एमाले पार्टीको महाधिवेशन तयारी कुन अवस्थामा पुग्यो ?
महाधिवेशनको तयारी भइरहेको छ । त्यसका निम्ति जिल्ला अधिवेशनहरू भइरहेका छन् । महाधिवेशनका निम्ति प्रतिनिधिहरू चयन गर्ने काम पनि हुनेछन् । एक किसिमले पूरै पार्टीपंक्ति महाधिवेशनको तयारीमा जुट्दैछ ।
यसपटकको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ला कि पुरानैलाई निरन्तरता देला ?
कमरेड मदन भण्डारीको रहस्यमय हत्यापछि नेकपा एमालेले वास्तवमै गति लिन सकेको छैन । मदन कमरेडको हत्यापछि पार्टीको बागडोर सम्हाल्दै आउनु भएका कमरेड माधवकुमार नेपालले वास्तवमा जनताको बहुदलीय जनवादको भावना र मर्मलाई बुझ्नै सक्नु भएन । पार्टीभित्र जनवाद लागू गर्ने मदन कमरेडको दूरदर्शी दृष्टिकोण बोकेको जनताको बहुदलीय जनवादको भावनाअनुसार पार्टीलाई अगाडि बढाउन नसक्दा हाम्रो पार्टी विभाजनको दुर्घटनामा समेत पर्यो । वास्तवमा जबजलाई दृढतासाथ लागू गर्ने नेतृत्व हाम्रो पार्टीले पाउन सकेन भन्ने मलाई लागेको छ । त्यसैले आगामी नवौं महाधिवेशनले जनताको बहुदलीय जनवादको भावनालाई राम्रोसँग बुझेको र त्यसलाई दृढतासाथ लागू गर्ने अठोट लिने नेतालाई नै पार्टीको बागडोर सुम्पिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
त्यसो भए नेतृत्व परिवर्तनको पक्षमा तपाई हुनुहुन्छ ?
हो, निश्चय पनि नेतृत्व परिवर्तन हुनुपर्छ र त्यो नेतृत्व सर्वसम्मत पनि हुनुपर्छ ।
सर्वसम्मत होला र ?
हुनुपर्छ । माधव कमरेडले १५ वर्ष नेतृत्व गर्नुभयो । झलनाथ कमरेडले पनि ५ वर्ष नेतृत्व गर्नुभयो । अब नयाँ नेतृत्व चयन गर्नेतर्पm कमरेड माधव र कमरेड झलनाथ दुवैले भूमिका निर्वाह गर्नुपर्छ ।
हैन माधव नेपाल र झलनाथ खनाल दुवैले अध्यक्षको दावी गरिरहनु भएको छ त ?
हाम्रो पार्टीको विधानले कुनै पनि नेताले कति पटकसम्म नेतृत्व गर्न पाउने भन्ने सम्बन्धमा व्यवस्था नगरेकाले नेतृत्वमा हकदावी गर्न सबैलाई अधिकार त छ । तर आपूmहरूले पार्टीलाई गति दिन सकिएन अब नयाँलाई अवसर दिएर जाउँ भन्ने भावनाका साथ अघि बढ्नुपर्छ । म त भन्छु आगामी नवौं महाधिवेशनले पार्टीको विधान नै संशोधन गरेर अध्यक्ष पद एक कार्यकाल मात्र रहने व्यवस्था गरिनुपर्छ । त्यसो भयो भने मात्र प्रत्येक ५ वर्षमा पार्टीमा नयाँ नेतृत्व आउने र सबैले अवसर पनि पाउने हुन्छ । नेतृत्वका निम्ति हानथाप पनि हुँदैन र गुटबन्दी पनि अन्त्य हुन्छ ।
अब पार्टीको अध्यक्ष कसलाई बनाउने त स्पष्ट भनिदिनुस् न ?
हाम्रो पार्टीको कार्यकर्तापंक्ति नयाँ नेतृत्वको पक्षमा छ भन्ने कुरा सबैले महसुस गरिरहेका छौं । पार्टीको नेतृत्व सम्हाली सक्नु भएका नेताहरूले त्यागको भावना पनि प्रदर्शन गर्न सक्नुपर्छ । सबैले त्यागको भावना देखाउने हो भने नयाँ नेतृत्वका निम्ति सर्वसम्मति बन्छ र पार्टीले नयाँ गति पनि प्राप्त गर्छ भन्ने मलाई लागेको छ । यसपटक हाम्रो पार्टीको तर्पmबाट संसदीय दलको नेतामा निर्वाचित हुनुभएका कमरेड केपी शर्माओली पार्टीको अध्यक्ष पदका निम्ति सर्वसम्मत उम्मेदवार बन्नुपर्छ भन्ने प्रयासमा हामी लागिरहेका छौं ।
एमाले पार्टीले झण्डासमेत परिवर्तन गर्दैछ भन्ने चर्चा छ नि ?
झण्डा परिवर्तन गरेर वा पार्टीको नाम परिवर्तन गरेर पार्टीले गति लिने कुरा हुँदैन । पार्टीले जनताका आवश्यकतालाई पहिचान गर्न सक्नुपर्छ र जनताको भावनाअनुसार कार्यक्रमहरू तय गर्नुपर्छ । त्यसो भएमा पार्टी जनताका बीचमा आफै लोकप्रिय बन्नसक्छ । झण्डा र नाम परिवर्तन गरेर मात्र जनतामा लोकप्रिय बन्न सकिंदैन ।
अन्तर्राष्ट्रियजगत्बाट सहयोग पाउन सकिएन भनेर झण्डा परिवर्तन गर्न प्रयास भएको हो कि ?
नेपाली जनताको साथ र सहयोगका निम्ति चिन्तित बन्नुपर्छ, विदेशीहरूको मात्र सहयोगले पार्टी सफल बन्न सक्दैन । जनताको बलियो साथ रह्यो भने त्यस्तो पार्टीलाई विदेशीहरूले पनि सहयोग र समर्थन गर्नुपर्ने बाध्यता बन्न जान्छ । त्यसैले झण्डा र नाम परिवर्तन गर्नुपर्ने आवश्यता छ ।
प्रसंग बदलौं, संविधानसभाले नयाँ संविधान निर्माण गर्ने बेलामा युद्धकालीन मुद्दा उठाएर धरपकड गर्ने र सँगसँगै सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन प्रक्रिया पनि थाल्ने काम भएको छ । किन यस्तो विवादास्पद काम भइरहेको हो ? तपाईको भनाइ के छ ?
यो विवाद नयाँ होइन । बाबुराम भट्टराई प्रधानमन्त्रीमा रहँदा पनि दैलेखको घटना चर्किएको थियो । युद्धकालमा भएका गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाहरूलाई राजनीतिक आवरण दिएर अपराधीहरूलाई उन्मुक्ति दिनु हुँदैन भन्ने मलाई लाग्दछ । हामीले उन्मुक्ति दिए पनि अन्तर्राष्ट्रियजगत् त्यसको विरोधमा रहने छ । त्यसैले द्वन्दकालका घटनाहरूलाई एकैपटक सम्बोधन गरेर टुंगो लगाउनुपर्छ । अन्यथा द्वन्दले दुर्घटना निम्त्याउने बलियो सम्भावना रहन्छ ।
माओवादीले सशस्त्र युद्धको नेतृत्व गरेका बेला पार्टीको निर्णय बमोजिम भएका घटनाहरूलाई लिएर एक/एक घटनालाई कोट्याउँदा द्वन्द निवारण होला र ?
मैले माथि भनिसकें, युद्धकालमा माओवादी पार्टीले पार्टीकै निर्णय बमोजिम गरेका घटनाहरू पनि कतिपय अत्यन्तै जंगली प्रकारका भएका छन् । त्यस्ता घटनाहरूलाई राजनीतिक आवरण दिने गल्ती माओवादी नेताहरूले पनि गर्नु हुँदैन । राजनीतिक निर्णयकै आधारमा भएका छन् भने पनि त्यस्ता घटनाहरूमा पीडितपक्षको सहमतिमा क्षम्य गरिनुपर्छ भन्ने मलाई लाग्दछ । पीडितपक्षलाई राहत दिएर हुन्छ वा सम्झाएर बुझाएर वा माफी माग्न लगाएरै हुन्छ, जसरी पनि द्वन्दका घाउहरूमा मलहम लगाउने काम हुनुपर्छ भन्ने मेरो आग्रह हो ।