शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024
काठमाडौं, २६ साउन । एमालेका असन्तुष्ट जनजाति नेताहरूले नयाँ पार्टी बनाउने निश्चित भएको छ । बुधबार राति अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष अशोक राईबीच भएको ‘निर्णायक वार्ता’ असफल भएपछि नयाँ पार्टी बन्ने निश्चित भएको हो ।
बुधबार अध्यक्ष खनालले उपाध्यक्ष राईलाई छलफलका लागि आफ्नै निवास डल्लुमा बोलाएका थिए । आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्न झापा पुगेका उपाध्यक्ष राई खनालले बोलाएपछि कार्यक्रम छोट्याएर बुधबार राति अबेर डल्लु पुगेका थिए । छलफलमा सहभागी केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठका अनुसार अध्यक्ष खनाललाई उपाध्यक्ष राईले बुटवलमा सम्पन्न आठौँ महाधिवेशनको निर्णयअनुसार आफ्नो माग सम्बोधन गर्न माग गरे ।
तर, अध्यक्ष खनालले तत्काल सबै माग पूरा गर्न नसक्ने भन्दै उपाध्यक्ष राईसँग बाटो फरक भएको बताएका थिए ।
‘कामरेड, तपार्इंहरूको सबै माग पूरा गर्न सक्ने स्थिति छैन, अब आजदेखि हाम्रो बाटो फरक भयो,’ अध्यक्ष खनाललाई उद्धृत गर्दै श्रेष्ठले भने । अध्यक्ष खनालले माग पूरा गर्न नसक्ने बताएपछि उपाध्यक्ष राईले समेत अध्यक्ष खनाललाई ‘तपार्इंहरूसँग प्रतिस्पर्धा गर्न नयाँ पार्टी स्थापना गरेर जान्छौँ,’ भनेका थिए । ‘हाम्रो माग पूरा गर्न नसक्ने बताउनुभएपछि हामीले पनि कामरेड, बाटो अलग भयो, अब स्वस्थ प्रतिस्पर्धा गराँै भन्यौँ,’ श्रेष्ठले बिहीबार साँझ सौर्यसँग भने, ‘तपाईंहरूसँग प्रतिस्पर्धा गर्ने राष्ट्रिय पार्टी बनाएर जान्छौँ भनेर हामी फर्कियौँ ।’
नेता श्रेष्ठले अब नयाँ पार्टी बनाएर जाने निश्चित भएको बताए । ‘पार्टीको आठाँै महाधिवेशनले गरेको निर्णयलाई अध्यक्षले मान्दिनँ भनेपछि अब नयाँ पार्टी बनाउनुको विकल्प रहेन,’ उनले भने, ‘हिजोबाट हिसाब–किताब सकिएको छ ।’ नयाँ पार्टीको नेतृत्व उपाध्यक्ष राईले गर्ने भएका छन् । ‘अहिले निर्णय भएको छैन, छलफल जारी छ, सम्भवत: अशोक राईले नै गर्नुहुन्छ,’ श्रेष्ठले भने ।
उपाध्यक्ष राईले बिहीबार भृकुटीमण्डपमा आयोजित १८आँै आदिवासी दिवसलाई सम्बोधन गर्दै एमालेले आफ्नो मुद्दा सम्बोधन गर्ने सम्भावना सकिएको भन्दै नयाँ शक्ति निर्माण गरेर जाने बताएका थिए । असन्तुष्ट अर्का केन्द्रीय सदस्यले अजम्बर राई काङमाङले पनि नयाँ पार्टी बन्ने निश्चित भएको बताए । ‘हिजोको भेटमा अध्यक्षले पार्टीको आठौँ महाधिवेशनले पारित गरेको निर्णय कार्यान्वयन गराउन सक्दिनँ भनेर लाचारी प्रदर्शन गरेका छन्,’ राईले भने, ‘अब उत्पीडितहरूको नयाँ पार्टी बनाएर जान्छौँ ।’ आगामी असोजमा नयाँ पार्टी घोषणा हुन सक्ने उनको भनाइ छ ।
कस्तो छ तयारी ?
निरन्तर पार्टीको औपचारिक बैठक बहिष्कार गर्दै आएका असन्तुष्ट जनजाति नेताहरू यसअघिसम्म ‘पर्ख र हेर’को रणनीतिमा थिए । पार्टीले औपचारिक कदम चालेर कारबाही गरेपछि खुलेर पार्टी निर्माणमा लाग्ने योजनामा रहेका नेताहरू विस्तारै समानान्तर समिति बनाउँदै थिए । उनीहरूले त्यसलाई ‘न्युक्लियस’का रूपमा परिभाषित गर्दै आएका छन् ।
विद्यार्थी, युवा, महिला, सम्पर्क मञ्चहरूमा ‘न्युक्लियस’ निर्माण गरिसकेको बताइन्छ । स्रोतका अनुसार विद्यार्थीमा अनेरास्ववियुका सचिवालय सदस्य शैलेश लामाको संयोजकत्वमा विद्यार्थी न्युक्लियस बनाइएको छ । यस्तै सम्पर्क मञ्च, जिल्ला कमिटी र अन्य जनवर्गीय संगठनमा पनि भूमिगत शैलीमा ‘न्युक्लियस’ बनेको एक केन्द्रीय सदस्यले बताए । पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा, विजय सुब्बा, केन्द्रीय सदस्य रकम चेम्जोङ, अजम्बर राई काङमाङ, राजेन्द्र श्रेष्ठलगायत नेता विभिन्न जिम्मेवारी लिएर ‘न्युक्लियस’ निर्माणमा सक्रिय रहेको बताइन्छ ।
यस कारण रोके घोषणा
एमाले विद्रोही नेताहरूले नयाँ पार्टी बनाउने निश्चित भएपछि बिहीबार हुने भनिएको सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीको घोषणा स्थगन भएको थियो । आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाको विशेष पहलमा अन्तिम अवस्थामा पार्टी घोषणा रोकिएको हो । पार्टी घोषणासभाको ब्यानरसमेत तयार पारेर राखिएको थियो । नयाँ राजनीतिक शक्ति निर्माण कार्यदलका संयोजक एवं घोषणासभा संयोजक डा. चैतन्य सुब्बाले पनि एमाले उपाध्यक्ष अशोक राईसहितका नेताले पार्टी खोल्ने भनेपछि घोषणा स्थगन गरेको बताए । ‘नयाँ शक्ति निर्माणमा सहमति जनाउनुभएपछि घोषणा नगरिएको हो,’ उनले भने, ‘आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, कर्णाली र अन्य पिछडिएको वर्गको एउटै साझा पार्टी बनाएर जाने सहमति भएको छ ।’
“यो पार्टी घोषणा होइन”
डा. चैतन्य सुब्बालगायतले त्रिपुरेश्वरस्थित वल्र्ड ट्ेरड सेन्टरमा बिहीबार बिहान नयाँ पार्टी घोषणा गर्न भनेर सबैलाई निम्तोपत्र पठाएका थिए । कार्यक्रममा ठूलो संख्यामा पत्रकार उपस्थित थिए । राति अबेर मात्रै पार्टी घोषणा स्थगन गर्ने सहमति भएकाले कार्यक्रममा उपस्थित अधिकांश अन्योलमा परेका थिए । तर, कार्यक्रम सुरु हुनासाथ आदिवासी जनजाति महासंघका महासचिव तथा कार्यक्रमका उद्घोषक आङकाजी शेर्पाले पार्टी घोषणासभा नभएर प्रस्तावित घोषणापत्र र नाम सार्वजनिक गर्ने कार्यक्रम मात्रै रहेको जानकारी दिए ।
उनले कार्यक्रम सञ्चालनका क्रममा विभिन्न पत्रपत्रिकामा पार्टी घोषणा हुने लेखिएको उल्लेख गर्दै पटक–पटक पार्टी घोषणा नभई प्रस्तावित घोषणापत्र सार्वजनिक कार्यक्रम मात्र भएको बताएका थिए । ‘कसैलाई भ्रम नहोस् यो पार्टी घोषणा होइन प्रस्तावित नाम र घोषणापत्र छलफलका लागि सार्वजनिक गरिएको हो,’ उनले भने । घोषणापत्र निर्माणमा विशेष भूमिका रहेका पूर्वसभासद् पासाङ शेर्पाले बुधबार राति एमाले नेताहरूसँग भएको छलफलपछि घोषणालाई स्थगन गर्ने सहमति भएको बताए । तर, कार्यक्रममा दलसँग आबद्ध कुनै पनि शीर्ष नेता उपस्थित थिएनन् भने महासंघका अध्यक्ष राजकुमार लेखी पनि कार्यक्रममै आएनन् । उद्घोषकले उनलाई पटक–पटक मञ्चमा बोलाएका थिए । जातीय पार्टी घोषणामा उनले पहिल्यैदेखि असहमति जनाउँदै आएका छन् ।
समाजशास्त्री डा. कृष्ण भट्टचनले वाचन गरेको बहुल–राष्ट्रिय पार्टीको प्रस्तावित घोषणापत्र अपूरै रहेको कार्यदलका नेताहरूले नै बताएका छन् । ६ पृष्ठको घोषणापत्रलाई पूर्णता दिन सदस्यहरू थपिएको छ । सयजना थपिएको भनिए पनि सबैको नाम वाचन गरिएन । यस्तै, घोषणापत्रमा सुझाव दिनका लागि कार्यदलको तीन सदस्यको इमेल ठेगाना, फोन नम्बर र पत्राचार गर्ने ठेगाना पनि घोषणापत्रमै लेखिएको छ । तीन सदस्यको ठेगाना दिएर भनिएको छ, ‘प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीको घोषणापत्रका सम्बन्धमा यहाँहरूको महत्त्वपूर्ण सुझाव निम्न ठेगानामा ०६९ साल असोज १५ गतेभित्र दिनु भई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।’
तपाईको प्रतिक्रिया