जापानका विश्वविद्यालयहरुमा टोकियो विश्वविद्यालयको नाम पहिलो नम्वरमा आउँछ । आफ्ना छोराछोरीहरुलाई उक्त विश्वविद्यालयमा प्रवेश गराउने सपना देख्छन् जापानी अभिभावकहरु । त्यसैमाथि विश्वविद्यालयको मेडिकल संकायमा प्रवेश गर्नु भनेको चानचुने कुरा होइन । तर नेपालको मध्यम मगर परिवारमा जन्मेका यालुङ्गका थापामगर अहिले टोकियो विश्वविद्यालयको मेडिकल विषयमा स्कलरसिपमा अध्ययनरत छिन् । टोकियोमा भएको १८ औं लांघाली साँझमा आउनु भएको बेला हाम्रा प्रतिनिधी ऋतुकुमार दुराले उहाँसँग गर्नुभएको कुराकानी ।
तपाईको शुभ नाम ?
मेरो नाम यालुङ्गका थापामगर ।
पुख्र्यौली घर कता पर्यो नि ?
गोर्खाको मन्सरे ।
वाल्यकाल कहाँ वित्यो तपाईको ?
नेपालमा नै हो ।
अहिलेको नेपालमा बसाई कता छ नि ?
काठमाण्डौको गोल्कुपाखा ।
प्रारम्भिक शिक्षा कहाँ वाट लिनुभयो त ?
काठमाण्डौको सेन्टमेरिज स्कुलबाट अनि प्लस टु भने इण्डियाबाट । त्यसपछि फिलिपिन्स गएर वायलोजीमा व्याचलर्स गरें त्यसपछि त्यहीं एमडी पनि गरें । नेपालको आर्मी हस्पिटलमा इन्टर्नसीप पनि गरेकी हुँ ।
कति भयो जापान आउनु भएको ?
म २०१३ सालको अप्रिलमा जापान आएकी हुँ ।
अहिले जापानमा के गर्दै हुनुहुन्छ त ?
म टोकियो मेडिकल यूनिभर्सिटी निशी सिन्जुकुमा रिर्सचको विद्यार्थी हुँ ।
के विषयमा रिर्सच गर्दै हुनुहुन्छ ?
महिला तथा स्त्री रोग विशेषज्ञ अन्तरगतको क्यान्सर सम्बन्धी ।
कति वर्षको पर्ढाई हो यो तपाइको ?
यो ४ वर्षे डिग्री हो ।
जापान आउनु भयो, यहाँको नाम चलेको मेडिकलमा डाक्टर पढ्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ त जापान ?
रमाइलो नै छ । विकसित मुलुकहरु मध्येको एक जापानमा हरेक कुरा एउटा सिस्टममा चलेको छ । सबै मानिसहरू मेहनती छन् । कामलाइ बढी मान्यता दिंदा रहेछन् त्यसैले पो यो देश यस्तो बनेको रहेछ त ।
जापानी भाषाको ज्ञान कस्तो छ तपाइको ? वोल्न आउँछ जापानी भाषा ?
आउँछ । जापान आउनु भन्दा अगाडि पनि ३ महिना पढेकी थिएँ ।
पढाई के भाषामा जापानीमा कि अंग्रेजीमा ?
पढाई त मेरो अंग्रेजीमा नै हुन्छ ।
के को लागि जापानी भाषा पढ्नु भएको त ?
जुन ठाउँमा बसिन्छ धेरथोर भए पनि त्यो ठाउँको भाषा जान्नु अति नै आवश्यक छ । त्यसैले अहिले जापानी भाषा पढिरहेकी छु । आफै पनि घरमा समय भएको वेला जापानी भाषा अध्ययन गर्दछु ।
जापानी भाषा कहाँ पढ्दै हुनुहुन्छ ?
भोलेन्टियर क्लासमा, हप्ताको १ दिन ।
जापानमा मेडिकल क्षेत्रमा पढ्नु भनेको त निकै ठूलो खर्च लाग्छ होला त्यसको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
मैले स्कलरसीपमा पढ्ने मौका पाएकी हुँ । त्यसको लागि परीक्षा र अन्तरवार्ता दिनु पर्दथ्यो मैलै परीक्षा र अन्तरवार्ता दुवैमा निकै राम्रो गरेकी थिएँ जसले म स्कलरसीपमा छनौट भएँ त्यसैले पढाईको लागि खासै परिवारले खर्च गर्नु पर्दैन ।
तपाईको कलेजमा यही विषयमा पढ्न नेपालबाट आएका अन्य विद्यार्थीहरु पनि छन ?
नेपालको छैन म मात्रै हुँ ।
अन्य देशहरुका छन् ?
हजुर, छन् । चाइनिजहरु बढी छन् ।
पढाई सकिएपछि तपाई नेपाल फर्कनुहुन्छ ?
हजुर फर्कन्छु ।
पक्कै फर्कनुहुन्छ र ?
पक्कै फर्कन्छु ।
नेपालीहरु विदेश आएपछि नेपाल फर्कनै खोज्दैनन् भनिन्छ नि विशेष गरी डाक्टरी क्षेत्रमा लागेकाहरु ?
त्यो होला तर म फर्कन्छु ।
जापानमा काम गर्ने अवसर आएको खण्डमा ?
गर्दिन होला । म गर्दिन नै भन्छु । किनभने यहाँ मेरो जापान वसाइमा मैले धेरै नेपाली दाजुभाई दिदीवहिनीहरुले काम गर्नुभएको देखेकी छु । यहाँ काम गर्न धैरै गाह्रो छ । अर्को कुरा यो देश हाम्रो होइन । आफ्नो देश भनेको आफ्नै देश हो । नेपालमा गर्छु भनेर कम्मर कस्नेहरुको लागि एकदमै आवश्यकता र प्रशस्त अवसरहरु छन् । वावा आमा यहाँ जापानमा नै हुनु भए पनि अन्य मेरो परिवारहरु नेपालमा हुनुहुन्छ त्यसैले मैले पढाई पश्चात नेपाल नै र्फकने सोंच बनाएकी छु ।
नेपालमा विशेषगरी स्वास्थ्यकर्मीहरु भनौ डाक्टरहरुको अभावै अभाव छ । गाउँतिरको अस्पताललाई हेर्ने हो भने त कतिपय अस्पतालहरु परिचरले धानेका छन् । तपाइ जापानजस्तो ठाउँमा पढेर नेपाल गएरै सेवा गर्नु भयो भने त सबै नेपालीले तपाइको कामलाई सलाम गर्छन् नि कि कसो ?
भन्न त मान्छेहरुले यो गर्छु त्यो गर्छु भनेर भन्छन् । तर वोलाई र व्यवहारमा फरक पनि हुन्छ । मैलै पनि अहिले यो गर्छु र त्यो गर्छु भनें भने धैरै गफ लगाएजस्तो होला । भविष्यको कुरा कसैलाइ थाहा हुँदैन तर अहिलेसम्मको मेरो सोचाइमा म पढाई सकेपछि नेपाल नै गएर काम गर्छुहोला ।
फिलिपिन्समा पछि पढ्नु भएको रहेछ, फिलिपिन्स र जापानमा के अन्तर पाउनु भयो ?
धेरै अन्तर छ, मापन गर्नै नसकिने अन्तर छ । फिलिपिन्स भनेको नेपाल जस्तै हो । त्यहाँ यति धेरै विरामीहरु हुन्छन् । त्यहाँको बसाईमा मैले नेपालमा जस्तै धेरै गरीव, धेरै विरामीहरु देखें । जसले वेलावेलामा मलाई मेरो नेपालको सम्झना गराउँथ्यो । हुनत मैले त्यसबाट धैरै कुराहरु सिक्ने अवसर पाएँ । त्यस्ता ठाउँहरुमा विरामीको संख्या धेरै भएकोले एउटै डाक्टरले धेरै भन्दा धेरै विरामीहरु हेर्ने अवसर पाउँछन, त्यो भनेको सिक्ने अवसर पनि हो । जापानको कुरा गर्नु पर्दा यहाँ हरेक कुराको नियम छ, कानून छ । जापानीहरुको मेथड नै राम्रो छ । लापरवाही गर्दैनन् । हरेक व्यक्तिहरु आफ्नो काममा उत्तिकै वफादार भएर लाग्छन् । देश तथा समाज विकासको लागि त्यो अति नै महत्वपूर्ण कुरा हो । जापानमा एउटा विरामीलाई कसरी सरल र सुविधायुक्त वातावरणमा उपचार गर्ने भन्ने कुरा सिकाउँछ । पढ्ने, काम गर्ने हरेक क्षेत्रमा नयाँ प्रविधीहरु छ । सायद नेपालमा पनि यसको विस्तारै प्रवेश हुने नै छ ।
तपाईलाई मगर भाषा बोल्न आउँछ ?
खाना खायो कि खाछैन, तपाईको नाम के हो ? भन्ने मात्र आउँछ हा.हा.हा.हा. ।
लांघाली साँझमा आउनु भएको पहिलो पटक हो ?
हजुर, यो पहिलो पटक नै हो ।
जापानमा भएका नेपालीहरुलाई के भन्नु हुन्छ ?
मैले भनेर सुन्ने त होइनहोला तर म यतिखेर आफ्नै क्यारियर बनाउँदैछु । पछि कुनै दिन भएमा भनुँला । खासगरी अहिले यतिधेरै जातजातिका संघसंस्थाहरु संगठित भएका छन् । आखिर जे भए पनि हामी सबै नेपाली हौं । तर जातीयताको थोरै मायाँ त हुन्छ नै । अहिलेसम्म पढ्दै जाने, काम गर्दै जाने क्रममा मलाई के अनुभूति भैरहेको छ भने नेपालको सबैभन्दा बढी जनसंख्या भएको मगरहरु हरेक कुराहरुमा पछाडि नै परिरहेका छन् । किन हुने खाने ठाउँमा हाम्रा मगरहरु कम होला जस्तो लाग्छ ।
पछाडि पर्नुको कारण के होला जस्तो लाग्छ ?
हाम्रा जातिहरु पैसा नै सबैकुरा हो भन्छन् । कसरी हुन्छ पैसा कमाउँ भन्ने सोच्छन् ।
पैसा त हुने खानेसँग नै हुन्छ नि । पैसा कमाउँछन् भने पछि त पैसा हुनेहरु त हुने खानेभित्र नै पर्दैन र ?
त्यो पनि केही हदसम्म हो । तर पैसा कसरी कमाएका छन् भन्ने कुरा महत्वपूर्ण हो । शैक्षिक रुपमा शिक्षित भएर पैसा कमाउनु र अन्य काम गरेर पैसा कमाउनुमा त फरक पर्छ नि । सबैभन्दा महत्वपूर्ण शिक्षा नै हो जस्तो लाग्छ । बाबु आमाको पनि विशेष भूमिका रहन्छ । नेपालमा अझै ग्रामीण क्षेत्रमा छोरीहरुलाई त छिटै विवाह गरेर पठाईहाल्नु पर्छ भन्ने हुन्छ । त्यस्तो सोचाइको यथाशक्य छिटो अन्त्य गराउनु पर्छ । जसले महिलाहरु पनि प्रगतिपथमा लम्कन सकुन ।
तपाइको उमेर कति भयो नि भन्न मिल्छ ?
मिल्छ । म ३० वर्षकी भएँ ।
विहे गर्नु भा’छैन त्यसो भए ?
छैन ।
तपाइको दाजुभाइ कति त ?
म जेठी हुँ, एकजना मेरो भाइ छ ।
अन्तमा समुद्रपारि डट कम मार्फत जापानमा रहेका नेपालीहरुलाई केही भन्नुहुन्छ ?
सर्वप्रथम त मेरो दुइचार कुरा राख्ने अवसर दिनुभएकोमा समुद्रपारिलाई धैरै धैरै धन्यवाद । समय अभावको कारणले गर्दा समुद्रपारि कहिलेकाहीं मात्रै हेर्छु । जापानमा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध भई जापानमा रहनु भएका नेपालीहरुलाई म के भन्न चाहन्छु भने तपाईहरु जहाँ भए पनि आफ्नो देशलाई नविर्सनुहोला । धन्यवाद ।***