काठमाडौं – जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । बिहीबार काठमाडौं गुर्खाजविरुद्ध ५ विकेटको जित निकाल्दै जनकपुरले प्लेअफको यात्रा गर्यो । ऊ एक खेलअगावै प्लेअफमा पुगेको हो ।
आफ्नो छैटौँ खेलमा काठमाडौंले दिएको १ सय २ रनको सामान्य लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि जेम्स नीशमले २७, हर्ष ठाकरले अविजित २५, लाहिरु मिलान्थाले १६, मोहम्मद मोहोसिनले अविजित १३ तथा कप्तान अनिलकुमार साहले ११ रन जोडे ।
काठमाडौंका लागि कप्तान करण केसीले दुई तथा शाहब आलम, दीपेश कँडेल र जेरार्ड इरास्मसले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.३ ओभरमा १ सय १ रनमा अलआउट भयो ।
उसका लागि जेरार्ड इरास्मसले २०, कप्तान करण केसीले १९ तथा ओपनर स्टीफन एस्किन्जीले १७ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
जनकपुरका लागि स्पिनर ललितनारायण राजवंशीले ४ ओभरमा २ मेडनसहित ८ रन दिएर तीन विकेट लिए । यस्तै, शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर तीन विकेट नै हात पारे ।
मोहम्मद मोहसिनले दुई तथा किशोर महतो र अरनिको यादवले एक/एक विकेट लिए । यो जितपछि जनकपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ ।
काठमाडौंले अहिलेसम्म पाँच म्याच खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ । ऊ अहिले चार अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।