काठमाडौं–सरकार निर्माण भएको तीन महिना हुन लाग्दा प्रधानमन्त्री डा. बाबुराम भट्टराई तेस्रोपटक विदेश भ्रमणमा निस्केका छन् ।
सार्कको १७ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ११ सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार माल्दिभ्सको राजधानी माले प्रस्थान गरेका छन् । टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रका कामु सचिव दुर्गाप्रसाद भट्टराई, शिष्टाचार महापाल मुक्तिनाथ भट्ट, दक्षिण एसिया तथा सार्क महाशाखा प्रमुख भरतराज पौड्याल लगायत छन्। सम्मेलनमा भाग लिन उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार नै माले गएका छन् ।
शिखर सम्मेलनमा क्षेत्रीय बिज बैंक, औद्योगिक वस्तुहरूको क्षेत्रीय गुणस्तर चिह्न लगायत चार सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ।
हस्ताक्षर हुने चार सहमतिपत्रमा सार्क बिज बैंक, प्राकृतिक प्रकोप उद्धार, सार्कअनुरुपको मूल्यांकनका लागि बहुपक्षीय व्यवस्था र क्षेत्रीय मानकको कार्यान्वयन छन्। सम्मेलनको अन्तिम दिन सदस्य राष्ट्रका सरकार प्रमुखको उपस्थितिमा विदेशमन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम छ।
सन् १९८५ मा स्थापना गरिएको सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ सदस्य राष्ट्र छन्।