शुक्रबार, फाल्गुण ११, २०८०
Friday, February 23, 2024
  • मर्लास् नि, मोरो! केही दिनअघि गौशालाको भीडभाडमा एक युवती एकजना पुरुषको कठालो समातेर गर्जिँदै थिइन्। उसले भीडभाडको मौका छोपेर ती युवतीको पुष्ट स्तनमा हात पुर्‍याएको थियो। मानिसहरू तमासेका रूपमा उभिएका थिए। युवती प्रतिरक्षा गर्न समर्थ थिइन्। तर, तमासेप्रति उनको आक्रोश कम थिएन। ‘थुइक्क हुतिहाराहरू!’ भन्दै उनी भीडबाट बाहिरिएकी थिइन्।  बढ्दो आधुनिकीकरणसँगै काठमाडौँमा अनेकन् सामाजिक समस्या थपिएका छन्। गुन्डाहरूले महिलाका गलाको सिक्री र कानको टप लुटेर भाग्ने घटना पुराना भइसके। पाकेटमाराका कथा पनि सामान्य भइसके। अब अहिले यस्तो समस्या देखापरेको छ, जसमा धेरैको ध्यान गएको छैन। सार्वजनिक सवारी साधनमा युवतीको यौवनसँग पुरुषले गर्ने कामुक छेडखानीले अहिले विकराल रूप लिनथालेको छ। यो समस्यामा न त सरकारले ध्यान दिएको छ, न त समाज नै सजग र सतर्क छ। स्वरूप आचार्यको रिपोर्टः
 ‘रत्नपार्कबाट कीर्तिपुर जाने माइक्रोबसमा मेरो छेउमा एकजना अधबैँसे भिक्षु बसेका थिए। कालीमाटी पुगेपछि कन्डक्टरलाई मैले पाँच सयको नोट दिएँ। कन्डक्टरसँग चेन्ज नभएकाले उनले कोही पेसेन्जरसँग भए साटिदिन आग्रह गरे। भिक्षुले पाँच सयको नोट साटिदिने भए। मैले भिक्षुलाई पैसा दिएँ। उनी मुस्कुराए। मैले पनि मुस्कुराएर धन्यवाद भनँे। केही बेरपछि मेरो तिघ्रामाथि केही सलबलाएको अनुभव गरेँ। भिक्षुको हात मेरो तिघ्रामाथि सलबलाइरहेको थियो। म अक्क न बक्क भएँ। एकपटक उनलाई आँखा तरेँ। उसले मुस्काउँदै हात हटायो। मलाई के गरूँ, के गरूँ भयो। म टियुको गेटमै ओर्लिएँ। दिनभर तनावग्रस्त भएँ। एकाग्रतापूर्वक पढाउनै सकिनँ।’
यस्तो कटु अनुभव गरेकी कीर्तिपुर निवासी त्रिभुवन विश्वविद्यालयकी लेक्चरर अहिले सार्वजनिक यातायातमा सवारी गर्नु पर्‍यो कि मुख बिगार्छिन्। उनलाई सकेसम्म अफिस टाइममा गाडी चढ्न मनै लाग्दैन। प्रायः श्रीमान्ले नै उनलाई पिकअप र ड्रप गर्ने गरेका छन्।
राजधानीको भीडभाडमा धेरै महिला आफूलाई असुरक्षित महसुस गर्छन्। काठमाडौँमा बढेको जनसंख्यासँगै मान्छेको नियत र स्वभावमा पनि ठूलै अन्तर आएको छ। भीडभाडमा मौका छोपेर हुने दुर्व्यवहारले महिलाहरू आजित भएका छन्। बिहान-बेलुका अफिस टाइममा सकेसम्म सार्वजनिक सवारी साधनको प्रयोग नै गर्न नपरे हुन्थ्यो भन्ने सोच्न थालेका छन् उनीहरू।
बुढानिलकण्ठ निवासी कुमारी लामाको अनुभव झन् तितो छ। उनलाई बिहानै कलेज पुग्नुपर्छ। भीडभाडमा धक्कामुक्की भनेको सामान्य नै भइहाल्यो। तर, कहिलेकाहीँ गाडी खाली हुँदा अन्य कलेजका केटाहरूले धुर्कापानी खेलाउँछन्। ‘कहिले पछाडिबाट कपाल तान्छन्, नानाभाँती तरिकाले जिस्क्याउँछन् त कहिले सँगै बसेरै र्‍याक हान्छन्,’ उनी झोक्किँदै भन्छिन्, ‘यस्ता केटाहरूको मुख लाग्यो भने आफँैलाई सास्ती हुन्छ। त्यसमाथि ड्राइभर, कन्डक्टर र अरू पेसेन्जर मूक दर्शक भइदिँदा झन् तनाव हुन्छ। बरू म कानमा इयरफोन कोच्छु र सुनेको नसुन्यै गर्छु।’
कलेज जाने केटीमात्र होइनन्, यस्तो दुर्व्यवहारका सिकार कामकाजी महिला पनि हुन्छन्। साँझ कामबाट फर्कनेहरूका लागि समस्या नै हो यो। गौशालाको एक फ्यान्सी पसलमा सेल्स गर्लको रूपमा काम गर्ने मनिका फुयाल घर फर्किँदा साँझको ७/८ बज्छ। जोरपाटीको नयाँ बस्ती पुग्नुपर्ने उनले गाडीभित्रको ठेलमठेल दिनहुँजसो झेल्छिन्। एकपटक उनी ड्राइभर छेवैको सिटमा बसेकी थिइन् रे। ‘मेरो साइडमा एकजना बुढोबुढो मधिसे आएर बसेको थियो,’ उनी सम्झन्छिन्, ‘म आफ्नै तालमा थिएँ। पछाडिपट्टि सकसक भएजस्तो लाग्यो। यसो हेरेको त त्यो बुढोको हातले मेरो सर्ट पो समातिराखेको देखेँ। के भयो दाइ भनेर सोधेँ। उसले सुन्या नसुन्यै गर्‍यो।’ एकछिन त उनी चुप लागिछन् । हात झनै गुजुगुजु गर्दै माथितिर बढ्न थाल्यो रे। त्यसपछि उनले त्यस व्यक्तिको हात च्याप्प समातेर हुत्याइदिइन्। त्यो मान्छे चुइँक्क पनि बोलेन। तर, एकछिनपछि त फेरि उसले आफ्नो खुट्टाले मनिकाको खुट्टालाई चलाउन थालेछ। उनी परपर हट्न थालिन्। ‘अति भएपछि मैले ‘तपाईँ राम्रोसँग बस्नुस् है दाइ’ मात्र के भनेकी थिएँ,’ उनी आफूले भोगेको दुर्व्यवहार कहन्छिन्, ‘ऊ त उल्टै निहुँ पो खोज्न थाल्यो। पानीमाथिको ओभानो बन्न खोज्यो। म त डरले बोल्नै नसक्ने भएकी थिएँ। धन्न ड्राइभरले सबै कुरा देखेको रैछ । त्यसलाई झपारेर गाडीबाट झारिदियो। त्यस रात त्यस्तो दुर्व्यवहार सम्झेर खुब रोएँ।’ शहरका थुप्रै युवतीका हालत मनिकाको जस्तै हुने गरेको छ।
बसुन्धराकी २७ वर्षीया, इन्दिरामाया तामाङले पनि सार्वजनिक गाडीमा यस्तै खालको घटिया मानिससँग कोल्ड वार परेको अनुभव सुनाइन्, ‘मेरो छेउमा एउटा अधबैँसे ठिटो बसेको थियो। त्यसले मलाई गाडी चढेदेखि नै हेरेको हेर्‍यै गरेको चाल पाएकी थिएँ। हेरिराखोस् भन्दै म आफ्नै सुरमा बसिराखेकी थिएँ। तर, त्यसले ‘हाईईई…’ गर्दै मेरो पछाडिपटि पो हात तेर्स्यायो। मैले पनि उफ् गर्दै मुठ्ठी पड्काएँ। झ्यालबाट बाहिर हेरिरहेको थिएँ। त्यसले मेरो थाईमा हात राख्यो। मैले गोलभेँडाजत्रा आँखा पल्टाएर हेरेँ। त्यसले हत्तपत्त हात हटायो। छिट्टै सबक सिकेछ भन्ठानेर ढुक्क भएकी थिएँ। त्यसले त मुन्तिरबाट मेरो थाईमा बेस्सरी चिमोट्यो। मलाई सहिनसक्नुभयो। त्यसको खुट्टामा कच्याक्क कुल्चेर गाडीबाट ओलर्ेँ।’
लोकल गाडीमा आउजाउ गर्दा मतिभ्रष्ट प्यासेन्जर थुप्रै भेटिन्छन्। तर लामो दूरीको यात्रा गर्दा भने ड्राइभर र कन्डक्टरसमेत केटीलाई र्‍याक हान्ने कुरामा पछि पर्दैनन्। नागरिकता बनाउन भोजपुर जाँदा सुलोचना प्रधानले यस्तै ड्राइभरको सामना गर्नुपरेको थियो। सिट नपाएर ड्राइभरकै क्याबिनमा बस्न पुगिन् उनी। अपर्झट परेर जानैपर्ने पत्तो पाएको ड्राइभरले प्रधानलाई आधा बाटोमा पुगेपछि तिघ्रा सुमसुम्याउन थालेछ। उनको छेउमा इन्डियन आर्मीका अवकाशप्राप्त लाहुरे दाइ रहेछन्। उनले सुईँको पाएपछि सिट चेन्ज गर्न लगाएछन्। त्यही भएर आड पाइछन्। ‘नत्र त रात्री बसमा सबै प्यासेन्जर आ-आफ्नै धुनमा मस्त थिए। त्यही मौकाको फाइदा उठाउन त्यसको हातमा किरा पर्न लागेको थियो,’ सुलोचनाले आक्रोशित हुँदै भनिन्।
महिला एक्लै हुँदा मात्र दुर्व्यवहारको सिकार हुन्छन् भन्ने छैन। बल्खु निवासी आकांक्षा भट्टको अनुभवले यस्तै भन्छ, ‘म एकपटक श्रीमान्सँग भक्तपुर गएकी थिएँ। श्रीमान् बाइक पार्क गर्ने ठाउँ खोज्दै हुनुहुन्थ्यो। म केही पाइलाअगाडिमात्र के बढेकी थिएँ, झाडी पछाडिबाट कसैले बोलाएको जस्तो लाग्यो। हेरेको त एकजना अधबैँसे पुरुष आफ्नो गुप्तांग खेलाउँदै मलाई इसारा गर्दै थियो। मेरो त सातो गयो। श्रीमान्लाई भनेँ। उहाँले छोड्दे पागल होला भन्नुभयो।’
छात्राहरूले बेहोरेका दुर्व्यवहार वयान गरी साध्य छैन। एक छात्रा आक्रोशित हुँदै भन्छिन्, ‘साथीहरूसँग हिँडिरहेकै बेला कतिपटक छिल्लिएका केटाहरूले मेरो छाती र हिपमा हात मारेका छन्। झपेटो मारेर के रामाइलो हुने हो। सम मेन आर सिक।’
महिलामाथि हुने यस्ता दुर्व्यवहारलाई ‘इभ टिजिङ’ भनिन्छ। इभ टिजिङ नेपाललगायत दक्षिण एसियाकै ठूलो समस्या हो। भारत, बंगलादेश र पाकिस्तानजस्ता मुलुकमा यो अझ भयावह छ। भारतको दिल्ली र मुम्बईमा यो समाजको ठूलै टाउको दुखाइ भएको छ। त्यहाँ इभ टिजिङकै कारण धेरै महिलाले आत्महत्यासमेत गरेका छन्। भारतमा इभ टिजिङलाई रोक्न छुट्टै कानुनसमेत बनेको छ। तथापि इभ टिजिङ झन् झन् विकराल हुँदै गएको छ।
मनोचिकित्सकका अनुसार इभ टिजिङ हतास र कुण्ठित मानसिकताको उपज हो। यो अब्सेसिभ कम्पल्सिभ डिसअर्डर भएका व्यक्तिहरूले गर्छन्। तर, कतिपय युवाले देखाउने यस्ता व्यवहार भने उमेरले गर्दा पनि हुन्छ। दुर्व्यवहारमा संलग्न सबैजना मानसिक रोगी नै हुन्छन् भन्ने छैन। कतिले केटीहरूलाई दुःख दिएर रमाइलो गर्नका लागि मात्र पनि यस्तो गरेको पाइन्छ भने कतिपय अधबैँसे पुरुषले गर्ने यस्तो व्यवहार सेक्सुअल फ्रस्ट्रेसनका कारण पनि हुन्छ।
गाडीमा सजिलोसँग उभिने ठाउँ हँुदाहुँदै पनि ‘नियत खराब’ भएकाहरू जबर्जस्ती केटीहरूसँग टाँसिन पुग्छन्। तिनीहरूले बसको डन्डी समात्ने निहुँमा युवतीको जिउतिर हात लम्काइरहेका हुन्छन्। गुरुजीले झ्याप्प ब्रेक हान्दा युवतीको ढाड वा कुनै अंग समात्न उनीहरू स्ट्यान्डबाई पोजिसनमा रहेका हुन्छन्। आफ्नो यौन कुण्ठालाई वशमा राख्न नसक्नेहरू सिटमा बस्दा पनि हाई काढ्दै साइडकी केटीको तिघ्रामा हात राख्न पुग्छन्, जानीजानी। यो सब खराब नियतको परिणाम हो।
काठमाडौँ प्रहरी परिसरका डिएसपी धिरजप्रताप सिंहका अनुसार यस्ता दुर्व्यवहारका घटना थोरैले मात्रै उजुरी गर्छन्। गत छ महिनाको तथ्यांकलाई आधार बनाउने हो भने ७ वटामात्र उजुरी परेका छन्, जसमा ११ जनालाई कारबाही भएको छ। यस्ता कार्यमा २० देखी ४५ वर्ष उमेर सम्मका मानिस संलग्न देखिएका छन्। दुर्व्यवहार गरेको उजुरीलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही गर्ने गरिएको छ। यस्ता कुकृत्य गर्नेलाई २८ हजार रुपैयाँ जरिवानादेखि ६ महिनासम्म कैद वा दुवै हुनसक्छ। डिएसपी सिंह भन्छन्, ‘ प्रायः घटनामा वरपर उपस्थित भीडले नै दुईचार चड्कन लगाएर टिजिङ गर्नेलाई छोड्ने गरेका छन्। पीडित पक्षले खासै उजुरबाजुर नगर्ने हुँदा कारबाही हुन नसकेको हो।’ उनका अनुसार धेरैजसो महिला सिधै प्रहरीकहाँ आउनुभन्दा महिला अधिकारकर्मी वा सभासद्कहाँ जाने गरेका छन्। त्यसपछिमात्रै पीडित महिला प्रहरीकहाँ पुग्छन्।
अधिकारकर्मीले महिलाविरुद्धको हिंसाबारे चर्का कुरा गरे पनि इभ टिजिङका बारेमा भने खासै केही बोल्ने गरेका छैनन्। दिनहुँ सार्वजनिक स्थल तथा यातायातमा हुने यस्ता घटनालाई प्रहरी प्रशासनले पनि गम्भीर अपराधको सूचिमा राखेको छैन। गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै दैनिक यस्ता घटना हुने गरे पनि धेरैले प्रतिकार गर्ने आँट गर्दैनन्।
जिस्क्याइ या छेडखानीको सिकार पुरुष पनि हुने गर्छन्। तीनचारजना टिनएजर केटीहरूको हुलमा कुनै केटा पर्‍यो भने ऊ पनि ‘इभ टिजिङ’को सिकार हुन सक्छ। तर, केटीले केटा जिस्काउने चलन त्यति व्यापक भइसकेको छैन। अझ यसमा शारीरिक छेडखानी समावेश हुने गरेको पाइँदैन।

तपाईको प्रतिक्रिया