बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

मैले कुनै विद्वानले कतै लेखेको एउटा सन्देश पढेको थिएँ— गरिबका इच्छाहरु पानीको फोकाझैं उठ्छन् र फुट्छन् । एउटा तन्नेरी जोश र उमङ्गमा यस्तै असंख्य इच्छा लिएर परदेशिएको थिएँ । बरु आफ्नै जोवन र यौवन पानीको फोकाझैं बन्यो, जेलभित्र बसेर…

टोकियो – एउटा सद्धे र निर्दोष मानिसलाई अनाहकको अभियोग लगाएर लगातार १५ वर्ष जेलको छिंडीमा थन्क्याउँदा उसको हविगत कस्तो होला ? कल्पनामात्रै गर्न सकिने यो हविगत बेहोरेका छन्— गोविन्दप्रसाद मैनालीले । अहिले राष्ट्रिय-अन्तर्राष्ट्रिय मिडियाको चासोमा रहेका इलाम, गोलाखर्क मूलघर भएका ४५ वर्षे मैनाली लामो तनाव, हैरानी र सास्ती बेहोरेर गत असार २ (जून १६) गते नेपाल फर्किएका छन् । जीवनका उर्वर र सपनामयी १५ वर्ष जेलमा थन्किए पनि उनको सपना र भोगाइको दुनियाँ आफ्नै छ । यसबेला उनको त्यो अनुभव र बिथोलिएको मनस्थितिले पनि आफैंमा धेरै कुरा बोलिरहेको छ । जेलमा छँदै पनि भेटेसम्मका पुस्तक पढ्ने र मनका गुम्फन डायरीमा उतार्ने बानी हुर्काएका मैनालीले आफ्नो जेल-दैनिकी सुनाउने क्रमको सुरुवातमै भने— ‘मैले कुनै विद्वानले कतै लेखेको एउटा सन्देश पढेको थिएँ— गरिबका इच्छाहरु पानीको फोकाझैं उठ्छन् र फुट्छन् । एउटा तन्नेरी जोश र उमङ्गमा यस्तै असंख्य इच्छा लिएर परदेशिएको थिएँ । बरु आफ्नै जोवन र यौवन पानीको फोकाझैं बन्यो, जेलभित्र बसेर…’

म १८ वर्षअघि जापान जाँदा इलाममा त के कुरा, काठमाडौंमै पनि सूचना-सञ्चारको सुविधा पर्याप्त थिएन । टेलिफोन र मोबाइलको पहुँच थिएन, बैंकहरूमा एटीएम कार्ड थिएन । (मलाई मोबाइल, एटीएम कार्ड चलाउनै आउँदैन आज पनि) । अहिले यहाँ मान्छेभन्दा बढी गाडी र मोटरसाइकलको घुइँचो लागेको रहेछ । रेष्टुराँ, होटल र चियाचमेना पसल त कति हो कति । उता जेलमा छँदा प्रायः जापानी स्टाइलको ‘मधुरो खान्की’ र उसिनेको झोल पदार्थ खाने बानी परेका कारण नेपाली दालभात र चर्कोपिरो खानेकुरा पचाउन सक्ने तागत अझै पलाएको छैन । सहजै निद्रा लाग्ने अभ्यास अझै हुर्केको छैन । (अर्को कुरा— उता जापानी जेलमा अधिकांश गोरा मान्छे देखेको थिएँ । यहाँ भने काला मान्छे, मोटाघाटा र अधिकांश डायबिटिज, ग्याष्टिकले सताइएका देखें, भेटें ।) जेलभित्र केही ब्राजिलियन र जापानी कैदीहरूसँग मेरो राम्रो सम्बन्ध थियो । उनीहरूसँग पनि जापानी भाषामै कुराकानी हुन्थ्यो । बोलीचालीमा सजिलो पनि यही (जापानी) लाग्थ्यो, अंग्रेजी बोल्ने त्यति प्रचलन थिएन । १५ वर्षसम्म नेपाली बोल्ने पूरै अभ्यास छुटेकाले अहिले म आफ्नो भाषा बोल्दा अड्किरहेको हुन्छु । म अहिले आफूलाई बदलिएको दैनिकीसँग ‘एडजस्ट’ गर्ने सक्दो प्रयत्नमा छु ।

म बसेको योकोहामा जेलमा १६ सय कैदी छन् । त्यसमा इरानी, चिनियाँ, ब्राजिलियनसमेत छन् । त्यो जेलमा पोखराका गुरुङ थरका एक कैदी पनि छन्, हत्या अभियोगमा परेका । खासमा टोकियोबाट ‘नेपाली समाचार’ भन्ने पत्रिका छापिन्थ्यो, त्यसबाट धेरै लोकल कुरा र नेपाली बारेका गतिविधि थाहा हुन्थ्यो । जेलभित्र १९ प्रकारका कारखाना (काम) थिए, तीमध्ये कहीं न कहीं काम गर्नैपर्ने हुन्छ । दैनिक आठ घन्टा काममा जानुपथ्र्यो । त्यही कामको आम्दानीले हामी कैदीलाई लुगाफाटो, खानपिन, पत्रपत्रिका, दबाइपानी आउने गथ्र्यो । सुरुका दिनमा मैले मेसिन (माथिदेखि तलसम्म लगाउने भाङ्ग्रो लुगा सिउने) चलाएँ । त्यसपछि लुगामा आइरन लगाउने काम पनि गरें । तर हातको कठिनाइका कारण त्यो काम गर्न नसक्ने भएर पछिल्ला वर्षहरूमा कागजको झोला प्याक गर्ने, बनाउने काम गथेर्ं । अरु हेरिकन यो धेरै सजिलो काम थियो ।

बेलुका ५ बजे खाना खाएपछि ९ बजेसम्म आफ्नै फ्री समय हुन्थ्यो, कोठामा । त्यो समयमा भने पुस्तक, पत्रिका पढ्ने र डायरी लेख्ने काम गर्थें । दिनभरिको कामकुरा र विशेषगरी चित्त नबुझेका कुरा म लेखिरहन्थें । सानो क्याबिन कोठामा सानो पुरानो टिभी पनि थियो । तर कन्ट्रोल-रुमबाट प्रसारित कार्यक्रममात्रै आउने गथ्र्यो । विशेषतः एनएचके एफएमबाट बिहान १२ बजेको समाचार रेकर्ड गरेर बेलुकी ६:४५ मा मात्रै सुनाइन्थ्यो । योकोहामा एफएमबाट बढीजसो अंग्रेजी गीतहरू बजिरहन्थ्यो । टोकियो एफएमले भने जापानी गीत बजाउँथ्यो । अंग्रेजी गीत भने रमाइलै लाग्थे, जापानी गीत भने सुन्नै नसकिने खालका दिग्दारलाग्दा हुन्थे ।

नेपालबाट श्रीमती राधा अथवा जापानी हितैषीहरू टोकियो गएका बेला मलाई अलिक चलेका र पठनीय किताबहरू लगिदिने गर्थे । रामायण, महाभारत, गीता पनि जेलभित्रै पढेको थिएँ । ‘पल्पसा क्याफे’देखि ‘मुलुक बाहिर म’सम्म मैले जेलमै पढेको छु । ‘जीवन काँडा कि फूल’देखि ‘छापामार युवतीको डायरी’सम्म पनि उतै पढें । विशेषतः बाहिरी मुलुकबारे लेखिएका, जीवनको कठिनाइ र संघर्षबारे लेखिएका, श्रमिक-कामदारको दुःखले भरिएका र जेल बारेमा लेखिएका पुस्तकमा मेरो चासो रहन्थ्यो । अनि ती पुस्तक पढेपछि कोही आफन्तमार्फत यता घरमै फिर्ता पठाउँथें । विशेषतः शनिबार र आइतबार साप्ताहिक छुट्टी हुन्थ्यो, त्यसबेला पुस्तक पढ्ने काम निकै हुन्थ्यो ।

जेलभित्र दौडने र केही खेल खेल्ने ठाउँ पनि थियो । जम्मा आधा घन्टाको समय त्यहाँ मिल्थ्यो । त्यहाँ एउटा हल पनि थियो । टोकियोमा केही नाम चलेका ‘याङ्खा’ (लोकगीत गायक/गायिका) हरू त्यो हलमा आएर कहिलेकाही गीत गाउँथे । त्यही हलमा जापानी धार्मिक गुरुहरू पनि आइरहन्थे । बुद्ध धर्मसम्बन्धी प्रवचन त्यहाँ चल्थ्यो, जहाँ इच्छाअनुसार जान मिल्थ्यो । म भने त्यहाँ गैरहन्थें, बुद्धलाई आफ्नै माटोका भगवान भन्ठानेर । तर धर्मगुरुले भने दोहोर्‍याउँदै ‘बुद्ध भारतमा जन्मिएका हुन्’ भन्ने गर्थे । त्यो सुनेर मेरो चित्त बुझ्दैनथ्यो । चित्त नबुझे पनि केही भन्न मिल्दैनथ्यो, किनभने म एउटा कैदी थिएँ । त्यही भावनालाई म बेलुकी डायरीमा लेख्थें । ‘बुद्ध भारतमा जन्मिएका हुन्’ भनेर जापानी पाठ्यक्रममा पनि लेखिएको छ । तर यसलाई सच्याउने काम कहीं कतैबाट पनि भएको छैन ।

विशेषतः गतवर्ष जुलाई ११ मा मेरो डीएनए परीक्षणको नतिजा आएपछि ‘योमिअरी सिम्बोन’ लगायतका पत्रिकाले मेरा बारेमा मुख्य समाचार बनाउन थालेका थिए । जेलभित्र अंग्रेजीमा ‘डेली योमिअरी’ पत्रिका पढ्न पाइन्थ्यो, यसको जापानी संस्करण पनि आउँथ्यो । त्रिपक्षीय (वादी, प्रतिवादी र अदालत) बहसका बारेमा पनि समाचार आइरहन्थ्यो । बिहान १० बजे त्यो समाचार पढ्ने समय मिल्थ्यो । त्यहाँ मेरा बारेमा समाचार आउन थालेपछि मलाई धेरैले चिन्न थालेका थिए ।

गत जुन ७ तारिखमा मेरो ‘रिट्रायल’ र जेलमुक्तिको निर्णय एकैचोटी आइसक्दा पनि मलाई गर्ने जेल प्रशासनको व्यवहारमा कुनै अन्तर आएको थिएन । जून ७ तारिख (जेठ २५ गते) बिहान कामबाट फिरेर १० बजे खाना खाएपछि बेग्लै भेटघाट कक्षमा पुगेर वकिल कान्दालाई भेट्न पाएको थिएँ, उनैले अदालतको पछिल्लो समाचार सुनाएका थिए । त्यसपछि म फेरि कारखाना फिरें । १२ बजेको खाना खाइसकेपछि कैदी मित्रहरूसँग गफगाफ (क्युके) समयमा आफ्ना पक्षमा आएको अदालतको फैसला सुनाउँदै मैले हठात भनें— ‘बान्जाइ, बान्जाइ !’ (जय, जय) । अरु साथै उभिएका कैदी साथीहरूले पनि ताली पड्काउँदै ‘बान्जाइ, बान्जाइ’ भनिरहे ।

फेरि फर्केर कारखानामा काम गरिरहेका बेला एकैचोटी ३ बजेतिर जेलरले मलाई ‘टोपी लिएर आइज’ भन्यो । अनि सरासर मेरो कोठामा लग्यो र ‘अब सबै सामान मिलाएर प्याक गर्’ भन्यो । अब टोकियो अध्यागमन ब्युरोमा लैजाला भन्ने लागेको थियो । तर योकोहामा अध्यागमन लग्यो । सन् १९९४ देखि सन् १९९७ सम्मको ‘ओभरस्टे’को मेरो कागजी प्रकृया मिलाउन अध्यागमन लगिएको रहेछ ।

जेलमा आउने योमिअरी लगायतका प्रमुख पत्रिकाहरूले नेपाल बारेका ठूला खबर र समाचारहरू दिइरहेका हुन्थे । माओवादी क्रान्ति, राजतन्त्रको अन्त, गणतन्त्रको उदय, प्रचण्डजस्ता नयाँ नेता उदाएका खबरहरू केही पत्रपत्रिकामा आउने गर्थे । यसकारण नेपालको राजनीतिक घटनाक्रममा पनि त्यति अनभिज्ञ थिइन म । यसबाहेक काठमाडौंबाट मासिक रूपमा एकैचोटी भेला गरिएको कान्तिपुर दैनिक पत्रिका र हिमाल पाक्षिक पत्रिका जेलमा पुग्ने गथ्र्यो । यसबाट म नेपालको सामाजिक, राजनीतिक वस्तुस्थिति नजिकैबाट बुझ्न पाइरहेको हुन्थें । यही कारण यहाँका राजनीतिक नेताहरूको चित्र-चरित्र मैले नजिकैबाट बुझ्न पाएको छु, जेल बसेर पनि ।

सन् २००० मा जिल्ला अदालतबाट मलाई लगाइएको अभियोगको मुद्दा जितेपछि पनि फेरि मलाई हिरासतमा राखिएको थियो । त्यही बेला गोविन्द सहयोग समिति बनेको थियो । मलाई शुभेच्छा राखेर, आस्था राखेर भेट्न आउनेलाई म बारम्बार भनिरहेको हुन्थें— ‘म निर्दोष छु, मेरो आँखा पढ्नुहोस्, मलाई सहयोग गर्नुस् ।’ नेपालबाट कुन्द दीक्षित, सिके लाल, कपिल श्रेष्ठ, सुदीप पाठकले जेलमै गएर मलाई भेट्नुभएको थियो । राजदूतकै तहमा भने अस्ति म अध्यागमन ब्युरोमा पुगेपछि टोकियोस्थित राजदूत मदनकुमार भट्टराई भेट्न आउनुभएको थियो । तत्कालीन राजदूत केदारभक्त माथेमाले म जेलमा छँदै व्यक्तिगत रूपमा मेरो स्थिति बारेमा राखेको चासो र सद्भाव भुल्नै नसकिने छ । (उहाँले गीतासहितका धार्मिक पुस्तक पनि मलाई पठाउनुभएको थियो ।) जेलमा छँदा कोही भेट्न आएमा बीचमा पारदर्शी सिसाको पर्खाल भएको एउटा ‘मिटिङ-रुम’मा लगिन्थ्यो । त्यहाँ एकअर्काको बोली सुनिन्थ्यो, तर एकअर्कालाई छुन पाइन्नथ्यो । सिसाको भित्तोमा दुबैतर्फबाट यसो हातले छोएर एकअर्काको संवेदना साटेजस्तो गरिन्थ्यो । त्यो भेटघाट पनि १५ मिनेटमा सिध्याउनुपथ्र्यो ।

अर्को सम्झँदैमा अनौठो लाग्ने सन्दर्भ भने मेरो सपनाको हो । दिनभर कारखानामा व्यस्त रहे पनि अथवा जापानी सहयोगी साथीहरूसँग भेटघाट गरिरहेको भए पनि म सपनामा भने आफ्नै गाउँ इलाम, गोलाखर्कमात्रै देखिरहेको हुन्थें । आफ्ना स्वर्गीय आफन्तजन र साथीभाइलाई सपनामा देख्थें । त्यत्तिका वर्ष जापानमा बस्दा, जापानी भाषा बोलिरहेका बेला पनि जापानी सहर, साथीभाइ सपनामा कहिल्यै पनि देखिन । त्यो सम्झँदा अचम्म लाग्छ ।

मेरो मुद्दामा अहिले पुनरावलोकन (रिट्रायल) को स्थितिमात्रै रहेको छ । अब जतिसक्दो छिटो यो मुद्दाले अन्तिम फैसला पाउने विश्वास मैले लिएको छु । छिट्टै आफूले पूर्ण न्याय पाउने र बाँकी जीवनलाई योजनाबद्ध ढङ्गमा अघि बढाउने सोचाइ मैले बनाएको छु । मुद्दा किनारा लागेपछि विदेशका जेलहरूमा रहेका नेपालीको यथास्थिति पहिल्याउने र मानवीय आधारमा तिनका पक्षमा आवाज उठाउन अभियान चलाउने हो कि भन्ने सोचिरहेको छु । विदेशमा बसेका तर अलपत्र स्थिति बेहोर्ने अथवा जेलमा रहेका, दुःख पाइरहेका नेपालीहरूको यथास्थितिमात्रै पत्ता लगाउन सकियो भने पनि धेरै ठूलो काम हुनसक्छ भन्ने लागेको छ । तर यो अहिलेको काँचो र तत्कालिक सोचाइमात्रै हो ।

हो, उता जेलमा हुँदा म खुबै पुस्तक पढ्ने गर्थें, डायरी पनि लेखिरहको हुन्थें । सन् १९९७ देखि त्यसको तीन वर्षसम्म भने आज छुटिएला, भोलि छुटिएला भन्दै केही पनि गरिन । तर त्यसपछि भने आजीवन कारावासकै फैसला सुन्नासाथै आफ्नो दिनचर्या केही भिन्न बनाउन चाहें । विशेषतः बीपी कोइरालाको ‘जेल जर्नल’ पढ्न पाएपछि भने जेलमा बसेर पनि केही लेख्न सकिने रहेछ भनेर मैले डायरी टिप्न थालेको हुँ । मेरो लिखित-डायरीको संकलन अहिले आफूसँगै छ । यसमा कतिपय भावुकता, कतिपय अपनत्वका कुरा र धेरैजसो जेलभित्रको दैनिकी समेटिएको छ । अब भने आफ्ना ती भोगाइ र दिनहरूको स्मरण गर्दै र डायरीका पानाहरू पल्टाउँदै गहकिलो जेल-अनुभव लेख्ने इच्छा जागेको छ । सायद अबका दिनहरू यसैगरी बित्लान् ।

साभारः कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया