ई.सं. २०११ हामीबाट बिदा हुन गईरहेको छ । विदाइको डिलमा उभिएको यो वर्षको आ–आफ्नै ढंगले समिक्षा शुरु भएको छ । खासगरी जापानस्थित नेपाली समुदायका लागि २०११ कति फलदायी वा निराशाजनक रह्यो, त्यसको लेखाजोखा व्यक्ति–व्यक्तिमा गएर केलाउन सम्भव छैन । तर समग्रमा २०११ के कस्तो रह्यो केलाउनु भने जरुरी छ । त्यसो भयो भने मात्र गएको वर्षमा गर्न चाहेर पनि पूरा हुन नसकेका कामहरु आगामी वर्षको प्राथमिकतामा राख्न सकिन्छ अनि व्यक्तिगत वा संस्थागतरुपमा भएका गल्ति कमीकमजोरीलाई सुधारेर अगाडि बढ्न सहज हुन्छ ।
२०११ सिंगो जापानका लागि सुखदायी वर्षकारुपमा लिन सकिने अवस्था छैन । वर्षको शुरुवात तिरै अर्थात् मार्च ११ मा आएको महाभूकम्प र टेलिभिजनको पर्दामा हेर्दा पनि पत्याउन नसकिने खालको प्रलयकारी सुनामीले धेरैको ज्यान लियो भने धनको क्षति र अर्थतन्त्रमा परेको असरको बारेमा अझै लेखाजोखा हुन सकिरहेको छैन । प्राकृतिक प्रकोपको यो भन्दा भयंकर रुप जापानले सायदै व्यहोर्नुपर्ला जस्तो लाग्ने मार्च ११ को घटना र त्यसैको कारणले जापानलाई मात्रै नभएर सारा विश्वलाई नै चिन्तित बनाउने गरी दुर्घटनाग्रस्त भएको फुकुसिमास्थित आणविक ऊर्जाकेन्द्रको अवस्था अझै चिन्तामुक्त हुन सकेको छैन । ती आणविक केन्द्रहरुबाट चुहिएका विकिरणले अरु कति वर्ष मानवजीवनलाई असर गर्ने हुन् यकिन गर्न सजिलो छैन । तर पनि मार्च ११ को महाप्रलयपछि जापानस्थित नेपाली समुदायले प्रकट गरेको एकता र सहयोगी भावना वास्तवमै अविष्मरणीय छ । समस्याग्रस्त क्षेत्रका नेपालीहरुलाई उद्धार गर्ने मात्र नभएर क्षमताअनुसार पीडित जापानीहरुको सेवा र सहयोगका लागि नेपाली समुदाय लागिपर्यो । विकिरणको त्रासले जापानस्थित नेपाली दूतावास टोकियोबाट ओसाका सरेका बेलामा नेपाली समुदाय भने सेल्टरमा रहेका जापानीहरुलाई खाना खुवाउन फुकुसिमा, मियागी र इवाते जानु सामान्य कुरा थिएन ।
सहयोगी भावना र एकताको यति राम्रो प्रदर्शन गरेको नेपाली समुदाय पछिल्ला दिनहरुमा भने अलि बढी भाँडिन पुगेको आभास भईरहेको छ । एनआरएन जापान र अन्य संघसंस्थाका अधिवेशनमा देखिएका गुट–उपगुट र एक पक्षले अर्को पक्षलाई निष्तेज पार्ने उद्देश्यका फोहोरी खेलले जापानस्थित नेपाली समुदाय अहिले आक्रान्त बनेको छ । संघसंस्थाका जिम्मेवार पदहरुमा कसलाई पुर्याउने भन्दा पनि कस–कसका खुट्टा तान्ने भन्ने कुराले प्रधानता पाउनु राम्रो लक्षण होइन । यो प्रबृत्तिले व्यक्तिगत वा सामुहिक कसैको पनि हित हुन सक्दैन । क्षणिक आत्मसन्तुष्टी बाहेक खुट्टा तान्ने प्रबृत्ति मौलाउँदा कोही पनि अगाडि बढ्न सकिँदैन । यस्ता नराम्रा प्रबृत्ति र तीता–टर्रा पक्षलाई २०११ मा नै बिदा गरेर २०१२ लाई नेपाली समुदायको सहकार्य र सद्भाव अनि मेलमिलाप एवं असल भावनाको वर्ष बनाउन सबैले खासगरी नेपाली समुदायका अग्रजहरु र संघसंस्थाका नेतृत्वमा रहेकाहरुले विशेष पहल गर्न जरुरी छ । ठिक यति नै बेला जापानस्थित नेपाली दूतावासमा महामहिम राजदूत र उपनियोग प्रमुख पनि नयाँ हुनुहुन्छ । उहाँहरुको नयाँ जोश र जाँगरमा यहाँको नेपाली समुदायले सहकार्य गर्दै अघि बढ्न सक्यो भने २०१२ उपलब्धीपूर्ण वर्ष हुन सक्छ ।
यसैगरी ब्यवसायिक वा व्यक्तिगत कामका हिसाबले हेर्ने हो भने २०११ समग्रमा नेपालीहरुका उत्साहजनक वर्ष हुन सकेको देखिँदैन । आर्थिक मन्दीको चपेटामा परेको विश्वको दोश्रो ठूलो अर्थतन्त्र यसै वर्षमा आएर तेश्रो स्थानमा झर्नपुग्यो । जापानी मुद्रा येनको महंगिने क्रम नरोकिएका कारण जापानी उत्पादन विश्व वजारका लागि महंगो भएर निर्यातमा कमी आइरहेको तथ्याङ्कले देखाइरहेको छ । यता नेपाली व्यवसायीहरु मुलतः रेष्टुरेन्ट व्यवसायमा पनि मन्दीको असर परेको छ । व्यवसायिक विस्तार भन्दा भएको व्यवसायलाई धानीराख्न ध्यान दिनुपर्ने अवस्था छ । कामका अवसरहरुलगायत खाईपाई आएको तलव सुविधामा पनि कटौती भर्ईरहेको कारण रोजगार क्षेत्र पनि प्रभावित छ । तैपनि जापानी मुद्रा येन दिनानुदिन बलियो हुँदै जाँदा जापानमा थोरै मात्र कमाइ हुँदा पनि नेपाली पैसामा परिवर्तन गर्दा धेरै हुने हुँदा केहि राहतको महशुस गर्ने अवस्था छ । यहाँको यिनै अवसरलाई आगामी दिनमा अझ बढि सदुपयोग गर्दै आपसी सहयोगी भावनाकासाथ अगाडि बढ्नुको हामीसँग अर्को कुनै विकल्प छैन । समुन्नत नेपाली समाज निर्माणका लागि आपसी मेलमिलाप, सहयोग, सम्बन्ध र सहकार्य हिजो जति आवश्यक थियो अबका दिनमा अझ थप आवश्यक बन्दै गईरहेको छ ।