Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ – चिसो छेल्ने धेरै उपाय छन् । न्यानो लुगा, तातो खानेकुरा या घमाइलो ठाउँ । फेसनले दिन प्रतिदिन रूप फेरिरहँदा सहरिया युवतीहरूमाझ चिसो छेल्ने अर्को उपाय पनि थपिएको छ- हेयर स्टाइल ।

कपाल स्टाइललाई नै चिसो छेक्ने उपाय बनाउने मध्येमा पर्छिन्, धुम्बाराहीकी १६ वर्षीया स्नेहा खत्री । गर्मी महिनामा सजिलो र छरितोका लागि प्रायः कपाल गुजुल्टाउने स्नेहाले जाडो बढ्दै गएपछि कान छोप्ने गरी कपाल सिंगार्छिन्, जसलाई ‘लेयर्स’ कट भनिन्छ । बानेश्वरस्थित एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा कक्षा ११ पढ्दै गरेकी उनलाई जाडो छेल्ने क्याप र स्कार्फ लाउने खासै रुचि हुँदैन । ‘किनभने कपाल बिगि्रन्छ, झ्याउ लाग्छ,’ उनले भनिन्, ‘कपालले नै कान छोप्ने भएपछि अरू किन चाहियो ?’ बिहानैको सिरेटोमा कलेज धाउनुपर्दा लेयर्स कटबाट उनी दुइटा फाइदा लिन्छिन्- फेसनेवल लुक्स र चिसोबाट कानको बचावट । ‘जस्तोसुकै विन्टर फेसनमा पनि लेयर्स कट म्याच गर्छ,’ उनले हाँस्दै भनिन्, ‘योचाहिँ तेस्रो फाइदा ।’

हेयर स्टाइलकै कुरा गर्दा स्नेहाका ‘सबैभन्दा मिल्ने’ संगिनी सामिन थापाचाहिँ अलिक भिन्न छिन् । कपालमा खैरो मेहेन्दी लाएकी १७ वर्षीया सामिन लेयर्स स्टाइल नै मन पराउँछिन् तर अलिक लङ -लम्बे) स्टाइलमा । लामो कपाललाई उनी आफ्नो व्यक्तिगत सम्पत्ति मान्छिन् र यसलाई टुक्राउन या काट्न चाहँदिनन् । उनका चाहनालाई लङ स्टाइलको लेयर्स कटले साथ दिएको छ । ‘लामो कपालकी लोभी छु,’ उनले भनिन्, ‘यसैलाई पनि फेसनेवल बनाउन सकिन्छ नि ।’

कुमकुम झरेको उनको कपालले टाउको, कान र गर्दनसमेत न्यानो बनाउने हुँदा जाडो याममा प्रायः उनी कपाललाई खुल्लै छोडछन् । सामिनकी साथी रिया श्रेष्ठलाई भने आफ्नो कपालको स्टाइल आफैंलाई थाहा छैन । ब्युटिपार्लरमा ‘विन्टर फेवर लुक्स हेयर कट’ भनेपछि उनले पनि सामिन र स्नेहाकै हेयर स्टाइलको कपी हुन सक्ने अनुमानसम्म लगाइन् । जाडो मौसममा पहिरन फेसनेवल होस् या नहोस् तर कपाल भने सधैं फेसनेवल बनाउने खप्पिस छिन् २५ वर्षीया सुनीता अधिकारी । रेस्टुरेन्ट टियरमा काम गर्ने उनी दुई/तीन महिनामा नियमित कपाललाई नयाँनयाँ स्टाइल दिन ब्युटिपार्लर धाउँछिन् । मंगलबार दरबारमार्गस्थित ‘चुवाकी ब्युटिपार्लर’ मा उनी कपाललाई स्टाइलिस बनाउँदै गर्दा भेटिइन् । ‘जिक ज्याक’ शैलीमा ‘लेयर्स कट’ गरेकी उनले विन्टरलाई नै ध्यानमा राखेर हेयर लुक्स दिन चाहेको खुलाइन् । ‘न्यानो पनि हुने, बोल्ड पनि देखिने,’ उनले भनिन्, ‘जाडोमा प्रायः हेयर स्टाइल कान छोप्ने खालको नै हुनुपर्छजस्तो लाग्छ ।’

विन्टर हेयर स्टाइलबारे सस्मिन श्रेष्ठ र मन्दिरा मुनिकार पनि उदार छन् । उनीहरू चिसो छेल्न ‘फेदर’ कटको शरणमा पर्छन् । अगाडि भाग ‘भुक्क’ उठेको र पछिल्लो भाग पातलिँदै जाने फेदर हेयर कटको लुक्स ग्ल्यामरसंगै न्यानो पनि हुने यी दुईको अनुभूति छ ।

मौसमअनुसार फेसन गर्नेहरूले पहिरनसँगै हेयर स्टाइलमा पनि उत्तिकै ध्यान दिनुपर्ने ब्युटिसियनहरूको धारणा छ । चुवाकी ब्युटिपार्लरमा दुई वर्षको अनुभव बटुलेकी २६ वषर्ीया अनिता तामाङले जाडो याममा प्रायः युवतीले ‘लेयर्स’ हेयर स्टाइल नै मन पराउने बताइन् । उनका अनुसार कपालको अघिल्लो भाग बाक्लो हुनु र पछिल्लोचाहिँ क्रमशः पातलिँदै जानु ‘लेयर्स’ हेयर स्टाइलको विशेषता हो । ‘सेमी’, ‘लङ’, र ‘मिडियम’ गरी तीन प्रकारका ‘लेयर्स’ कट अहिले प्रचलनमा छन् । यीबाहेक ‘रेहाना हेयर स्टाइल’, ‘स्ट्रेट फेदर’, ‘कर्ली हेयर स्टाइल’, ‘स्टेप कट’, ‘सेगी’ लगायत अन्य थुप्रै कोरियन हेयर स्टाइल सहरमा भित्रिएका छन् । जाने हैन त स्टाइल बदल्न ?

तपाईको प्रतिक्रिया