शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024

छोरी पिकनिक र छोरा साथीहरूसँग स्वीमिङ्ग गएका थिए अनि श्रीमान् कलेजको मिटिङ्गमा। घरमा सघाउने नानी लुगा धुँदै थिई। टिभी हेर्न बत्ती थिएन। के गरुँ के गरुँ हुँदै छोरीको कोठामा छिरेँ। लथालिङ्ग तन्ना, किताब र कपडाहरू यत्रतत्र छरिएका रहेछन्। आज छोरीलाई सरप्राइज दिन भनेर मिलाउन थालेँ। सामानहरू यथास्थानमा मिलाएर तन्ना फेरिदिएँ। झयालका शिशाहरू पुछिसक्दा अलि थाके जस्तो भयो। यसो बेडमा पल्टेको सिरानी अग्लो जस्तो लाग्यो, छोरीको डायरी रहेछ। गल्ती गर्दैछु भन्ने थाहा हुँदा-हुँदै पनि पढ्न थालेँ।

 २६ असोज
कलेजमा मेरो मनसँग, स्वभावसँग मिल्ने साथीहरू अझै भेटेकी छैन। केटाहरू संसारमा उनीहरूभन्दा अरू केही छैन जस्तो गर्छन्। सरले पढाइरहेका बेला पनि अनेकथरी एसएमएस गर्छन्। मलाई त उनीहरूसँग बोल्नै मन लाग्दैन, तर के गर्नु?

१४ कात्तिक
सडकमा निकै जाम भएकाले ८ बजे पुगिसक्नुपर्ने कलेजमा ९:३० मा मात्र पुगियो। हतार-हतार सिँढी चढ्दै थिएँ, अंग्रेजी पढाउने सुगन्ध सरले भने, “के छ अवन्तिका तिम्रो खबर ? किन यति हतार ?”

“गुड मर्निङ्ग सर! जामले गर्दा पहिलो पिरियड छुट्यो। हतारमा छु सर।”

“दोस्रो पिरियड मोहक सरको हैन? उहाँ त बिदामा हुनुहुन्छ। जाउँ हिँड क्यान्टिनमा कफी खान।।

“आज भइहाल्यो सर!”
“मैले भनेपछि खुरुक्क हिँड न।”

म सुगन्ध सरको पछि लागेर क्यान्टिनमा जान बाध्य भएँ। कफी आउँदा उनी नजानिँदो पाराले मेरो शरीरमा आफ्नो शरीर छुवाउने कोसिसमा थिए। म अलिपर सरेँ, उनी अझ् नजिक आए। म फेरि अलिपर सरेँ, कफी सकियो। उनले पैसा तिरे।

“अवन्तिका, मीठो साथ र समयका लागि धन्यवाद है तिमीलाई।”
यो सरको नियत र क्रियाकलाप ठीक छैन।

२५ कात्तिक
कलेजका साथीहरूले कक्षापछि टेकुको नाङ्लो रेस्टुरेन्टमा मःम खाने प्रोग्राम बनाए। आठ जनाको समूहमा रहेका हामी सबै बाइकमा थियौं।

“अवन्तिका, आजको स्पोन्सर को हो, थाहा छ?”

“मलाई कसरी थाहा हुन्छ?”

“म हुँ। किन थाहा छ?”

“ए बाबा, तिमी नै भननँ।”

“किनभने, म तिमीलाई प्रेम गर्छु भनेर यिनीहरूले थाहा पाएपछि नखुवाई भएन।”

“ए हो र? भनेपछि तिमी मेरो प्रेममा पर्दैछौ !”

“साँच्चै अवन्तिका, म तिमीलाई हृदयदेखि माया गर्छु।”

हामी रेस्टुरेन्टको टप-फ्लोरमा थियौं। म मौन भएँ।

“तिमीले मेरो प्रश्नको जवाफ नै दिइनौ।”

“हेर अभिमन्यु, हरेकको प्रश्नको जवाफ हरेकले दिइहाल्नुपर्छ भन्ने मलाई लाग्दैन।”

“मैले कहिलेसम्म पर्खिनुपर्ने?”

“तिमी स्वतन्त्र भएर बाँच, पर्खाइमा अल्झाउँदिन म।”

“अवन्तिका प्लिज, मलाई बुझ्।”

घरमा पुग्दा ढिलो भयो भनेर मम्मी रिसाउनुभयो। बाबाले केही भन्नुभएन।

 २९ मङ्सिर
कुनै सेमिनारमा भाग लिँदा अचानक भेट भएको थियो, अभिमन्युसँग। कसरी-कसरी नजिकियौं हामी। धेरै दिनको मोबाइल एसएमएसपछि एक दिन भेट गर्‍यौं।

“अवन्तिका, तिमी नै भन म के गरौं अब।”

“पढाइ नसकेसम्म त केही गर्न सकिन्न।”

“ठीक छ, गाह्रो भए पनि भविष्यका निम्ति धेरै कुरा सोच्नुपर्छ हामीले।”

 २ पुस
शनिबारको दिन थियो। मम्मीले परिवारै नगरकोट जाने प्रस्ताव राख्नुभयो।

“तिमीले हिजै भन्नुपर्ने, आज त मेरो मिटिङ्ग छ”, बाबाले भन्नुभयो।

“हिजो भन्नुभएको भए हुन्थ्यो, अब त प्रोग्राम क्यान्सिल गर्न मिल्दैन मम्मी!” मैले भनेँ।

“प्लिज मम, डन्ट माइण्ड। आज त हाम्रो क्लासकै पिकनिक छ, सुन्दरीजलमा”, भाइले भन्यो।

“ल ल ठीकै छ। अर्को शनिबार चाहिँ कसैले केही भन्न पाउँदैन”, ममीले चित्त बुझाउनुभयो।

मम्मीलाई एक्लै छाडेर हामी पालैसँग निस्कियौं। म र अभिमन्यु एउटा सल्लाको फेदमा गयौं। तर, त्यहाँ मेरो होसहवास् उड्यो। मैले यस्तो कल्पनासम्म गरेकी थिइनँ। बिहान कलेजको जरुरी मिटिङ्ग छ भन्ने मेरा बाबा एउटी महिलासँग हातमा हात राखेर घुम्दै हुनुहुन्थ्यो। अचानक मेरो निधारभरी पसिना देख्दा अभिमन्यु छक्क पर्‍यो।

“तिमी थाकिछौ, हिँड कतै रेस्टुरेन्टमा बसौं।”

रेस्टुरेन्टमा अभिमन्युले स्प्राइट र आलुचिप्स मगायो। खान मात्र के थालेकी थिएँ, आँखा पूर्वतर्फको टेबुलमा पर्‍यो, जहाँ साकार एउटी केटीसँग बसेको थियो। मैले आफू अभिमन्युसँग आएको कुरा बिर्सें। सोझ्ै गएर भनेः

“तेरो त सुन्दरीजलमा पिकनिक थियो होइन?”

“तिम्रो पनि कार्यक्रम अन्तै थियो हैन र दिदी ?”
त्यही बेला बाबा तिनै महिलासँग रेस्टुरेन्टमा पस्नुभयो। हामी लाजले राता भयौं। बाबाले छोराछोरीको अगाडि यसरी नाङ्गेझार हुनुपर्ला भनेर सपनामा पनि सोच्नुभएको थिएन होला। उहाँ केही नबोली रेस्टुरेन्टबाट बाहिरिनुभो। ती महिला छक्क पर्दै पछि लागिन्। भाइ चुपचाप बसिरह्यो। म चेतहीन भएर घर फर्कें।

“किन यति ढिलो अवन्तिका?”
“जाम थियो।”
“साकार तँ किन ढिला ?”
“मोटरसाइकल पञ्चर भएर हैरान् ।”

“अनि हजुर किन ढिला?”
बाबाले पुलुक्क मतिर हेर्नुभो। ढाँट्न सिपालु मेरा बाबा आज काँपिरहनुभएको थियो।
“ढिलो शुरु भएको मिटिङ्ग साह्रै लम्बियो।”
“न लोग्ने, न छोराछोरी। म त एक्लै यो घरमा बस्दाबस्दा बहुलाउँछु होला”, ममीले सुस्केरा छाड्नुभयो।
अपराधबोध भयो मलाई। बुबाले मेरो अनुहारमा हेर्न सक्नुभएन। भाइ नखाइकन आफ्नो कोठामा छिर्‍यो। बुबा भान्सा बस्नु मात्र भयो। मैले पनि खान सकिनँ। राति निन्द्रा लागेन। मम्मीको जीवनसँग टिठ लागेर आउँछ। सानैमा बिहे, बुहार्तन र छोराछोरीको हेरचाहमै उहाँका दिनहरू बिते, कहिल्यै जिन्दगी भोग्न र रमाउन पाउनुभएन। बाबाले धेरैपछि मात्र उहाँलाई काठमाडौं ल्याउनुभो, त्यो पनि छोराछोरीको पढाइका लागि। आज तिनै छोराछोरीले दिएको धोकामा विश्वास गरिरहनुभएको छ।

७ पुस
आज कलेजमा एक्कासी ज्वरो आयो। प्रिन्सिपलसँग बिदा मागेर १२ बजे घर आएँ। मम्मी छक्क पर्नुभयो। मैले ज्वरोले गर्दा बिदा लिएर आएको भनेपछि निधार छाम्नुभयो।

“किन एक्कासी ज्वरो आयो तँलाई हँ?”

“चिसोले होला मम्मी।”

“स्वेटर नलगाएपछि जाडोले खाइहाल्छ नि!”
हतारहतार तातोपानी तताएर सिटामोलसँग दिनुभयो। म मम्मीको जिन्दगी केलाउन थालेँ। मेरो लोग्ने, मेरा छोराछोरी भनेर घर धान्नुहुन्छ, तर तिनैले उहाँलाई ठगिरहेका छन्। म पनि त मम्मी जस्तै एउटी नारी हुँ। भोलि ममाथि पनि यस्तो विश्वासघात आई नपर्ला र? रातभर निन्द्रा लागेन।

 ८ पुस
आज ज्वरो अलि घट्यो, कलेज गएँ। अभिमन्युले कतै घुम्न जाउँ भन्यो। कहिलेकाहीँ कलेज बङ्क गर्नु सामान्य भइसकेको छ। हामी एउटा रेस्टुरेन्टको टपमा बस्यौं। अभिमन्युले कफी मगायो। ढोकातिर आँखा लगाउँदा बाबा अस्तिकै महिलालाई डोर्‍याउँदै आइरहनुभएको।

उहाँ एकदम तर्सिनुभो। आज मलाई कत्ति पनि डर लागेन उहाँसँग। अभिमन्युलाई केही नभनी ब्याग टिपेर अगाडि गएँ। बाबाको हात समातेर तल झारेँ। बुबाले ड्राइभ गर्न थाल्नुभो। म उहाँकै साइड सिटमा बसँ।

“बाबा, जे भइराख्या छ साह्रै गलत भइराख्या छ। हजुरले नै बाटो बिराउँदा हाम्रो कस्तो गति होला ?”

“म लज्जित छु छोरी। आजदेखि म यस्ताखाले सबै क्रियाकलाप बन्द गर्छु, तिमीहरूले पनि आफूलाई सुधार्नु। तिम्री आमामाथि मैले गरेको विश्वासघात अब दोहोरिने छैन।”

बाबा र म सबेरै सँगै घर आएको देखेर मम्मी दङ्ग पर्नुभो। कुन र कस्तो परिस्थितिले आज बाबुछोरी सँगै आए भनेर बिचरा मम्मीलाई के थाहा? भाइलाई फोन गरेँ, ऊ पनि छिटै घर आयो।

“के जादु भो आज, सबै जना समयमै घर आएका छन्।”

“पारु, अब हामी सधैँ सबै समयमै घर आउँछौं।”
भाइ र म राति अबेरसम्म टेलिभिजन हेरेर बस्यौं। दिउँसोको घटना सुनाउँदा ऊ गम्भीर देखियो।
“दिदी, हामीले मम्मीलाई धेरै ठग्यौं।”
“भइहाल्यो छाडिदे अब सबै कुरा, अब राम्ररी पढ्न थाल्नुपर्छ।”

हाम्रो घर बल्ल घर जस्तो बनेको छ। अचेल भाइ र म कोठामा पढाइसम्बन्धी छलफल गर्छौं। बाबा र मम्मी पनि बैठकमा चिया पिउँदै कुरा गरिरहनुभएको देख्दा आनन्द लाग्छ। यो परिवर्तनको कारण मम्मीलाई थाहा नभएकै ठीक छ। उहाँ खुसी हुनुहुन्छ, त्यति भए पुग्छ।

सपना हो कि विपना, छुट्याउन गाह्रो भो मलाई। छोरीको डायरी भेटेकै ठाउँमा राखिदिएँ। चलचित्रझै विगत आँखा अगाडि आउन थाले। यो दिनसम्म आइपुग्दा धेरै छलिएछु, ग्लानि भो। कति चोखो विश्वास गरेर बाँचेकी रहेछु आजसम्म? धन्य, मेरी छोरी जीवनदाता बनेर उभिइछ। उसले टुक्रिन थालेको परिवारलाई आज एक बनाएकी छे। मलाई शङ्कै गर्ने ठाउँ नदिएर यत्रो खुसी ल्याई, उसले।

साकार पनि अचेल बुझने भएको छ। उहाँ पनि अब ती कुराहरूबाट धेरै टाढा भइसक्नुभएको छ। उहाँलाई मनमनै क्षमा गरिदिँदा मन छ्याङ्ग भयो । ***

तपाईको प्रतिक्रिया