सोमबार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

134946_126374807429740_491437_oटोकियो – वरिष्ठ संगीतकार बिजु बज्रलाई नचिन्ने सायदै होलान् । २०२८ सालमा बाबा झुठाराज र आमा लक्ष्मीदेवीको कोखबाट गुल्मीको वामी टक्सारमा माहिलो सन्तानको रुपमा जन्मिनुभएका बिजुले १४/१५ सयभन्दा बढी गीतमा संगीत भर्नुभएको छ भने थुप्रै मन छुने गीत रचना गर्नुभएको छ ।
२०४९ सालमा रेडियो नेपालमा स्वर परिक्षण पास गरेपछि संगीत क्षेत्रमा व्यवसायिक रुपले लाग्नुभएका उहाँलाई आश्विन ६ गतेका दिनमा एक्कासी हृदयघात भएको थियो । काठमाडौंको बबरमहलमा परिवारका साथ बस्दै आउनुभएका उहाँको परिवारमा श्रीमती, छोरा दुई र एक छोरी हुनुहुन्छ । उहाँ २०४८ सालमा परिवारसहित काठमाडौं झर्नुभएको हो ।
सुगम पोखरेलको ‘तिमी म भन्दा कोसौं टाढा छौ’, कर्णदासको ‘बिस्तारै छायो आँखामा अँध्यारो’, आगन्तुक खरेलको ‘कुन रङको कमी थियो र सानु’, रेशमा सुनुवारको ‘मै ठुली भइछु रे’ लगायतका गीतहरु उहाँको बहुचर्चित गीत मानिन्छन् । संगीतलाई नै आफ़्नो जीवन बताउने उनै संगीतकारसँग समुद्रपारिका लागि रमेश श्रीष मगरले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको बुझाईमा संगीत के हो ?
संगीतबिना जीवन जिउन गाह्रो छ । मान्छे किन रुन्छ, किन खुशी हुन्छ र कसरी दिनचर्या कटाईरहेको हुन्छ त ? साँच्चिकै भन्ने हो भने संगीतलाई दिनचर्यासँग पनि परिभाषित गर्न सकिन्छ । त्यसैले मेरो लागि संगीत मन, मस्तिष्क र हृदयको सम्वन्धलाई नजिक बनाउने माध्यम हो । अर्को अर्थमा भन्ने हो भने संगीत धनि गरिबको विभेदबाट टाढा रहेको आपसी भावनाको संगम पनि हो जस्तो लाग्छ ।

उहिले र अहिलेको संगीतमा के फरक पाउनुभा’छ ?
उहिले र अहिलेको संगीतमा खासै धेरै फरक छैन । फरक सारेगमभित्रको एउटा प्याट्रन मात्र हो । तर म मान्छु अहिलेको संगीत जन्माउन उहिलेको संगीतको साहारा चाहिन्छ । त्यसैले यो संगीतको जरो र विउ भनेको त्यतिबेलाकै संगीत हो । समयसँगै संगीत पनि निखारिदै छ जसले सबैको मन छुन थालेको छ ।

तपाईको साँगीतिक यात्रा कसरी सुरु भयो ?
म बाल्यकालदेखि नै संगीतप्रति रुचि राख्थें । घरमा बुवाको हार्मोनियम थियो । बुवा गाउँघरमा हुने भजनकिर्तनमा सरिक हुदाँ म पनि सँगै जान्थें र म मा पनि विस्तारै हार्मोनियम बजाउन सक्ने क्षमताको विकास भयो । यसरी बुवा र हार्मोनियमकै कारण संगीत क्षेत्रमा लाग्ने प्रेरणा मिल्यो । त्यस्तै नेपाली संगीतमा पैसाभन्दा पनि म संगीतप्रतिको मायाको कारण आएको हुँ । मेरो रगत रगतमा संगीत बगिरहेको छ । जुन रगतलाई म मरेर गए पनि नेपाली सांगीतिक क्षेत्रले आवश्यकता ठानोस् भन्ने चाहानाले संगीतमा लागेको हुँ ।

तपाई सांगीतिक क्षेत्रबाट अलग्गिनु पर्योग भने ?
मैले सपनामा पनि यस्तो कुरा सोचेको छैन र सोच्न पनि नपरोस् । यदि त्यसो भयो भने बाँचेर पनि मरेतुल्य हुनेछ जिवन । संगीतबिना त म बाँच्ने कल्पना समेत गर्न सक्दिन ।

तपाई कसका लागि गीत रचना गर्नुहुन्छ, गाउनुहुन्छ र संगीत भर्नुहुन्छ ?
वास्तवममा गीत सुन्ने भनेकै श्रोताहरुले हो । त्यसैले मैले श्रोताहरुकै लागि गीत रचना गर्ने, संगीत भर्ने काम गर्दछु । तर समग्रमा श्रोता,
गीत-संगीत क्षेत्रको विकास र मेरो लागि पनि हो कि ?

किन सबै मान्छे संगीतकार, रचनाकार र गायक बन्न सक्दैनन् ?
किनभने सबै मान्छेको आ-आफ़्नै उद्देश्य हुन्छ । उद्देश्य बिनाको जीवन अन्धकार हुन्छ । त्यस्तै मनमा इख नभएको काम गर्दा कहिल्यै सफलता मिल्दैन । सफलता पाउन मनमा कुनै कामको इख हुनुपर्छ । जस्तो म क्रिकेट खेलमा चौका छक्का हान्न सक्दिन, त्यसैगरी क्रिकेट खेल्ने पारस खड्काले पनि मैलेझैं संगीत भर्न सक्दैनन् ।

संगीतिक क्षेत्रमा पैसा छैन भनिन्छ नि ? यो क्षेत्रमा लागेर पछुतो त छैन ?
हैन, गीत संगीतमा धेरै नै पैसा र नाम छ । कुनै बिषयलाई गहन रुपले नलिने र त्यस सम्बन्धि केही ज्ञान नभएकालाई त कहाँ पैसा हुन्छ र ? त्यसैले केही कुरा पाउनलाई ज्ञान र सिपको महत्व हुन्छ । अर्को कुरा मलाई यस पेसा अंगालेर कहिल्यै पछुतो भएन । राम्रो र पैसा नहुने भए मेरो छोरा जो भर्खर २३ बर्षको भएको छ, उ किन राम्रो एरेन्जर र रेकर्डिष्ट भएर निस्कन्थ्यो र ?

व्यक्तिगत जीवनलाई केलाएर हेर्दा के भन्नुहुन्छ ?
म सामान्य परिवारको मान्छे हुँ । जसरी म सामान्य परिवारमा जन्मिएँ, हुर्किएँ, बढें त्यसपछि सानैदेखि गीत संगीतमा रुचि भएको मान्छे भएकाले गाउँमा उकालीओराली गर्दा गीत गुनगुनाउने गर्थे ।

संगीत क्षेत्रमा नलागेको भए अहिले कहाँ हुनुहुन्थ्यो ?
संगीत क्षेत्रमा नलागेको भए म अहिले गुल्मीमै हुन्थें । बुवाले सञ्चालन गरेको किराना पसललाई नै निरन्तरता दिईरहेको एउटा व्यापारी भएर बस्थें ।

यहाँको स्वास्थ्यस्थिति अहिले कस्तो छ ?
अझै पनि म पूर्ण रुपमा स्वस्थ भएको छैन । उपचारमा संलग्न डाक्टरकाअनुसार मैले आफ़्नो खानपानलाई ब्यवस्थित गर्नुपर्ने भएकाले अहिले झोल पदार्थ मात्र खाईरहेको छु । अझ साउण्डको नजिक नबस्नु भन्ने सल्लाह छ, त्यसैले फेसबुक चलाएर दिन बिताउँदै छु ।

अन्तमा, केही भन्नु छ कि ?
मेरो उपचारका लागि खर्च जुटाई सहयोग गर्नुहुने स्वदेश तथा जापानलगायतका बिदेशमा रहनुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक आभार ब्यक्त गर्दछु र नेपाली संगीतलाई सँधै माया गर्नुहुन यहाँहरु सबैमा हार्दिक अपिल गर्दछु । यहांहरुको यो लोकप्रिया मिडिया मार्फत आफ़्ना भनाईहरु राख्ने अवसर दिनुभएकोमा यस मिडियामा आबद्ध सबैमा धन्यबाद ब्यक्त गर्न चाहान्छु।

तपाईको प्रतिक्रिया