बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभु साहलाई सरकारबाट हटाएको घोषणा गरेका छन् ।
बुधबार व्यवस्थापिका संसदको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले संवन्धित दलको सिफरिसमा दुबै जनालाई पदमुक्त गरेको संसद बैठकलाई जानकारी गराए । भूमिसुधार मन्त्री साह र रक्षामन्त्री भण्डारीलाई सरकारबाट हटाउन माग गदै कांग्रेस एमाले लगायत प्रतिपक्षी दलहरुले एक हप्तादेखि संसद् बैठक अवरुद्ध गर्दै आएका थिए ।
रक्षामन्त्री भण्डारीले गत असोज १ गते २२ जिल्लाले निर्णय गरे नेपालबाट छुट्टिन कस्ले रोक्छ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले उनको राजीनामा मागिरहेका थिए । त्यस्तै विश्व हिन्दुसंघका अध्यक्ष काशीनाथ तिवारीको हत्याकाण्डमा मुछिएपछि भूमि सुधार मन्त्री साहको पनि राजिनामा माग हुँदै आएको थियो । साहले राजिनामा दिइसकेका छन् ।
बुधबार दिउँसो बसेको फोरम लोकतान्त्रिकको बैठकले रक्षामन्त्री भण्डारीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । उनी समर्थक कार्यकर्ताले सरकारबाट फिर्ता बोलाउने निणर्यका विरुद्ध आन्दोलन गर्ने बताएका छन् ।
यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा दीर्घकालीन महत्त्व राख्ने कुनै पनि सम्झौता नगर्ने प्रतिवद्धता जनाउनु भएको छ । व्यवस्थापिका संसदको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्रीले संक्रमणकालिन अवस्थामा राष्ट्रिय सहमति बिना भारतसँग कुनै पनि सहमति नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
 ‘देश संक्रमणकालिन अवस्थामा छ’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘बिना राष्ट्रिय सहमति हामी कुनै पनि सन्धि सम्झौता गर्ने पक्षमा छैनौँ ।’
तपाईको प्रतिक्रिया