समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई लक्षित गर्दै “धेरै बोल्नेले आफूलाई सिध्याउने तर, कम बोल्नेले अरुलाई सिध्याउने” भनी टिप्पणी गरेका छन्। विराटनगरमा आयोजित नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। थापाले सभापति देउवाले कम बोल्ने भएकाले “उहाँको समय लिएर बढी बोलेको” बताएपछि देउवाले यो प्रतिक्रिया दिएका थिए।
सभापति देउवाले पार्टीलाई बलियो बनाउन स्थानीय तहमा मिहिनेत गर्न कार्यकर्तालाई निर्देशन दिए। उनले तीन तहको संरचनामा सबैभन्दा महत्वपूर्ण स्थानीय तह भएकाले त्यहाँ बलियो हुने पार्टी मात्र बलियो हुने स्पष्ट पारे। देउवाले “ग्रासरुटलाई मजवुत बनाउने पार्टी मात्रै बलियो हुने” भन्दै स्थानीय तह, वडा र टोलमा सक्रियता बढाउन आग्रह गरे। उनले राजनीतिक स्थायित्वका लागि गठबन्धनलाई आवश्यक मान्दै यसलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखे।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीको कामको प्रशंसा गर्दै देउवाले कांग्रेस ऋणको विरोधी नभएको तर बीआरआई अन्तर्गतका परियोजनामा ऋण लिन नहुने अडान लिएको पनि प्रष्ट पारे।