काठमाडौं – काठमाडौँको कालिमाटीमा महिलाको शव बोकेर हिँडेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । शव फालेको आरोपमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र बोहरा पक्राउ परेका हुन् ।
कालिमाटीको संगितमार्गमा मंसिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीय जानुका सुर्खेतीको शव भेटिएको थियो । अनुसन्धान गर्दै जाँदा उनको शव युवकले काँधमा बोकेर सडकमा फालेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । उनले भने, ‘प्रविधिको प्रयोग गरेर अनुसन्धान गर्दा शव बोकेर फालेको देखिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’
युवक लागु औषध सेवनकर्ता हुन् । ‘उनले ६०-७० मिटर जति बोकेर लगेको देखिन्छ,’ उनले भने, ‘सिसिटिभी फुटेजमा देखिएको मान्छे म नै हुँ भनेका छन् । तर आफूले के गरेको के घटना भएको हो भन्ने थाहा छैन भनेका छन् ।’
आरोपी विरुद्ध ज्यानसम्बन्धी कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी भट्टराईले जानकारी दिए । मृतक आफूखुसी सडकमा बस्दै आएकी थिइन् । मृतकको सुरुवाल खुला रहेको हुनाले युवकले बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ । तर, चोट नदेखिएको हुनाले हत्या पुष्टि हुनसक्ने प्रमाण फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।