आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

भकिम्ले म्याग्दीबाट आफ्नो प्रतिभा फुलाउन फलाउन अहिले राजधानीमा अहोरात्र खटिईरहेकी एउटी नवउदयीमान गायिका हुन् लाली बुढाथोकी । ब्यस्त न्यूरोडसंगै रहेको रञ्जना म्यूजिक ईण्डष्ट्रिजको रञ्जना क्यासेट सेन्टरमा भेटिईन् मंगलबार उनै लाली बुढाथोकी ।Lali

उनीसंगको यो भेट सुनियोजित भने थिएन, जम्काभेट थियो । कुरामा कुरा चल्दै जाँदा हाम्रो भेट सुनियोजित भन्दा उपलब्धिमुलक पो बन्न पुग्यो । उनीसंगै अर्की गायिका ईन्द्रकली राई पनि थिईन् । लालीको एउटा टिपिकल एवं नयाँ खालको सालैजो म्युजिक भिडियो हालै रेकर्ड भएर पनि बजारमा आउने तैयारीकोक्रममा नेपाली टेलिभिजनहरुमा प्रोमो बज्न थालिसकेको रहेछ । उसो त उनको यो पहिलो सिर्जना भने होईन रहेछ, यसअघि उनको एउटा आधुनिक गीतको म्युजिक भिडियो ‘तिम्रो माया’ बजारमा आईसकेको रहेछ । उक्त एल्बममा धन हेर्ने, आउँदै छ मेरो, हुरी चल्यो, कहिले सिउँदो र कहाँ होलान् गरी ५ वटा गीतहरु संग्रहित छन् । जसमा ३ वटा उनको आफ्नै शब्द र स्वर रहेका छन् भने अन्य २ वटा गीत मण्डल साम्पाङ र आभा मुकारुङको स्वर र शब्द रहेको छ ।Rai 2

संयोग त गजबको के परेको रहेछ भने म्याग्दीकी यी नवगायिका लालीलाई भोजपुरकी ईन्द्रकलाले सघाएकी रहिछिन् भने ईन्द्रकलालाई लालीले स्वरमा साथ दिएकी रहिछन् । पूर्वेली शैली रहेको ईन्द्रकलाको आधुनिक गीतमा लालीले हुबहु साथ दिएकी छिन् भने पश्चिमेली शैलीको लोकभाका सालैजोमा भोजपुरकी ईन्द्रकलाले जमेर साथ दिएकीछिन् ।

यी दुई गायिकाले आफ्नो स्वर म्युजिक भिडियोसहित संग्रहित गर्न झण्डै ६ महिनादेखि राजधानीका बिभिन्न कुईनेटाहरु धाउनुपरेको बताए । ‘निकै संघर्ष गर्नुपर्दो रहेछ यो क्षेत्रमा अगाडि आउन’ ईन्द्रकलाले एकैसासमा भनिन् ।

ईन्द्रकलाको पनि ‘ए माया बरको छायाले…..’ नामक एउटा आधुनिक गीतको म्युजिक भिडियो बजारमा आउने तरखरमा रहेको र प्रचारप्रसारका लागि अहिले टेलिभिजनहरुमा प्रोमो बज्न थालेको उनले बताईन् ।

‘गीत गाउन जानेर मात्र नहुँदो रहेछ, भिजुयलको जमाना भएकोले म्युजिक भिडियो नभए प्रभावकारी प्रचारप्रसार नहुने, प्रचारप्रसार नभए बजारसम्म पुग्नै गाह्रो, मोडल कलाकारहरुको समय, संगीत तथा नृत्य अभिनय संयोजन, रेकर्डिङ, कम्पोजिङ लगायत अन्य प्राविधिक कामहरु गराउन लाग्ने समय खर्च र मिहिनेत त्यति चानचुने नभएको भन्दै एउटा मान्छे कलाकार बन्नका लागि गर्नुपरेका संघर्ष र चुनौतीका मोटामोटी पाटाहरु संक्षिप्तमा सुनाईन् लालीले । ‘गाउँघरका टिपिकल जीवनशैली र लोकसुस्केरालाई उतार्न मैले सालैजो भाका रोजेकी हुँ, यो पृथक लयमा स्वरबद्ध छ बिश्वास छ दर्शकश्रोताहरुले मन पराईदिनुहुने छ । बिदेशमा रहनुभएका नेपालीहरुका लागि त झन यो नयाँ स्वादको खुराक हुने छ’ – लालीले एकैसासमा आफ्नो भावना ओकलिन् ।

Jagadishमोफसलका नयाँ प्रतिभाहरुलाई राजधानीसम्म आउन र बजार पाउन निकै ठुलो चुनौती रहेको रञ्जना म्युजिक ईण्डष्ट्रिजका सञ्चालक जगदिशकुमार श्रेष्ठ बताउँछन् । करिव २ दशकदेखि राजधानीमा बसेर संगीत साधनाको क्षेत्रमा अनवरतरुपमा ब्यवसायिकरुपले लाग्दै आएका म्याग्दी राखुका जगदिशले आफ्नो रञ्जनामार्फत थुप्रै कलाकारहरु जन्मन पुगेको र दर्जनौ राष्ट्रियस्तरका स्थापित कलाकार बन्न सफल भएको दाबी गरे । सानैदेखि साँगीतिक क्षेत्रमा रुची भएकोले नेपाली कला र सँस्कृति एवं लोकभाकाहरुको संबर्धन र यथोचित प्रचारप्रसार गर्न ब्यवसायिकरुपमा यो क्षेत्रमा लागेको जगदीशको तर्क छ । ‘नयाँ नयाँ प्रतिभा एवं नेपाली संगीतको पहुँच देशबिदेशमा रहेका नेपालीहरुसम्म पुर्‍याउन उत्पादन, बजार ब्यवस्थापन, बितरण र संयोजनकारी भूमिकामा रहेर रञ्जना लामो समयदेखि यो क्षेत्रमा क्रियाशील छ’ – जगदीशले भने ।

उनीसंगै रञ्जनामा भेटिए लामोसमयदेखि राजधानीमा बस्दै आएका अर्का म्याग्देली समाजसेवी एवं ब्यवसायी दिनेशनारायण श्रेष्ठ । जिल्लाका प्रतिभालाई राजधानी Dineshआई स्थापित कलाकार बन्न त्यति सजिलो नभएको दिनेशले पनि स्वीकारे । यद्यपि म्याग्दी जिल्लाबाट समयअनुसार नयाँ नयाँ प्रतिभाहरु प्रस्फुटन भई प्रगति गरिरहेकोमा खुशी ब्यक्त गर्दै उनीहरुलाई थप प्रोत्साहित गर्दै समाजका जिम्मेवार एवं अगुवाहरुले सक्दो सहयोगी भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिए । काठमाडौंमा आई बसोबास गर्ने म्याग्देलीहरु म्याग्दी चौतारी, बेनी समाज लगायतका बिभिन्न संघसंस्थामा आबद्ध भई बिभिन्न ढंगले सामाजिक क्रियाकलापमा क्रियाशील रहेको जानकारी गराउँदै जिल्लाका प्रतिभाहरुलाई एकैथलोमा भेला गराई निकट भबिष्यमा एउटा बृहत साँगीतिक कार्यक्रमको आयोजन गर्न गईरहेको दिनेशले बताए । बेनीको बजार, जता माया उतै छ नजार जस्ता जनजिब्रोमा झुण्डिएको सदाबहार एवं कालजयी गीतको सिर्जना गरेर देशभित्रमात्र नभएर बिदेशमा पनि म्याग्दी जिल्ला र बेनी बजारलाई चिरपरिचित बनाई पर्यटन प्रबर्द्धनमासमेत सहयोग पुर्‍याउने जिल्लाका वरिष्ठ गायक तथा सर्जक टिकाबहादुर श्रेष्ठदेखि पछिल्ला पुस्ताका थुप्रै कलाकारहरुको पहिचान गरी थप प्रोत्साहित र उचित सम्मान गर्न बेलाबेलामा बिभिन्न किसिमका कार्यक्रमहरु गर्न जिल्लाबासीहरुले कञ्जुस्याई गर्न नहुने दिनेश बताउँछन् ।

यो त भयो एउटा समाजले एउटा कलाकार जन्माउन कति परिश्रम र समय लाग्छ भन्ने एकाध प्रतिनिधि पात्रको कथा । उसो त साँगीतिक यात्रामा लागेका सबै सर्जकहरु गन्तब्यमै पुग्छन् भन्ने पनि छैन । कति त बिचैमा हराउँछन, पलायन भईदिन्छन् र हारेर उकालोको फेदीमै बास बसिदिन्छन् ।

कलाकार बन्न स्वर मात्र भएर नहुने, उसको घरपरिवार, समाज, वातावरण हुँदैं सबै कुराको तारतम्य मिल्दै गएपनि अन्तमा आजको प्रतिस्पर्धात्मक बजार परीक्षामा उत्तीर्ण हुनुपर्ने सबैभन्दा ठुलो चुनौती रहेको भुक्तभोगीहरु बताउँछन् । यि सबै पार गरेपछि तयार भएको पात्र मात्र कलाकार बन्दछ बल्ल उ दर्शक एवं श्रोताहरुको मनमा बस्नलायक भईदिन्छ । अनि त्यसपछि मात्र शुरु हुन्छ बल्ल उसको साँगीतिक यात्राका रमाईला दिनहरु । आजको ग्लोबल भिलेज बनिसकेको दुनियामा नेपाली गीत र संगीतको बजार अब भूगोलको सिमारेखाभित्र मात्र सीमित नभएर संसारभरि चर्को डिमाण्ड छ । यद्यपि उत्कृष्ट बन्ने धुन र बजार पिट्ने होडबाजीमा साँगीतिक क्षेत्रमा पनि अस्वस्थ्य प्रतिस्पर्धा नभएको होईन । यथोचित प्रोत्साहन र उचित अवसरको अभावमा लाली र ईन्द्रकला जस्ता प्रतिभाका नयाँ आँकुराहरु पहुँचवालहरुको थिचोमिचोमा परेर ओझेल पर्न नपरोस् हाम्रो शुभेच्छा छ – साँगीतिक फुलबारीका उनीहरुजस्ता मुनाहरु सबैले निर्बाधरुपले फुल्न र फष्टाउन पाउनुपर्दछ ।***

 

तपाईको प्रतिक्रिया