बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024
hatyaभक्तपुर- माघ २२ गते हुने जेठी छोरी लक्ष्मी राउतको बिहेको लागि आफन्तकहाँ निम्ता बाँड्न हिँडेका भक्तपुर सिरुटार-७ का ४५ वर्षीय रामेश्वर राउतको शव आज उनकै घर नजिकै फेला पारिएको छ। परिवारलाई बिहेको सामग्री तयार गर्न लगाएर आफू बिहेको निम्ता बाँड्ने र सापटी दिएका ठाउँबाट रकम उठाउने भनी शुक्रबार बिहान खाना खाई राउत घरबाट निस्किएका थिए। राउतको शव आज घरबाट करिब एक किलोमिटर पर उत्तरतर्फ वीभत्स रुपमा हत्या गरिएको अवस्थामा परिवारले फेला पारेको हो।
गएराति घर नआएपछि र फोनमासमेत सम्पर्क नभएपछि खोज्न निस्किएका उनका परिवारले दधिकोट गाविस-८ स्थित चित्रपुरमा गहुँ खेतमा राखिएको सिमेन्टको हिमपाइपभित्र जलेको शव भेटाएको थियो।
मृतकका दाई रामभक्त राउतले हिजो बेलुका ५:१५ बजे घरमा परिवारलाई फोन गरेर आफू ग्वार्कोमा रहेको र पैसा दिनेहरूसँग विवाद भइरहेको जानकारी दिएको र त्यसपछि मृतक राउत सम्पर्कमा नआएको बताए।
उनले भने, “साँझ परिवारका सदस्यलाई पैसा लिनुपर्नेहरुसँग विवाद भएको जानकारी गराएका थिए। घरमा नआएपछि फोन गर्दा मोबाइल बन्द थियो। रातभर परिवार चिन्ता मै रह्यो, बिहान मोटरसाइकल बाटोमा भएको खबर आएपछि खोज्न जाँदा त यस्तो पो देखियो।”
दधिकोट-८ मा रहेको ढलको पाइपभित्र आगो लगाइएको अवस्थामा राउतको शव भेटिएको थियो भने नजिकै रहेको दधिकोट वडा नं ८ र ६ को सिमानामा रहेको सडकमा उनकै बा ३८ प ५२५९ नम्बरको मोटरसाइकल पाइएको थियो। त्यसको केही पर खेतमा उनले लगाएका कालो ज्याकेट र त्यसभन्दा तल खेतमा टोपी भेटिएको थियो।
राउतको ज्याकेटबाट नगद रु छ हजार ८९०, पञ्चशील सहकारीको एक लाखको हस्ताक्षरसहितको चेक, हिमालयन बैंकको चेकबुक, अन्ना क्यासिनोको बिजनेश प्रमोटर लेखिएको परिचयपत्र, टेलिफोनको पैसा तिरेको बिल, विभिन्न कार्डहरू र बिहेको निम्तोकार्डसमेत भेटिएको छ। उनी एक वर्ष अघिमात्र इराकबाट फर्किएका हुन्।
तपाईको प्रतिक्रिया