समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगरमा रहेको कोइराला निवास पुगेका छन्। प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर आएका देउवाले कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको निवासमा समय बिताएका हुन्।
स्वर्गीय कृष्णप्रसाद कोइरालाले झण्डै डेढ शताब्दीअघि निर्माण गरेको ऐतिहासिक घरमा पुगेका देउवाले भित्तामा सजाइएका पुराना तस्बिरहरू ध्यानपूर्वक अवलोकन गरे। यस घरमा डा. शेखर र उनका दाजु निरञ्जनको संयुक्त स्वामित्व रहेको छ। तर, शशांक कोइराला भने त्यहाँ कमै मात्र देखिने गरेका छन्। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको स्मृति यसमा जोडिएको हुनाले यो घर नेपाली राजनीतिमा महत्त्वपूर्ण मानिन्छ। देउवा लामो समयपछि उक्त घरमा पुगेका हुन्।
बीपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा थालेका देउवाले २०४६ सालको राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको समर्थनमा आफ्नो भूमिका स्थापित गरेका थिए। तर, पछि उनले कोइरालालाई नै चुनौती दिदैँ पार्टीमा छुट्टै धारको नेतृत्व गरेका हुन्।