शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

लण्डन – नेपाल बाहिर रहेका नेपालीहरुले स्थापित गरेको पहिलो मन्दिरको रुपमा चिनिएको दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा अवस्थित पशुपतिनाथको मन्दिरमा बिहीबार साउने संक्रान्तिको अवसरमा भगवान शिवको बिशेष पूजा आराधना गरि मनाईएको छ । मन्दिर कमिटीको आयोजनामा हरित वस्त्रमा सजित महिलाहरुको ठूलो उपस्थिति माझ पण्डितद्वय कमलप्रसाद लुइटेल तथा बिनोदप्रसाद पन्थी द्वारा रुद्राभिषेक पूजा सम्पन्न भएको हो ।

बिहानैदेखि भक्तजनहरुको ठूलो चहलपहल रहेको मन्दिर परिसर सांच्चिकै संक्रान्तिमय  भएको थियो । पूजा समापन पछि गरिएको सन्ध्याकालिन आरती पश्चात पण्डित निलहरी घिमिरेको धार्मिक प्रवचन तथा सांस्कृतिक भजनकिर्तन र नाच गान  पनि प्रस्तुत गरिएको थियो ।
साउन महिनामा पर्ने प्रत्येक सोमबार पूजाआजा तथा साँझ भजनकिर्तन गरिनुका साथै महिनाको अन्तिम सोमबार बिशेष पूजा सहितको कार्यक्रम रहेको जानकारी मन्दिर कमिटीका अध्यक्ष होम शर्माले दिएका छन । उनले उपस्थित भक्तजन तथा स्वयंसेवीहरुलाई हार्दिक धन्यबाद टक्र्याउनुका साथै आगामी कार्यक्रममा अझै बढ्दो सहभागिताको अपेक्षा गरे ।

‘मन्दिरमा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको छ जुन दुरगामी रुपमा मन्दिरको बिकासको लागि उत्साहपूर्ण छ’, – कार्यक्रमममा सहभागी एनआरएन युकेका एक अध्यक्ष्य महेन्द्र कंडेलको कथन थियो । पूजा आयोजनामा महिला स्वयंसेवीहरु सरिता पौडेल, तुलसा शर्मा, तारा भट्टराई लगायतको बिशेष सक्रियता रहेको थियो ।
पवित्र मानिने श्रावण महिनाभर शिवजीमा भक्तिभाव राख्नाले फल प्राप्त हुने विस्वास हिन्दु धर्मालम्बी हरुमा पाईन्छ । नेपालमा बर्षे कामको चटारो कम हुदै गर्दा यसै दिनदेखि धार्मिक पर्वहरुको शुरुवात हुने भएकोले पनि साउने संक्रान्तिको विशेष महत्व रहेको छ । नेपालका ग्रामिण ईलाकाहरुमा वर्षायामको दुषित पानीको संसर्गबाट लाग्ने छालाको रोगको चेतना स्वरुप परम्परागत रुपमा लुतो फाल्ने चलन समेत रहेको पाईन्छ ।
London 2 london 4 London 1 Londan 3

 

तपाईको प्रतिक्रिया