मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले शान्ति र संविधानका लागि नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली काँग्रेस, रत्ननगर समितिले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शान्ति र संविधानलाई धरापमा पार्ने गरी काँग्रेसले कुनै सहमति र सम्झौता नगर्ने प्रस्ट पारे ।

सरकार ढाल्ने, अविश्वासको प्रस्ताव ल्याउने जस्ता कार्य काँग्रेसले नगर्ने उल्लेख गर्दै नेता पौडेलले जतिसक्दो चाँडो शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउन काँग्रेस आतुर रहेको बताए ।

माओवादी सकारात्मक बने शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र संविधान निर्माण गर्न कुनै अप्ठेरो नहुने उनको भनाइ थियो ।

माओवादी लडाकुलाई विशेष समिति मातहत राखेको भनिए पनि उनीहरु माओवादीको प्रत्यक्ष निगरानीमा रहेका उल्लेख गर्दै उहाँले भन्नुभयो– शिविरबाट माओवादीको झण्डासम्म झिकिएको छैन, नाम मात्रको प्रचारबाजी भएको छ ।

नेता पौडेलले सेनाको मापदण्डअनुसार मात्र माओवादी लडाकुलाई समायोजन गर्न सकिने प्रस्ट पार्दै सामूहिक प्रवेश असम्भव रहेको बताए । – रासस

तपाईको प्रतिक्रिया