काठमाण्डौं- भारतीय योगगुरु रामदेवको व्यावसायिक सञ्जालले अर्वैध रुपमा औषधि लगायतको कारोबार गरिरहेको थाहा हुन आएको छ ।
सञ्जालले हरिद्धारस्थित पतञ्जली आयुर्वेदका औषधि दर्ता नगरी कारोबार गर्नुका साथै शृंगार र खाद्यान्न समेत औषधि भनेर भित्र्याउने गरेको पाईएको छ ।
साढे पाँच बर्षअघि यहाँ दर्ता भएको पतञ्जली आयुर्वेद केन्द्रले २ शाखा र २५ सेवा केन्द्र मार्फत हरिद्धारमा उत्पादित बस्तुको कारोबार गर्दछ । कम्तीमा २६ प्रकारका औषधि नेपालमा दर्ता नगरी बिक्री गरिरहेको छ । ‘रामदेव सम्बद्ध दिव्य फार्मेसीका उत्पादन दर्ता भएपनि पतञ्जली आयुर्वेदका कुनै पनि औषधि दर्ता छैनन – श्रोतले भन्यो ।
मुलुकमा औषधिको कारोबार गर्न औषधि व्यवस्था विभागबाट स्वीकृत लिनुपर्छ । विभागका वरिष्ठ फर्मासिस्ट पानबहादुर क्षेत्रीका अनुसार उत्पादक कम्पनी दर्ता गर्न ५० हजार रुपैंया शुल्क तिर्नुपर्छ । यसबाहेक प्रत्येक औषधि २ हजार ७ सय रुपैंया तिरेर दर्ता गरी १ हजार ३ सय ५० रुपैंया तिरेर हरेक वर्ष नवीकरण गर्नुपर्छ । ***