौं । नेपालमा धर्म परिवर्तनमा केही पश्चिमा मुलुकहरु लागेका छन् । केही पश्चिमा मुलुकहरु, जो आफैं धर्म सापेक्ष छन्, उनीहरुले यहाँका कतिपय एनजीओ, आईएनजीओ, सामाजिक संघ संस्था, अधिकारवादी संघ संस्थाहरुलाई प्रयोग गरेर एकप्रकारको बौध्दिक आतंक खडा गरेका छन् । बौध्दिक आतंकको आधारमा प्रश्न गर्न थालिएको छ राज्यको पनि धर्म हुन्छ भनेर । ती मुलुकहरुले आफै भने संविधानमा राज्यको धर्म उल्लेख गरेका छन् । भोलि हिन्दूराष्ट्र होला, नहोला, धर्मनिरपेक्षता रहला नरहला, तर म स्पष्ट भन्न चाहन्छु कि हिन्दूराष्ट्र भयो भने चाँही सबै धर्मको सम्मान हुन्छ ।
संविधान निर्माण र धर्मनिरपेक्षताका सवालमा केही पश्चिमा मुलुकहरुको चासो रहेको बताइन्छ नि ?
पक्कै पनि । सबै पश्चिमा मुलुक होइन, केही पश्चिमा मुलुकहरुले बढ्ता चासो लिएका छन् । संविधान भनेको नेपाली जनताले आफ़्नो आवश्यकतालाई महसुस गरेर निर्णय गर्ने विषय हो । म संसारमा भएका शुभचिन्तक मुलुकहरुलाई आग्रह गर्न चाहन्छु, संविधानका अन्तरवस्तुहरुमा तपाईंहरु तटस्थ रहिदिनुस् । तपाईंहरुको चाहना, प्राथमिकता होला, यसलाई सार्वजनिकरुपमा अभिव्यक्त गरेर दबाब दिने ढंगको काम नहोस् भनेर आग्रह गर्दछौं ।
नेपालको संविधान निर्माणलाई छिमेकी भारतले पनि नजिकबाट हेरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसबीचमा दुई पटक नेपाल आउनुभयो । उहाँ आफै हिन्दू हुनुहुन्छ । तपाईसँग केही कुरा भएको छ हिन्दूराष्ट्रको विषयमा ?
पहिलोपटक आउँदा संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले सम्बोधन गर्नुभयो र एकप्रकारको विचार राख्नुभयो । पछि मोदीजीसँग राप्रपा नेपालको भेट भयो । म गौरवसाथ भन्दछु कि राप्रपा नेपालमात्रै त्यस्तो पार्टी थियो जसले उहाँलाई भनेको थियो, संविधानका अन्तरवस्तुमा तटस्थ रहनुस् । संविधान निर्माण नहुँदासम्म तपाईंले हाम्रो चाहनाको विषयमा पनि नभन्दा हुन्छ । प्रधानमन्त्री हुनुभन्दा अगाडि तपाईंसँग मैले नयाँ दिल्लीमा भेट गरेको थिएँ । व्यक्तिगतरुपमा भेट गर्दा तपाईको चाहनाबारे म जानकार छु । त्यो कुरा पनि सार्वजनिकरुपमा भनिराख्नुपर्ने आवश्यकता छैन । तटस्थ बसिदिनुस्, हाम्रो लागि त्यहि सहयोग हुन्छ भनेको छु । ***