काठमाडौं – सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया मुक्त भएको घोषणा गरेका छन् । विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन् । विवरणहरूमा असदले एक विमानमार्फत् दमास्कस छाडेको बताइएको छ । तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन ।
सिरियाको अवस्थाबारे विद्रोही फौजले गरिरहेका कैयौँ नयाँ घोषणामध्ये एकमा राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ । सोसल मिडियामा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ । विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई पूर्ण रूपबाट स्वतन्त्र पारेको बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका हुन् ।
विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो । सिरियाका विपक्षी नेता हदि अल-बहराले अरबीक समाचार संस्था अल-अरबीयालाई असदको शासन ढलेको र सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको बताएका छन् । सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन् ।
‘हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू – जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ,’ उनले एक्समा लेखेका छन् । ‘त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन । मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ ।’ बीबीसी