Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
तिलक पाठक
काठमाडौं- एकीकृत माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य पक्षका गालीगलौजले पार्टी विभाजनको औपचारिक घोषणा हुनमात्रै बाँकी रहेको झल्को दिन्छ। माओवादी केन्द्रीय समितिमा वैद्य पक्षले असहमति जनाउदै गुटउपगुट, आर्थिक अपारदर्शिता, नोकरशाही, यान्त्रिकता, संकीर्णतावादको केन्द्रबिन्दु दाहाल स्वयं भएको आरोप लगाए।
‘दाहालको जनवादी क्रान्तिसम्बन्धी अवधारणा नोकरशाह तथा दलाल पुँजीवादपरस्त छ,’ वैद्यले केन्द्रीय समितिमा औपचारिकरुपमै ल्याएको फरक दस्तावेजमा उल्लेख छ।
वैद्यकै प्रस्तावमा शान्ति र संविधानको ‘समग्र प्रक्रियामा लिने होइन दिनेमात्र काम भएकाले आत्मसमर्पण गरिएको’ र ‘नयाँ जनवादी क्रान्ति र जनविद्रोहलाई तिलाञ्जलि दिइएको’ उल्लेख छ। ‘दाहालको राजनीतिक प्रस्ताव सारसंग्रहवादी शैलीमा आधारित तथा दक्षिणपन्थी अवसरवादोन्मुख बन्न गएको’ पनि वैद्यको दावी छ। वैद्य पक्षकै नेता सिपी गजुरेलले पार्टीको सिद्धान्त दाहालले छाडिसकेकाले अध्यक्ष मान्न नसकिनेसम्मको अभिव्यक्ति दिएका छन्।
‘अध्यक्ष दाहाल आइएनजिओको डाइरेक्टरमा मात्रै सीमित छन्। औपचारिकरूपमा पार्टी अध्यक्ष भए पनि पार्टीको सिद्धान्त छाडेको व्यक्तिलाई त्यो स्थानमा मान्न सकिँदैन,’ गजुरेलले औपचारिक कार्यक्रममै भन्ने गरेका छन्। गजुरेलमात्रै होइन, वैद्य पक्षका अधिकांश नेताले सार्वजनिकरुपमै दाहालको आलोचना गरिरहेका छन्।
केन्द्रीय समितिको जारी बैठकमा पनि दाहाल र वैद्य पक्ष एक अर्कालाई गालीगलौजमै ब्यस्त छन्। वैद्य पक्षका नेताहरुले पार्टी विभाजन भइसकेको तर्क गर्न थालेका छन्। वैद्य पक्षका नेता तथा पार्टी महासचिव रामबहादुर थापाले अनौपचारिकरुपमा पार्टी विभाजन भइसकेको केन्द्रीय समितिमा नै घोषणा गरेका छन्।
दाहाल र वैद्य पक्षको यो टकराव र दोषारोपण हेर्ने हो भने ‘गद्दार घोषणा गर्न’ र ‘औपचारिक हिसाबले पार्टी विभाजन’को घोषणा गर्नमात्रै बाँकी छ। कम्युनिस्ट राजनीतिमा प्रतिस्पर्धीलाई गद्दार घोषणा गरेर आफूलाई महान देखाउने प्रवृत्ति लेनिनको पालादेखि नै छ। लेनिनले प्रतिस्पर्धी नेता काउत्स्कीलाई गद्दार घोषणा गरेका थिए। चीनमा माओ त्सेतुङले ल्यु शाओची र देङ स्याओपिङलाई संशोधनवादी भन्दै एक किसिमको गद्दारकै संज्ञा दिएका थिए।
नेपालमा पनि २०२७ सालमा पुष्पलाललाई मोहनविक्रम सिंहको समूहले दस्तावेज तयार पारी ‘गद्दार पुष्पलाल’ प्रकाशित गर्‍यो। आनन्दबहादुर क्षेत्रीको नाममा सिंहले त्यो दस्तावेज प्रकाशन गरेका थिए। त्यसलाई २०३१ सालमा पार्टीको चौथो महाधिवेशनले पारित नै गर्‍यो। पछि २०५१ सालको बैठकमा पुष्पलाललाई गद्दार मान्ने कि नमान्ने भन्नेमा सिंह अल्पमतमा परे। उनी आफैंले पनि त्यसरी दस्तावेज प्रकाशित गर्नु गल्ती भएको महसुस गर्दै प्रकाशन सच्याए। त्यसयता उनको त्यो दस्तावेज ‘क्रान्ति वा भ्रान्ति?’ शीर्षकमा प्रकाशित हुँदै आएको छ।
पुष्पलालले २०२५ को तेस्रो सम्मेलनमा ‘कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने’ दस्तावेज प्रस्तुत गरेपछि उनी कांग्रेसपरस्त भएको भन्दै सिंह पक्षले गद्दार घोषणा गरेको हो। त्यतिमात्र होइन, पुष्पलालको निधनमा निर्मल लामाले श्रद्धाञ्जली दिएकै कारण लामालाई महामन्त्रीबाट हटाइएको थियो। र, त्यो स्थानमा भक्तबहादुर श्रेष्ठलाई ल्याइएको थियो।
यता झापा आन्दोलनमा लागेका कम्युनिस्ट नेताले पनि सिपी मैनालीको अगुवाइमा तत्कालीन कम्युनिस्ट नेताहरू पुष्पलाल, केशरजंग रायमाझी, मनमोहन अधिकारी, तुल्सीलाल अमात्यलगायत नेतालाई यस्तै आरोप लगाए। माओवादीले कुनै बेला एमालेलाई ‘प्रतिक्रियावादी’ घोषणा गरेको थियो जुन एक किसिमको गद्दारकै संज्ञा हो। कम्युनिस्ट शब्दावलीअनुसार ‘गद्दारी गर्नु भनेको शत्रुको क्याम्पमा पुगेर उसको स्वार्थअनुसार क्रान्तिलाई घात गर्ने’ भन्ने हो।
तपाईको प्रतिक्रिया