मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

राष्ट्रपति रामवरण यादवले नेपालमा राजनीतिक स्थायित्व भएमा पर्यटन प्रवर्द्धनबाटै देशको आर्थिक समृद्धि हुने बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घ (युआइएए) को साधारणसभाको उद्‍घाटन गर्दै उनले नेपाल पर्यटन वर्ष २०११ ले नेपालमा पर्यटन विकास अवसर सिर्जना गरेको उल्लेख गरे।

राष्ट्रपति यादवले नेपालमा विविध संस्कृति, जाति, कृषि र प्राकृतिक सौन्दर्यको सदुपयोगबाट नै पर्यटन विकास ठूलो सम्भावना रहेको औंल्याए । उनले यस अन्तर्राष्ट्रिय सम्मेलनले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनबाट परेको नकारात्मक असरलाई रोक्ने उपायबारे साधारणसभाबाट सुझावहरू आउने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रसिद्ध पर्वतारोहीहरू र पर्वतीय पर्यटनको विकासमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । यस सम्मेलनबाट हिमाली शृङ्खलाको वातावरणीय सन्तुलन र पर्वतीय पर्यटनका लागि काठमाडौं घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।

चारदिने सो सम्मेलनमा नेपाल, जापान, पाकिस्तान, अमेरिका, बेलायत, अर्जेन्टिनालगायत २० देशका प्रसिद्ध पर्वतारोही र विशेषज्ञहरूको सहभागिता छ। – रासस

तपाईको प्रतिक्रिया