समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन्। बुधबार सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावको अन्तिम मतगणनामा आवश्यक २७० इलेक्टोरल कलेजको मत प्राप्त गरेसँगै ट्रम्पको जित निश्चित भएको हो।
सन् २०१६ देखि २०२० सम्म अमेरिकी राष्ट्रपति रहेका ट्रम्पलाई पुनः निर्वाचित भएकोमा बधाई दिँदै राष्ट्रपति पौडेलले नेपालको तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेका छन्। पौडेलले आफ्नो सन्देशमा नेपाल–अमेरिका सम्बन्ध दोस्रो कार्यकालमा थप सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।
ट्वीटमार्फत पौडेलले दिएको बधाईमा भनिएको छ, ‘हार्दिक बधाई, निर्वाचित राष्ट्रपति तपाईको ऐतिहासिक जितमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि तपाईलाई सफलताको शुभकामना१ तपाईको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छ।’ यस्तै विश्वका धेरै देशका राष्ट्र तथा सरकार प्रमुखले ट्रम्पलाई बधाइ दिएका छन्।