शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं- ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ! जस्ता अनेकौँ युगान्तकारी तथा कालजयी हरफहरु समेटिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाका अमर कृति ‘मुनामदन’ले नेपालका पुस्तक बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको छ ।

साझा प्रकाशनका प्रकाशन विभागका प्रमुख दामोदर कोइरालाका अनुसार हालसम्म ‘मुनामदन’को बिक्री पाँच लाख प्रति नाघिसकेको छ । साझा प्रकाशनले पछिल्लोपटक सो खण्डकाव्यको २५ औँ संस्करण वि.सं. २०६५ मा एक लाख प्रति छापेको थियो । यसभन्दा अगाडि पनि साझा प्रकाशनले सो पुस्तकको २२ औँ (वि.सं. २०५४) र २४ औँ (वि.सं. २०५९) संस्करणमा पनि एक/एक लाख प्रति नै प्रकाशित गरेको थियो ।

वि.सं. २०३३ सालदेखि साझा प्रकाशनले ‘मुनामदन’को प्रकाशन गर्दै आइरहेको छ । आखिर जम्मा ४० पेजको सो खण्डकाव्यमा के छ ? जसले नेपालमा पुस्तक बिक्रीका अहिलेसम्मका सम्पूर्ण रेकर्डलाई उछिनेको छ ?

राष्ट्रकवि माधवप्रसाद घिमिरे भन्छन्, ‘नेपाली साहित्यमा ‘मुनामदन’ले रोमान्टिक शैलीमा लोकलयको प्रस्तुतिलाई स्थापित गरेको छ । जसले गर्दा ‘मुनामदन’ नेपालीहरु माझ अत्यन्त लोकपि्रय भयो । अहिले पनि लोकपि्रय नै रहेको छ ।’

‘मुनामदन’को पहिलो र दोस्रो प्रकाशन क्रमशः वि.सं. १९९६ र १९९८ मा हाकिम मास्टर खड्गमान मल्लको प्रबन्धमा भएको थियो । उक्त प्रकाशनहरुमा क्रमशः एक हजार र दुई हजार प्रति छापिएको थियो ।

त्यसैगरी, ‘मुनामदन’को तेस्रो प्रकाशन वि.सं. २००२ मा मास्टर सागरमणि आ.दी.को प्रबन्धमा भएको थियो जसमा दुई हजार प्रति छापिएको थियो ।

तपाईको प्रतिक्रिया