शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
काठमाडौँ – कांग्रेस क्षेत्र नं. ४ काठमाडौंको क्षेत्रीय भेला उद्घाटनका क्रममा कपन पुगेका कांग्रेस सभापति कोइरालामाथि मञ्चमै आक्रमण प्रयास गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ता प्रवेश बस्नेत कोइराला परिवारका निकट कांग्रेस नेता पुरुषोत्तम बस्नेतका भतिजा हुन्।
पछिल्लो दिनमा बस्नेत परिवार कोइराला परिवारसँग असन्तुष्ट छ। त्यसका साथै क्षेत्र नं. ४ बाट संविधानसभामा निर्वाचित सुप्रभा घिमिरे र केन्द्रीय सदस्य अम्बिका बस्नेतबीचको विवादसँग पनि कांग्रेसका नेता-कार्यकर्ताले घटनालाई जोडेर हेरेका छन्।
आयोजकले अतिथिहरुको स्वागतमा खादा लगाइदिइरहेका बेला नेपाल विद्यार्थी संघका कार्यकर्ता प्रवेश बस्नेतले उनीमाथि आक्रमण प्रयास गरेका थिए। बस्नेतले सभापति कोइरालालाई लक्षित गरी आक्रमण प्रयास गरेपछि उनलाई जोगाउन खोज्दा पार्टीका दुई कार्यकर्ता सामान्य घाइते भएका छन्।
झ्यालको फ्रेमले कोइरालामाथि प्रहार गरिएको थियो, तर क्षेत्रीय सचिवद्वय नर्मदा पोखरेल र श्याम संगतले छेकेका थिए। उनीहरुको टाउकोमा चोट लागेको छ।
सभापतिमाथि आक्रमण प्रयास गर्ने बस्नेतलाई आफूले नियन्त्रणमा लिएपछि सभापतिलाई पुनः आक्रमण गर्न नपाएको कार्यक्रममा सहभागी केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए। ‘मैले घाँटीमा अँठ्याएँ,’ थापाले नागरिकसँग भने, ‘त्यसपछि उसले फेरि आक्रमणको प्रयास गर्न पाएन, सभापतिज्यूलाई केही हुन पाएन।’
बस्नेतलाई आक्रोशित कार्यकर्ताले कुटपिट गरेका थिए। कोइरालाले भने तत्काल उनलाई जोगाउन आफ्ना सहयोगीलाई निर्देशन दिएका थिए।
‘सभापतिमाथि आक्रमण गर्न लागेपछि आक्रोशित साथीहरुले उसलाई कुटपिट गर्न थाले,’ थापाले भने, ‘सभापति आफैले यसलाई जोगाउन निर्देशन दिनुभयो।’
बस्नेतलाई कार्यकर्ताले महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीलाई जिम्मा लगाएका थिए। घाइते बस्नेतको उपचारपछि अनुसन्धान थालेको छ। उनीमाथि सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ।
कोइरालामाथि आक्रमण प्रयासको उपसभापति रामचन्द्र पौडेलले निन्दा गरेका छन्। कोइरालालाई भेटेर पौडेलले घटनाको विषयमा जानकारी लिएका थिए। त्यस्तै, नेपाल विद्यार्थी संघले पनि घटनाको निन्दा गर्दै घटनामा संलग्नलाई कारबाही माग गरेको छ। संघले दुई वर्ष साधारण सदस्यसमेत नरहने गरीउनलाई निश्कासित गरेको छ।

तपाईको प्रतिक्रिया