शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

बार्सिलोना (स्पेन) – गैरआवासीय नेपालीको सातौं क्षेत्रीय बैठक तथा पाँचौ महिला भेला स्पेनको बार्सिलोनामा शनिबार सुरु भई आइतवार सम्पन्न भएको छ । सम्मेलनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले उदघाटन गरेका थिए । उदघाटन सत्रमा बोल्दै डा. महतले देशले आगामी माघ महिनामा नयाँ संविधान पाउने विचार ब्यक्त गरे । उनले लामो समयदेखि देशले संविधान नपाउँदा अन्योल भएको बताए । संविधान बनाउन नसक्नुको दोषी सबै राजनीतिक दल भए पनि माओवादीप्रति इंगित गर्दै देशको प्रमुख दलले लोकतान्त्र र कानुनी राज्यलाई सहज रुपमा स्वीकार गर्न नसकेका कारण समयमा संविधान नबनेको जिकिर गर्दै अब भने संविधानसभा समय सीमाभित्र नयाँ संविधान दिने बाटोमा लागेको बताए ।

कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले नेपाली सांस्कृतिक, आर्थिक विकासका लागि गैरआवासीय नेपालीले जोड दिनुपर्ने धारणा राखे ।

सामुहिक लगानीमा हाईड्रो प्रोजेक्ट सफ़ल – जीवा लामिछाने
उदघाटन सत्रमा बोल्दै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीहरुको सामुहिक लगानीमा सुरु भएको पहिलो हाइड्रो प्रोजेक्ट नेपालमा प्रयोगका गरिएकोमा सफल भएको बताए । उनले गैरआवासीय नेपाली संघका मुद्धाहरु अझै बाँकि रहेकोले त्यसको लागि नेपाल सरकारसँग मिलेर जान सकिन्छ । उनले नेपालमा नँया बन्ने संविधानमा गैरआवासीय नेपालीको नागरिकताको निरन्ताको सुनिश्चत गर्न आगह गरे ।

अब बन्ने संबिधानमा सुरक्षित माईग्रेशनको ब्यवस्था हुनुपर्ने – रामप्रताप थापा
गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपाली संघले १० बर्षको अभियान अहिले संस्थागत र परिपक्का हुदै गएको विचार ब्यक्त गरे । विदेशमा बस्ने नेपालीका राहादानी, सुरक्षित माइग्रेसनलगायतका समस्यालाई आगामी दिनमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

नेपालीहरु विदेशमा मोजमस्ती गर्न आएको हैन – डा. उपेन्द्र
गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले समृद्ध नेपाल बनाउने जिम्मेवारी गैरआवासीय नेपालीमाथि आएको बिचार ब्यक्त गरे । उनले भने देश बनाउने जिम्मेवारी गैरआवासीय नेपालीमाथि आएको छ । त्यसका लागि प्रत्येक गैरआवासीय नेपालीले आफ्नो क्षमताअनुसार नेपालको समृद्धिका लागि लाग्नु होस् । उनले भने देशलाई समृद बनाउन संधै बाटो खुल्ला रहेको छ । त्यसैले गैरआवासीय नेपालीबाट देशले ठूलो आशा धेरै राखेका छन् त्यसलाई पूरा गर्न गैरआवासीय नेपाली लागिपरेको दावी गरे । नेपालीहरु विदेशमा मोजमस्ती गर्न नआएको बताउदै देश समृद्ध बनाउन लागेको जिकिर गरे ।

बैठकमा यूरोप, अमेरिका, मध्यपूर्व, अष्ट्रेलिया र जापानलगायतका मुलुकबाट करिब दुई सय जना नेपाली नागरिक र नेपालीभाषीको सहभागिता रहेको छ । ‘यूरोपमा नेपाली अभियान, नेपाल र नेपालीको पहिचान’ भन्ने नाराका साथ सुरु भएको बैठक आइतवार सम्पन्न भएको छ । बैठकमा यूरोप क्षेत्रका नेपाली कामदारका समस्या, आर्थिक कूटनीति, नेपालमा लगानी प्रवर्धनको सम्भावना, नेपाली नागरिकताको निरन्तरता, वैदेशिक रोजगारीलगायतका बिषयमा छुट्टाछुट्टै छलफल भएको छ ।

उदघाटन सत्रलाई गैरआवासीय नेपाली संघका संरक्षक इन्द्र बन, एनआरएन स्पेनका अध्यक्ष एकराज गिरी, एनआरएन यूरोप संयोजक अर्जुन श्रेष्ठ, नेपाली कन्सुलर लुइस बेलबिसलगायतले सम्बोधन गरेका थिए ।

गैरआवासीय नेपाली संघको विधानमा क्षेत्रीय संयोजकको अवधारणा आएपछि हरेक वर्ष युरोप क्षेत्रमा गठन भएका राष्ट्रिय समितिको संयुक्त बैठक वार्षिक रूपमा बस्दै आएको छ । यस्ता बैठकमध्य पहिलो क्षेत्रीय बैठक सन् २००७ को जुलाईमा लण्डनमा र त्यसपछि सन् २००८ मा बेल्जियम, सन् २००९ मा पोर्चुगलमा सन् २०१० मा फ्रान्स, सन् २०११ रुसमा, सन् २०१२ मा नेदरल्याण्डमा सन् २०१३ मा स्वीजरल्याण्डमा बैठक सम्पन्न भएका थिए । यस्ता क्षेत्रीय बैठकहरु निकै खर्चिला र कम उपलब्धि हुने गरेको बताइन्छ ।

सन् २००३ मा औपचारिक रुपमा सुरु भएको एनआरएनका राष्ट्रिय समन्वय परिषद् नेपाली समुदाय बसोबास रहेको विश्वका ६९ मुलुकहरु मध्य यूरोप क्षेत्रमा मात्र २७ राष्ट्रिय समिति सक्रिय छन । गैरआवासीय नेपाली संघभित्र करिब ४० लाख नेपाली र नेपालीमूलका व्यक्ति समेटिएको दावी गरिएको छ ।

सम्मेलनमा जे देखियो
गैरआवासीय नेपाली संघका बिभिन्न क्षेत्रीय बैठक तथा सम्मेलनबाट गरिने निर्णयहरु औपचारिकता मात्र सीमित रहने र कार्यान्वयन पक्ष निकै फितलो हुने गरेको बताईन्छ । एनआरएनको मंचमा प्रमुख अतिथि बनेका कांग्रेस नेता डा. प्रकाशशरण महत बिदेश आएर पनि अन्य दललाई आरोप-प्रत्यारोपमै समय खर्च गरेर आफ़ु पानी माथिको ओभानो हुने चेष्टा गरेको देखियो, जुन बिदेशमा रहेका नेपालीहरुले अपेक्षा गरेका थिएनन ।

मंचको दुरुपयोग
दोस्रो दिन एनआरएनको भित्र युरोपेली सम्मेलन चलिरहंदा बाहिर दलका संगठनहरुले छुट्टाछुट्टै तिन चार वटा बैठक गरेका थिए । नेपाली कांग्रेस समर्थकहरुको छुट्टै बैठक थियो । त्यसमा युरो कांग्रेसलाई के गर्ने भन्ने विषयमा चर्काचर्की बहस चलिरहेको थियो । एनआरएन युरोपेली सम्मेलनमा प्रमुख अतिथि बनेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाशशरण महत नै बाहिरको कांग्रेस बैठकमा थिए । एनआरएन पोर्चुगलका प्रतिनिधी बनेका पूर्ण हमाल कांग्रेस बैठकमै थिए । त्यहाँ उपस्थित हुनेमा इन्द्र क्षेत्री, जगन्नाथ डाँडा कटेरी, माधव सापकोटा, जानकी गुरुङ, जर्मनीका दिल गुरुङ, स्पेनका चिन्तामणी सापकोटा, स्पेनकै बेदराम कँडेल, सिता सापकोटा लगायत युरोपका कांग्रेस कार्यकर्ता थिए । एनआरएनको मंच उपयोग गर्दै दलका कार्यकताले सम्मेलनको खिल्ली उडाएको महशुस सहभागिहरुले गरे। यसो हुनुमा स्वयम एनआरएनका हस्तीहरुको कमजोरी रहेको सर्बत्र चर्चा चल्न थालेको छ । यो घटना अब अरु मुलुकमा दोहोरिन नदिनका लागि एनआरएन अगुवाहरुले समय मै सचेत रहनुपर्ने  बताईन्छ ।   फ़ोटो सौजन्य: एन पोखरेल

सम्बन्धित समाचार
NRN 1 Nrn 2 Nrn 3 Nrn 4 Nrn 5 Nrn 6 Nrn 7 Nrn 8

तपाईको प्रतिक्रिया