शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – हङकङमा हृदयघात भई असामयिक निधन हुनुभएका जापानका एक प्रतिष्ठित अरवपति ब्यवसायी केशवलाल मलेकु श्रेष्ठको स्मृतिमा आइतवार टोकियोमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
४५ औं पूण्यतिथिका अवसरमा स्व. श्रेष्ठको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धासुमन ब्यक्त गरियो । स्वर्गिय श्रेष्ठको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिनुका साथै उपस्थित सबैले स्व. श्रेष्ठको तस्वीरमा पुष्पाञ्जली अर्पण गरेका थिए ।
टोकियो सिनियर्स क्लवले आयोजना गरेको सो श्रद्धाञ्जली सभामा विभिन्न वक्ताहरुले स्वर्गिय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । शोक मन्तब्य दिनेहरुमा एनआएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, आइसीसीका सदस्य भूषण घिमिरे, एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, गुल्मेली समाजका पूर्व अध्यक्ष शालिकराम भण्डारी, नेवा: जागरण मञ्च जापानका अध्यक्ष सुनिल शाक्य, परिवारका सदस्य रामभक्त जोशी, स्वर्गिय श्रेष्ठका निकटम मित्रहरु अनिल शाक्य, सुनिल श्रेष्ठ, रविन्द्र साख श्रेष्ठ लगायतका थिए ।

बोल्ने वक्ताहरुले उद्यमशील ब्यक्तित्व स्वर्गिय श्रेष्ठको बाल्यकाल, स्वभाव, रुची र पछिल्ला स्मरणहरु र संगतका अनुभवहरु सुनाएका थिए । इमान्दार, लगनशील र मिहिनेती स्वभावका श्रेष्ठ जतिसुकै कठिन परिस्थितिमा पनि काम सुरु गरेपछि नसकिदासम्म निरन्तर लागिरहने र आफ़्नो कामलाई सफलताका साथ गन्तब्यमा पुर्‍याउने स्वभावलाई सबैभन्दा असल पक्ष भन्दै चर्चा गरेका थिए ।
सामान्य भन्दा सामान्य पृष्ठभूमिका स्व. श्रेष्ठ आफ़्नो जीवनको छोटो कालखण्डमै अनपेक्षितरुपले ब्यवसायिक सफलताको छलाङ मार्दै एक उदाहरणीय ब्यक्तित्वकारुपमा स्थापित भएको भन्दै वक्ताहरुले उहाँको असामयिक र अप्रत्याशित अवसानले हाम्रो समाज र राष्ट्र, बिशेषगरी ब्यवसायिक क्षेत्रको अपुरणीय क्षती भएको विचार ब्यक्त गरे । श्रद्धाञ्जली सभामा स्वर्गिय श्रेष्ठको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै स्वर्गमा बास होस् भनि भिक्षुद्वारा प्रार्थाना पनि गराईएको थियो ।

सिनियर्स क्लवका अग्रज याम खड्काको सभापतित्वमा भएको सो सभामा युको ओकामोतो मल्लले धन्यबाद ब्यक्त गरिन् भने पत्रकार तिलक मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।

स्मरणरहोस्, टोकियोमा वरिष्ठ तथा अग्रज ब्यक्तिहरुबीच मनोरञ्जनपूर्ण आपसी भेटघाट एवं सुखदुख आदानप्रदान गर्दै जीवनका उत्तरार्द्धलाई कसरी ब्यवस्थापन गर्ने र बाँकी जीवनलाई कसरी सार्थक तुल्याउने भन्ने बारे नियमित छलफल एवं परामर्श गर्ने उद्देश्यले हालै टोकियो सिनियर्स क्लवमा पाकापुरानाहरु संगठित भएका हुन् । ‘यो कुनै संस्था हैन, जेठापाका एवं अनुभवीहरुको एउटा समुह मात्र हो’ – सो क्लवका अगुवा युको ओकामोतो मल्लले भनिन् – ‘४० नाघेका ईच्छुकहरु क्लवमा आउन सक्नुहुन्छ । यहाँ कुनै पद र दर्जा भन्ने हुँदैन हामी सबै सदस्य हुन्छौं’, – युकोले थपिन ।  ***
१ २ 3 4 5 6 8 10स्विर सौजन्य : नारी  सञ्जाल डट कम

 

तपाईको प्रतिक्रिया