Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सुशील पौडेल
काठमाडौ- म्युजिक कम्पनी सञ्चालक र दूरसञ्चारका केही कर्मचारीको मिलेमतोमा मोबाइल प्रयोगकर्ताको पासवर्ड अवैध प्रयोग गरी कलर रिङ ब्याक टोन (सीआरबीटी) चोरी हुने गरेको छ । सुन्दै नसुनेका गीत हजारौं पटक डाउनलोड हुन तथा सीआरबीटी सेवा नै नलिएका उपभोक्ताको मोबाइलमा त्यसबापतको पैसा काटिन थालेपछि यस्तो खुलेको हो ।
सीआरबीटी डाउनलोडको कान्तिपुरलाई प्राप्त रेकर्डमा बढी मात्रामा दुई व्यक्तिका नाममा रहेका इन्टरनेट सेवा प्रयोग भएको पाइएको छ । तिनीहरूका आईपी (इन्टरनेट प्रोटोकल) एड्रेस पहिचान गर्दा विमलेश झा र दीपक श्रेष्ठका नाममा दर्जनौं डाउनलोड गर्ने सेन्टर पाइएका छन् । विमलेशको ठेगानामा नेपाल टेलिकम आईटी डाइरेक्टोरेट, पुल्चोक ललितपुर लेखिएको छ । उनको फोन ५५४४१३२, फ्याक्स ५५४५८७८ छ । त्यस्तै दीपकको ठेगाना सुबिसु केबल नेट, पोस्ट बक्स नम्बर ६६२६, काठमाडौं र फोन नम्बर ४४२९६१६ छ ।
उनीहरूका दर्जनौं आईपीवाला इन्टरनेट छन् । तिनीहरूबाट एक मिनेटमै ९ वटासम्म सीआरबीटी डाउनलोड गरिएका छन्, ती पनि एउटै गीत । त्यसका लागि उनीहरूले अरू व्यक्तिका पोस्टपेड मोबाइल नम्बर प्रयोग गरेका छन् । त्यस्ता नम्बर सकेसम्म लगातार छन् । उही आईपीबाट एउटै गीत लगातारका नम्बरबाट भटाभट डाउनलोड गर्नुले गिरोहको चलखेल पुष्टि भएको हो ।
सीआरबीटीका लागि एउटा गीत राखेबापत उपभोक्ताको १२ रुपैयाँ ४३ पैसा काटिन्छ । त्यसमा २.४३ रुपैयाँ कर हो । बाँकी १० मा ५ रुपैयाँ टेलिकमलाई जान्छ भने ५ रुपैयाँबाट म्युजिक कम्पनीले ३.७६ रुपैयाँ पाउने गरेका छन् । बाँकी पैसा सीआरबीटी उपलब्ध गराउने डिजिटल प्लेटर्फमले लिन्छन् । नेपालमा म्युजिक नेपाल, हाइलाइट्स, आप्का, हनी र डिजिटेनमेन्ट गरी पाँच डिजिटल प्लेटर्फम छन् । गिरोहले अर्काको मोबाइलबाट पैसा काट्ने गरी डाउनलोड गरेका सबै गीत म्युजिक नेपाल प्लेटर्फममार्फतका छन् ।
म्युजिक कम्पनीवालाले नै आफूद्वारा उत्पादित गीत रातारात अर्काको मोबाइलबाट डाउनलोड गर्ने गरेको प्रमाण कान्तिपुरले फेला पारेको छ । समर्पण म्युजिक सञ्चालक तथा गायक यामबहादुर छेत्रीले विष्णु माझीसँग गाएको गीत ‘शीतल दिने पीपल समी छ’ एक घन्टामा १०९ पटक एउटै स्रोतबाट डाउनलोड भएको छ । ‘धेरै कम्पनी र गायकगायिकाले यस्तो खेती गरेका छन्,’ टेलिकम स्रोतले कान्तिपुरसित भन्यो, ‘पछिल्लो समय अचानक बढेको उनीहरूको हैसियतले पनि यसलाई पुष्टि गर्छ । बजारमा सुन्दै नसुनिएका गीत हजारौं पल्ट डाउनलोड हुनु र एकै समयमा हुनु नै त्यसको प्रमाण काफी छ ।’
नेपाल टेलिकमको सीआरबीटी चार्टमा आशिष, समर्पण, तिर्सना, रक्षा, पुष्पान्जली, श्रोतासंगीत म्युजिकका गीत यस्ता गिरोहले बढी डाउनलोड गरेका छन् । आशिष म्युजिकको ‘आकाश जूनकै हो’ बोलको गीत एक वर्षमा एक लाख ६४ हजारले सीआरबीटी राखेका छन् । सीआरबीटी डाउनलोड हुनेमा छैटौं स्थानमा आउने उक्त गीत अन्जु पन्तको चर्चित गीत ‘नबिर्से तिमीलाई…’ भन्दा केही हजारले मात्रै कमी हो । पछिल्लो समय आशिष र समर्पण म्युजिकका प्रायः गीत हप्ता दिनमा चार हजारका हाराहारीमा डाउनलोड गरिएको भेटिएको छ । आशिषका सञ्चालक रामजी पन्त यस्तो ठगीबारे आफूलाई जानकारी नभएको बताउँछन् । ‘कसैले चोरेको सप्रमाण पेस गर्छ भने कारबाही होस्,’ उनले भने ।
यस्तो धन्दा टेलिकमकै सीआरबीटी वेबसाइट प्रयोग गरी हुने गरेको छ । गिरोहले गीत डाउनलोड गर्ने, पैसा घटाउने तर मोबाइलमा नबज्ने बनाइदिने गरेका छन् । पोस्टपेडमा तुरुन्त ब्यालेन्स चेक गर्ने सुविधा नहुने र सीआरबीटीको गीत पनि नबज्ने भएकाले सम्बन्धित उपभोक्ताले पत्तै पाउँदैनन् । यसअघि एउटा मोबाइल नम्बरबाट दस जनासम्मलाई सीआरबीटी उपहार दिन मिल्थ्यो । यसबाट पीडितका उजुरी बाक्लिन थालेपछि नेपाल टेलिकमले ‘गिफ्ट अप्सन’ हटाएको थियो ।
टेलिकमको सीआरबीटी सुरक्षा प्रणाली खेलाँचीपूर्ण हुनु र त्यहींका कर्मचारीसमेतको मिलेमतो हुनुले पनि यो व्यवसाय फस्टाउन सजिलो भएको छ । सीआरबीटीका लागि उसले दिने ६ वटा अंकका पासवर्ड प्रायः लगातारका हुन्छन् । जस्तो- १२३४५६ वा २३४५६७ वा ३४५६७८ वा ४५६७८९ आदि । नयाँ नम्बरमा अन्दाजमा पासवर्ड प्रयास गर्ने हो भने पहिलोपल्टै मिल्ने सम्भावना ९० प्रतिशतभन्दा बढी हुन्छ । पासवर्ड मिलेपछि गिरोहले परिवर्तन गरिदिन्छन्, जसले सम्बन्धित व्यक्तिले उपयोग गर्नसमेत सक्दैनन् ।
‘हाम्रै पहलमा दसवटा गिफ्ट दिन मिल्ने नियम हटाउन लगाई एउटामा सीमित गरायौं । त्यसपछि पनि चोरी रोकिएन,’ संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढा भन्छन्, ‘अनि गिफ्ट अप्सन नै हटाउनुपर्‍यो ।’
त्यसले पनि रोकिएन धन्दा !
‘चोरी बढेकोबारे हामीले सञ्चार मन्त्रालयदेखि प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालय र सीआरबीटी सेवा प्रदायक टेलिकमहरूलाई समेत पत्राचार गरिसकेका छौं,’ बुढाले भने, ‘आफ्नै मोबाइलबाहेक अन्य माध्यमबाट डाउनलोड गर्नै नमिल्ने नियम हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
आफ्नो मोबाइल नम्बरबाट पटक-पटक अर्काले सीआरबीटी डाउनलोड गरेको अनुभव भएका लोकगायक बमबहादुर कार्की यसमा ‘ठूलो गिरोह’ को चलखेल रहेको बताउँछन् । उनी भन्छन्, ‘सबैलाई यस्तो अनियमितताबारे थाहा छ । किन कारबाही हुँदैन ?’ रक्षा म्युजिकले उत्पादन गरेको ‘घाइते मुटु दुख्छ’ बोलको गीत उनको मोबाइलमा पटक-पटक सीआरबीटीका रूपमा डाउनलोड भयो । ब्यालेन्स यति घट्यो कि उनी चकितै भए ।
कान्तिपुरलाई प्राप्त रेकर्डमा भएका नम्बरमध्ये केहीमा सम्पर्क गरियो । काँडाघारीका पुष्कर कार्की र बूढानीलकण्ठका सुशील लामिछानेलाई आफ्नो नम्बरबाट अर्काले सीआरबीटी डाउनलोड गरी पैसा घटाइदिइरहेको पत्तै रहेनछ । ‘म्यासेज आएको त थियो,’ सुशीलले भने, ‘टेलिकमको प्राविधिक गडबडी होला भनेर वास्तै गरेको थिइनँ ।’ आफ्नो पैसा काटिएको जानकारी दिएकामा पुष्करले भने ‘धन्यवाद’ दिए । ‘अब के गर्नु पर्ला ?’ उनले उल्टै सोधे ।
यसअघि अवैध रूपमा अरूकामा डाउनलोड गरेका कारण १४ वटा गीतलाई टेलिकमले ब्लक गरेको थियो । त्यस्तो गल्ती नगर्ने सर्तमा फेरि खोलिएको थियो ।
डाउनलोड गरिएका आईपी एड्रेस
विमलेश झाका
४९.२४४.११६.२२४
४९.२४४.११६.१०५
४९.२४४.८०.१८४
४९.२४४.१५८.१३७
४९.२४४.८७.१६८
४९.२४४.१३८.८२
४९.२४४.१८८.२३९
४९.२४४.५०.४८
४९.२४४.२७.७६
४९.२४४.१५५.१६१
४९.२४४.२८.१०६
४९.२४४.१८०.५०
४९.२४४.६३.२०
४९.२४४.१७२.१५१
४९.२४४.१८८.१४४
४९.२४४.१२.२५२
४९.२४४.१६१.२२८
४९.२४४.१३.७७
४९.२४४.१३.११४
४९.२४४.१०३.१५३
४९.२४४.१७१.२२८
दीपक श्रेष्ठका
११०.३४.२३.२०१
११०.३४.१६.२५०
१८२.९३.६८.३७
११०.३४.२३.१७६
११०.३४.१६.२१९
११०.३४.२३.१६९
११०.३४.२३.२४४
तपाईको प्रतिक्रिया