Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ – अभिनेता भुवन केसीसँग सुस्मिताको दोस्रोपटक सम्बन्धविच्छेद त भयो, तर यो विच्छेद लामो समय नटिक्ला कि भन्ने सन्देह चलचित्र क्षेत्रमा उत्तिकै पालिने गरेको छ । कारण हो, यी दुईद्वारा तयार पारिएको चलचित्र ‘साथी म तिम्रो’ प्रदर्शनको सम्मुख छ । र, त्यससँगै दुईको सकारात्मक कुराकानीको क्रम पछिल्ला दिनमा बाक्लिँदै पनि छ ।

यसअघि पनि उनीहरूबीचको सम्बन्धविच्छेदले निक्कै चर्चा पाएको थियो । तर, अघिल्लो चलचित्र ‘म तिमीविना मरिहाल्छु’ प्रदर्शनका क्रममा उनीहरू यसरी नजिकिए कि दुवैले आफूहरूबीच सम्बन्धविच्छेद भएको कुरा बिर्सेर पुनः सम्बन्ध कायम राखे । उसो त अभिनेता केसीका सम्बन्धमा महिलासँग जोडिने कतिपय प्रसंग झुटै भए पनि बजारमा पत्याइने गरिन्छ । कारण हो, महिलासँग विगतमा उनले राखेको हिमचिम ।

पति आकाश शाहसँगको सम्बन्धविच्छेदबारे कतै हल्ला नभईकनै नायिका सञ्चिता लुइँटेलले नायक निखिल उप्रेतीसँग दोस्रो दाम्पत्यजीवन सुरु गरेकी हुन् । आकाश चलचित्र प्रशिक्षणका लागि भारत गएका वेला निखिल-सञ्चिता प्रेम मौलाएको हो । यहीवेला आकाश-सञ्चिता सम्बन्धमा समस्या आएको हो । तर, उनीहरूले यो विषयलाई चर्चामा ल्याउन चाहेनन् । हाल नेपाली चलचित्र ‘बडीगार्ड’को प्रमुख भूमिकामा अभिनय गरिरहेका आकाश सञ्चिता-सम्बन्धबारे बोल्न चाहँदैनन् । सञ्चिताचाहिँ निखिलतर्फबाट एक छोरो जन्माएर भीमसेनगोलास्थित माइतमा बसिरहेकी छन् ।

लामो समयदेखिको मानसिक तथा शारीरिक यातना सहने सीमा समाप्त भएपछि गायिका अञ्जु पन्त संगीतकार पति मनोज राजको जीवनबाट अलग मात्र भइनन्, बाँकी जीवनका लागि अर्को पुरुषलाई पति रोज्ने झन्झट पनि नगर्ने प्रण गरेकी छिन् । दशक लामो दाम्पत्यजीवनमा उनले भोगेका कष्टबाट पुरुषप्रतिको उनको धारणामै परिवर्तन आएको उनी बताउने गर्छिन् । तर, पछिल्ला दिनमा नायक विशाल विष्ट र उनको हिँडडुलको क्रम बाक्लिएको छ । यो सम्बन्धलाई उनीहरूले ‘मित्रता’ मात्र भन्ने गरेका छन् । चर्चा छ, उनीहरू विवाह गर्ने कुरामा दृढ छन् ।

पत्नी आकृति राणाले गायक पति यम बरालविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि आवेदन गरेयता यम एक्ला छन् । उनीहरूबीच अदालती प्रक्रियाअनुसार सम्बन्धविच्छेदको प्रक्रिया टुंगिएको छ । अमेरिकाबाट पत्नी र छोरीलाई लिएर फर्किने योजनासहित काठमाडौं आएका गायक बरालले सम्बन्धविच्छेद व्यहोर्नुपर्दा केही साता उनी विक्षिप्त भए । तर, अब अमेरिका फर्किंदा पूर्वतिरकी जात मिल्ने युवतीलाई पत्नीका रूपमा लिएर जाने सोचका साथ आजभोलि उनी पूर्वतिरै व्यस्त छन् । ‘ठूला जात र ठूला सपनाको पछाडि लागेर म बर्बाद भएँ,’ यमले हिजोआज भेटिने आफन्तसँग भन्ने गरेका छन्, ‘आफ्नो धरातल भुल्नुको परिणति म आज भोग्दै छु ।’

तर, नायिका कृति भट्टराई र सञ्चारकर्मी रवि श्रेष्ठबीचको दाम्पत्य सम्बन्ध फेरि नजोडिने गरी टुंगिएको छ । कलाकारको सम्बन्धविच्छेदका समाचारले सञ्चारमाध्यममा राम्रो ठाउँ पाउने गरेको छ । यो क्रममा कृति भने अलग रहिन् । अर्थात्, कतिपय सम्बन्धविच्छेदका घटना समाचार बन्न नहुने उनको तर्क छ । सम्बन्धविच्छेद भन्नासाथ पति वा पत्नीमध्ये कोही न कोहीको कमजोरीबारे चल्ने टीका-टिप्पणीले अन्ततः दुवैको सामाजिक र वैयक्तिक जीवनमा कुनै न कुनै असर पर्ने कारण उनी यस्ता विषय चर्चाबाहिर रहनुपर्ने मान्यता राख्छिन् । सम्बन्धविच्छेदबारे उनको यतिमात्र टिप्पणी छ, ‘सल्लाहले नै अलग भयौँ ।’

चलचित्र क्षेत्रमा प्रवेश गर्नुपूर्व जोडिएको निर्देशक बाबुराम ढकाल र नायिका सीमा पनेरूको दाम्पत्य सम्बन्ध चलचित्र क्षेत्रका केही सफलतापछि क्रमशः चिसिँदै गयो । केही वर्ष पहिले दुईबीच सम्बन्धविच्छेद भइसकेको छ । विच्छेदसँगै सीमा बिदेसिएकी छिन्, बाबुराम भने काठमाडौंमै चलचित्र क्षेत्रमा क्रियाशील छन् । चलचित्र क्षेत्र प्रवेश गर्नुपूर्व उनीहरूको जीवनचर्या मध्यमवर्गीय शैलीको थियो । तर, चलचित्रमा प्रवेश गरेयता सीमामा बढेको तडकभडकपूर्ण जीवनचर्या, आवश्यकताभन्दा बढी स्वतन्त्रताको खोजीजस्ता विषयले उनीहरूको दाम्पत्यजीवनमा समस्या आएको निर्देशक ढकालको दाबी छ । सीमा अर्कै युवकसँग अघोषित रूपमा सम्बन्ध कायम गरी हाल दुबईमा बस्ने गरेकी छिन् । बाबुरामले पनि एकजना गैरचलचित्रकर्मी महिलासँग नयाँ दाम्पत्यजीवन सुरु गरिसकेका छन् ।

यस्तै अपुष्ट खबर छ, नायिका रञ्जना शर्माको । निर्देशक श्याम भट्टराईसँग उनको सम्बन्धविच्छेद भएर पनि झन्डै दुई वर्षमा पुनः जोडियो । तर, सम्बन्ध पुनः कायम भएको लगभग ६ महिनामा रञ्जना अमेरिका पलायन भइन् । अमेरिका पुगेपछि आफ्नो फेसबुक स्ट्याटसमा ‘सिंगल’ लेखेकी उनको हालसालै अर्को पुरुषसँग विवाह भएको समाचारले काठमाडौंका अखबार र अनलाइन तातेका छन् । हालसम्म यो समाचारको पुष्टि भने भएको छैन । यता, निर्देशक भट्टराईलाई यी खबरबारे केही मतलब छैन । भन्छन्, ‘जेसुकै होस्, मलाई केही नसोध्नुस् ।’ पहिलोपटक सम्बन्धविच्छेदपछि श्यामको आशक्तिका कारणले मात्र उनीहरूबीच पुनः सम्बन्ध कायम भएको रञ्जनाले बताउने गरेकी छिन् ।

नायिका सौजन्य सुब्बा पतिसँगको सम्बन्धविच्छेदयता हालसम्म एक्ली छिन्, तर यो एक्लोपन लामो समय नरहने बताउने गरेकी छिन् । कहिलेसम्म कायम होला त उनको नयाँ दाम्पत्यजीवन ? भन्छिन्, ‘हेर्दै जाऔँ, चाँडै होला कि ?’

नायिका सुस्मिता कार्कीका गायक पति रोशन पराजुलीसँग सम्बन्धविच्छेद भएको तीन वर्ष नाघिसक्यो । उनी अर्को विवाह गर्ने सोचमा छिन्, तर हालसम्म योग्य वर पाएकी छैनन् । ‘हतारमा विवाह गरेर फेरि पहिलाजस्तै पछुताउनुपर्ला भनेर ढिलै, तर राम्रै निर्णय गर्छु,’ उनले भनिन् । उनी अहिले अग्लो ज्यान, टिपटप र फिटनेस मिलेको समझदार पुरुषको खोजीमा छिन् ।

नायिका पूजा चन्दले अमेरिकामै राजु लामा नामक युवकसँग नयाँ दाम्पत्यजीवन सुरु गरेकी छिन् । पूजाले भन्दा पहिल्यै काठमाडौंमा रहेका उनका पूर्वपति तथा फोटोग्राफर सुरज चन्दले मोडल रिया कार्कीसँग ‘लिभिङ टुगेदर’को सम्बन्ध कायम राखेका छन् । तर, उनीहरूले घोषित रूपमा दाम्पत्यजीवन सुरु गरेको बताएका छैनन् । पूजाले भने लामासँग विवाह गरे पनि सुरजकै थर प्रयोग गरिरहेकी छिन् । पूजाको माइती परियार थरका हुन् । सुरज र पूजाबीच अहिले पनि ‘चन्द’ थर प्रयोग गरेकोबारे विवाद कायमै छ ।

पति उज्ज्वल भण्डारीसँग सम्बन्धविच्छेदपछि योग्य जीवनसाथी खोजिरहेकी अर्की वरिष्ठ नायिका हुन्- गौरी मल्ल । वेलावेला आफू नयाँ प्रेममा रहेको बताउने उनले हालसम्म कोहीसँग दाम्पत्यजीवन थालनी गरेको भने बताएकी छैनन् । हाल अमेरिकास्थित एक भारतीय रेस्टुरेन्टमा गीत गाउने पेसा अँगालेकी उनले त्यहीँका एकजना भारतीयसँग निकटको सम्बन्ध बनाएको चर्चा चलचित्र क्षेत्रमा छ ।

दोहोरी गायिका निशा सुनार र उनको पर्यटन व्यवसायी पति पवन गोयलबीच सम्बन्ध छुटेपछि अहिले उनी जातमिल्दो नृत्य-निर्देशक शंकर बिसीसँगको सम्बन्धमा व्यस्त छिन् । आजभोलि लैनचौरस्थित निशाको डेरामा शंकरले आफ्नो डेरा सारेका छन् । नजिकै बस्ने अर्का दोहोरी गायक बद्री पंगेनीले शंकरलाई ज्वाइँ भन्न थालिसकेका छन् । शंकर भने पहिल्यै विवाहित र दुई सन्तानका अभिभावक हुन् । मनोरञ्जन वृत्तमा यसअघि शंकर र नृत्यांगना सम्झना बुढाथोकीबीच विवाह हुन लागेको चर्चा चलेको थियो । तर, यो नयाँ सम्बन्धले त्यो चर्चा मित्थ्या सावित गरेको छ । पूर्वपति पवन भने निशाभन्दा पहिल्यै विवाह गरेकी श्रीमतीसँगको सम्बन्धमा पुनः निरन्तर छन् ।

जेठी पत्नी गंगासँग सम्बन्धविच्छेद गरी अभिनेता शिव श्रेष्ठले छोरीउमेरकी युवतीसँग १० वर्ष पहिले विवाह गरेका थिए । हाल उनको दाम्पत्यजीवन सुखमय रहेको बताउँछन् । जेठी पत्नी गंगा हाल अमेरिकामा बस्ने गरेकी छिन् ।

तपाईको प्रतिक्रिया