बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024

१७ माघ २०२८ को बिहान करबि ४ बजेको थियो। नारायणहिटी दरबारबाट फोन आयो, ‘राजालाई निकै आराम भएन, तपाईं तयारी अवस्थामा बस्नू, कतै नजानू। अर्को फोनको प्रतीक्षा गर्नुहोला।’ यस किसिमको खबर पाउनासाथ मलाई एकतमासको तीतो अनुभूति भयो। मसँगै रहेकी मेरी पत्नी पनि त्यो टेलिफोन संवाद सुन्नासाथ आत्तिएर जर्‍याकजुरुक उठिन्। मलाई उकुसमुकुस हुन थाल्यो, ‘फोन आयो भने तुरुन्त खबर गर है’ भनेर नित्यकर्मतर्फ लागेँ। मनमा अनेक किसिमका भावना तरंगित हुन थाले। लाग्यो, पक्कै पनि राजालाई हृदयाघात भयो होला। अब के होला र कसो होला भन्ने भावना मनमा उत्पन्न भइरहे। जाडो महिना ! त्यसमाथि त्यस्तो समाचार सुनेपछि त झन् मुटु नै लुगलुग काम्न थाल्यो।

त्यसबेला शरीरमा आराम नभए पनि राजा महेन्द्र बारा र रौतहटको साम्प्रदायिक दंगाका क्रममा भएको धनजनको क्षतिको निरीक्षण गर्न हेलिकप्टर लिएर त्यसतर्फ लागेका थिए। र, आरामका निम्ति चितवनस्थित दियालो बंगलामा फर्किएको अवस्था थियो। बिहान त्यस्तै ५ बजेको हुँदो हो, काँपेकाँपेको र मधुरो स्वरमा चितवनका प्रमुख जिल्ला अधिकारीले फोन गरे, “दियालो बंगलामा ठूलो चहलपहल छ। राजालाई केही तलमाथि भयो कि !” मेरो मनले हरेश खायो। अब राजा रहेनन् भन्ने पक्का भयो।

राजदरबारवरिपरि संवेदनशील महत्त्वका ठाउँमा शान्ति र सुव्यवस्था कायम राख्न आवश्यक सम्झेँ। त्यसबेला काठमाडौँका प्रजिअको घरमा टेलिफोन थिएन। मेरो घरमा रहेका सहयोगीलाई उनको डेरासम्म दौडाएँ। उनी आउनासाथ सुरक्षाकर्मी परिचालनको निर्देशन दिएँ। र, रेडियो नेपालमा फोन गरेर भजन आदि मात्र प्रसार गर्नू, अन्य केही प्रसार नगर्नू भनेँ। त्यत्तिकैमा बिहान त्यस्तै साढे ७ बजेको हुँदो हो, दरबारबाट बोलावट भयो। म तुरुन्त त्यसतर्फ लागेँ।

त्यसबखत युवराज वीरेन्द्र हेलिकप्टरमा दियालो बंगला पुगी बाबुलाई अन्तिम श्रद्धाञ्जलि दिई मुमा रत्नलाई लिएर त्यहाँबाट काठमाडौँ फर्केका रहेछन्। तर, दुर्भाग्य ! काठमाडौँमा लागेको बाक्लो हुस्सुका कारण हेलिकप्टर सीधै नारायणहिटी दरबारमा अवतरण गर्न सकेनछ। त्यसपछि हेलिकप्टरलाई नागार्जुन दरबारमा अवतरण गराएर त्यहाँबाट गाडीमा मुमा रत्नसँगै भर्खर मात्रै वीरेन्द्र दरबार छिरेका रहेछन्। त्रिशूल सदनको भित्री कक्षमा युवराज वीरेन्द्रले बुबाको स्वर्गारोहण भएको डाक्टरद्वारा दिइएको मृत्यु प्रमाणपत्र पढ्न लगाउँदै थिए। त्रिशूल सदनबाहिरको अर्को बैठकमा राजज्योतिषीहरू बसेका थिए। लगभग ८ बजेको हुँदो हो, ज्योतिषीहरूले १० बजे गद्दी आरोहणको साइत निकाले। त्यति छोटो समयमा काम फत्ते गर्नु चानचुने कुरा थिएन। मलाई मात्र होइन, सबैलाई ज्यादै धौधौ पर्‍यो।

त्यत्तिकैमा गाडी लिएर हनुमानढोका हुइँकिएँ। राजगद्दी राख्ने कोठा सोधेर त्यहाँ पुग्छु त तीन-चारवटा गद्दी रहेछन्। अब पर्‍यो फसाद ! कुनचाहिँ गद्दी नयाँ राजाका निम्ति प्रयोग गरिन्छ भन्ने त्यहाँका हाकिमलाई सोध्न पठाएँ। सबै गद्दीमा जताततै परेवा आदिको विष्टा, माकुराको जालो लागेको थियो। गद्दी सफासुग्घर पार्न लगाई गद्दी आरोहण हुने ठाउँसम्म पुर्‍याउन लगाएँ। त्यसपछि आफू मातहतको प्रहरी प्रशासनलाई चुस्तदुरुस्त रहन उर्दी दिँदै विभूषणसहितको ‘अफिसियल ड्रेस’ लगाउन घरतर्फ लागेँ।

समय कति छिटो बितेछ, पत्तै भएन। १० बज्नै लागेको थियो, युवराज वीरेन्द्रको सवारी जुद्ध वारुण यन्त्रनिर पुगेछ। त्यहीँबाट मलाई फोन गर्न लगाइएछ। सबै तम्तयारी अवस्थामा रहेको जानकारी पाउनासाथ सवारी हनुमानढोकातर्फ लाग्यो। हतार-हतारमा काम गर्दा सिंहासनअगाडिको पाउदान नै राख्न नपाउँदै युवराज आइपुगे। गद्दीमा बसिसकेपछि त्यो ल्याउने कुरा पनि भएन। त्यत्तिकैमा कार्यक्रम सम्पन्न गरयिो। बडागुरुज्यू खगेन्द्रराज पाण्डेले श्रीपेच पहिराएर श्री ५ को घोषणा गरियो। घोषित राजाको सवारी दरबार भित्र्याएर म भने स्वर्गवासी राजाको अन्तिम संस्कारका निम्ति जुटेँ।

पशुपतिको आर्यघाट र किरियापुत्री बस्ने कालमोचन घाट सफासुग्घर गर्न लगाएँ। साथसाथै, त्यहाँ शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन मातहतका अधिकृतलाई अह्राएँ। हनुमानढोकास्थित कौशी खोल्न लगाएर बुइगलमा पुगेँ। त्यहाँ त श्रीखण्डको चाङ राखिएकाले सर्पहरू यत्रतत्र देखिए। तर, समय र त्यस अवस्थाका कारण हुनुपर्छ, डर भन्ने रत्तिभर लागेन। एक जनाको शव दाह गर्न कति श्रीखण्ड लाग्छ भनी सल्लाह गरी केही बढी नै श्रीखण्ड आर्यघाटमा पुर्‍याउन र त्यसको लगत साक्षीसमेत राखी खर्चको लागतसमेत पेस गर्नू भन्ने लिखित आदेश दिएँ।

त्यसपछि पशुपतिनाथ अमाल कोट कचहरीमा बसेर राजाको दाहसंस्कारका लागि चाहिने कात्रो, तास, रामनामी, कपडा, किरयिापुत्रीलाई चाहिने सामान आफैँले किनेर आर्यघाट पुगेँ। त्यति मात्र होइन, राजा महेन्द्रको वर्षदिनसम्मको मासिक-उपमासिक समेत यावत् दान आदिको काम कौशीतोषाखानाबाट गृहसचिवले नै गर्नू भन्ने सरकारी निर्णय भएकाले त्यो पनि मैले नै गर्नुपर्‍यो।

दियालो बंगलाबाट हेलिकप्टरमा त्रिभुवन विमानस्थल ल्याइएको राजा महेन्द्रको शव सिनामंगल-पुरानो बानेश्वर चोक हुँदै आर्यघाट पुर्‍याइएको थियो। शवयात्रा मार्गका दुवै किनारमा पंक्तिबद्ध मानिसहरूका बगिरहेका अश्रुधारा र घुक्कघुक्कका आवाजले शवयात्रामा सहभागीलाई अझ विह्वल बनाउँथ्यो।

प्रस्तुति: ईश्वरी ज्ञवाली

तपाईको प्रतिक्रिया