टोकियो – हिमेजी महल प्रवेश शुल्क गैरआवासीयहरूका लागि दोब्बरभन्दा बढीले बढाउने प्रस्ताव गरिएको छ । जापानको पश्चिमी सहर हिमेजीले २०२६ देखि विश्व सम्पदा सूचीमा समावेश हिमेजी (महल) किल्लाको प्रवेश शुल्क गैरआवासीय व्यक्तिहरूका लागि दोब्बर वा तीनगुणा बढाउन प्रस्ताव गरेको हो ।
ह्योगो प्रिफेक्चरको हिमेजी स्थानीय सरकारले मार्चमा प्रस्ताव पेस गर्दै हालको वयस्क टिकटको मूल्य एक हजार येनबाट दुई हजारदेखि तीनहजारयेनबीच पुर्याउने योजना बनाएको छ । १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरूका लागि हाल तीन सय येन रहेको शुल्क २०२६ को वसन्तदेखि निःशुल्क गरिनेछ ।
स्थानीय सरकारले आगामी अप्रिलदेखि अक्टोबरसम्मको लागि डिजिटल टिकट प्रणाली पनि परीक्षणका रूपमा सुरु गर्ने योजना बनाएको छ, जसमा टिकटमा समय र मिति तोकिएको हुनेछ । यो प्रणाली छिमेकी ओसाका प्रिफेक्चरमा हुने वर्ल्ड एक्स्पोको समयमा प्रयोगमा ल्याइनेछ ।
गत जुनमा हिमेजीका मेयर हिदेयासु कियोमोटोले किल्लाको मर्मत-सम्भार खर्चको सहयोग गर्न विदेशी आगन्तुकका लागि प्रवेश शुल्क चारगुणा बढाउने सम्भावनाबारे सोचिरहेको बताएका थिए । तर, केही सभासद्हरूले यस्तो प्रस्तावले विदेशी पर्यटकहरूमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै चासो व्यक्त गरे ।
सन् २०२३ को आर्थिक वर्षमा करिब १ दशमलव ४८ मिलियन मानिसले हिमेजी किल्लाको भ्रमण गरेका थिए । जसमध्ये ४ लाख ५२ हजार ३ सय जना विदेशी पर्यटक थिए, जुन सन् १९९२ देखि उपलब्ध तथ्यांकअनुसार पहिलोपटक ४ लाखभन्दा माथि पुगेको थियो ।