Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं – पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ । उनी ८३ वर्षका थिए र उनको मृत्यु काठमाडौंको फ्रन्टलाइन अस्पतालमा भएको हो ।

अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार उनलाई अस्पताल ल्याउँदा नै निधन भइसकेको थियो । ढुंगाना २०४८ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए, त्यसैपछि सभामुखको जिम्मेवारीमा नियुक्त भएका थिए । उनी २०४८ देखि २०५१ सम्म सभामुखका रूपमा कार्यरत रहे ।

उनले २०५१ सालको निर्वाचनमा फेरि प्रतिस्पर्धा गरे पनि हार बेहोर्नु पर्यो । पछिल्लो पटक २०७४ मा भक्तपुर-२ बाट चुनावी मैदानमा उत्रिए, तर त्यो पटक पनि सफल हुन सकेनन् । नेपाली राजनीतिको ऐतिहासिक घटनाक्रममा ढुंगानाको भूमिका उल्लेखनीय थियो । उनले लोकतान्त्रिक व्यवस्थाको स्थापना र गणतन्त्रको लागि भएका आन्दोलनहरूमा नेतृत्वदायी भूमिका खेलेका थिए । २०६२/०६३ को जनआन्दोलनमा उनले नागरिक आन्दोलनको अगुवाइ गर्दै जनताको पक्षमा उभिएका थिए ।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाले २०२८ सालदेखि वकालत पेशा सुरु गरेका थिए र ०४६ सालसम्म वकालतमा सक्रिय थिए । बहुदलीय व्यवस्था स्थापना भएपछि उनी पार्टी राजनीतिमा प्रवेश गरे । तर, आफ्नो सम्पूर्ण राजनीतिक जीवनमा उनले राज्यसत्ताबाट कुनै सुविधा लिएका थिएनन्, सधैं लोकतन्त्र र जनताको पक्षमा आवाज उठाउँदै आएका थिए । उनले माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन पनि धेरै पटक सहजकर्ताको भूमिका निभाएका थिए ।

ढुंगाना सधैं सत्ता समीकरणमा नरहने, तर लोकतन्त्र र नागरिक अधिकारको लागि दृढ आवाज उठाउने व्यक्तित्वको रूपमा चिनिन्थे । आफ्नो राजनीतिक यात्रामा उनले विभिन्न कठिनाइहरू सामना गरे तापनि आफ्नो आदर्श र सिद्धान्तप्रति अडिग र हे। उनले जीवनभर लोकतन्त्रको सुदृढीकरण र न्यायको पक्षमा संघर्ष गरे ।

वकालतमा आउनुअघि उनी केही समय शिक्षकको भूमिका पनि निर्वाह गरेका थिए । आफ्नो जीवनको पछिल्ला वर्षहरूमा भने उनी सक्रिय राजनीतिबाट टाढिएका थिए, तर आफ्नो विचार र उपस्थिति नेपाली समाजमा सधैं रहिरह्यो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया