Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक ०७, २०८१
Wednesday, October 23, 2024

केहि दिन अगाडि देशैभरि परेको अविरल वर्षातका कारण नेपालमा ठूलो जनधनको क्षती भएको छ । संघीय राजधानी काठमाडौंसंग बाह्य यातायात सम्पर्क विच्छेद भएको थियो । अझ उदेकलाग्दो बिषय त अत्यधिक वर्षातका कारण डुबानमा परेको राजधानीको ललितपुरको नख्खु क्षेत्रस्थित एक टिनको छाप्रोमाथि बसेर उद्वारको पर्खाईमा रहेका पाँचजना नागरिकलाई हेर्दा हेर्दै भेलले बगायो । बगेका पाँच जनामध्ये तीनजनाको नागरिकस्तरबाट उद्वार गरिएको छ भने दुईजना अझै बेपत्ता छन् ।

सामान्य सभा, समारोह वा औपचारिक कार्यक्रमका नाममा परिचालित हुने नेपाली सेनाका हेलिकोप्टर राजधानीकै मुटुमा आफ्ना नागरिकलाई भेलले बगाउँदा पनि उद्वारमा खटिएनन् । यो घटनाले सारा नेपालीको मन भक्कानिएको छ र विपद् व्यवस्थापनमा सरकारको ठूलो कमजोरी रहेको भन्दै सर्बत्र आलोचना भईरहेको छ। सतर्कता र उद्वारको तयारी कमजोर हुँदा राज्यशक्तिको सम्पूर्ण स्रोतसाधन केन्द्रीत राजधानी काठमाडौं उपत्यकाभित्रै बाढीपहिरोबाट ३७ जनाले ज्यान गुमाएका छन्। देशभरमा गरी १ सय १२ जनाको मृत्यु भएको छ भने १ सय जना भन्दा बढी घाइते भएका छन्। मौसम पूर्बानुमान महाशाखा र विज्ञहरूले एक साताअघिबाटै जोखिमको चेतावनी दिँदै आएको भए पनि तदअनुरुपको तयारी नगरेको भन्दै सरकारको तिब्र आलोचना भईरहेको हो। नागरिकस्तरबाट मात्र नभएर सरकारमै सामेल दलका उच्चतहका नेताहरूले समेत जनताको जीउधनको सुरक्षामा सरकार उदासिन रहेको भन्दै आलोचना गरिरहेका छन्। काँग्रेस नेता शेखर कोइरालाले राजधानीमा हेर्दाहेर्दै मान्छे बगेको घटनालाई समेत सरकारले बेवास्ता गरेको बताएका छन्।

नेपालीहरुको हर्षोल्लास र पारिवारिक पुनर्मिलकको पर्व दसैंको पूर्वसन्ध्यामा मुलुक शोकमा डुबेको छ । परिवारजनसंगै दशैं मनाउन परदेशबाट घरदेश फर्कने तयारीमा रहेका र झिटीगुन्टा कसिसकेका हजारौं नेपालीहरुलाई पनि उक्त घटनाले पुनर्विचार गर्न बाध्य बनाएको छ । ठूला चाडपर्वको पूर्वसन्ध्यामा बाढी, पहिरो र डुबानका कारण देशैभरिका यातायात सेवा कतै पूरै र कतै आंशिकरुपमा अवरुद्ध हुन पुगेका छन् । सुचारु हुने टुंगो छैन । जसले गर्दा राजधानीबाट दसैं मनाउन आ-आफ्नो थात-थलो फर्कन बुनेका योजना समेत अन्यौलमा परेकाछन् । आफ्ना नागरिकलाई तात्कालिक सेवा र सुबिधा निसर्त प्रवाह गर्नु राज्यको पहिलो कर्त्तब्य हो । त्यसमाथि प्राकृतिक प्रकोपका कारण जीउधन नै जोखिममा परेका नागरिकका लागि राज्यले अझ बढी ध्यान दिनुपर्नेमा राजधानीकै नागरिकले दिनडाहाडै भेलमा हेलिएर ज्यान गुमाउनुपर्ने स्थितिले सिंहदरबारमा विराजमान शासकहरु आफ्ना नागरिकप्रति कति जिम्मेवार छन् भन्ने प्रष्ट हुन्छ । विपद ब्यवस्थापनमा राज्यको निरिहपन यो नै पहिलो घटना पनि होईन । केही महिना अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनामा पनि विपद ब्यवस्थापनमा राज्यले लबस्तरो पर्फमेन्स देखाएकै हो । तत्काल प्रभावकारी ब्यवस्थापन हुन सकेको भए त्यो हदको क्षती नहुने विज्ञहरुले ठोकुवा नै गरेका छन् ।

हरेक दृष्टिकोणले हामी नेपालीहरुका लागि महत्वपूर्ण मानिने दसैं आउनुपूर्व दशा बनेर आएको प्राकृतिक विपदले अहिले नेपाली जनजीवन गिजोलिएको छ । उनीहरुको खुशी खोसिएको छ । कसैले प्रियजन गुमाएका छन, कतिपयलाई घरबारबिहिन बनाएको छ भने कतिपयलाई सँधैका लागि नगरि खानू, नमरि जानूको अवस्थामा घाइते अपाङ्ग बनाएको छ । अस्तब्यस्त र अन्यौलग्रस्त बन्न पुगेको नेपाली जनजीवन पुनः लयमा फर्कन निकै समय लाग्ने देखिन्छ । जसले गर्दा यो वर्षको दसैंले नेपालीहरुको मुहारमा अपेक्षित खुशी ल्याउन सक्ने देखिदैंन ।

साँच्चिकै भन्नुपर्दा प्रवासका नेपालीहरु चाडपर्वका बेला अझ बढी स्वदेशको यादमा तडपिने गर्दछन् । उनीहरुले परिवारजन, प्रियजन र आफु जन्मेहुर्केको रस्तीबस्तीको निकै मिस गर्दछन् । मुलघर फर्काउने, गाउँ सम्झाउने र वल्लाघरे, पल्लाघरे छिमेकीसंग साइनो रिन्यू गराउने ल्याकत राख्ने एकमात्र पर्व हो दसैं । यस पर्वले हामीलाई हरेक वर्ष केहि दिन भए पनि सुदूर बाल्यकालतर्फ फर्काउँछ र जीवन-जगत र विगतप्रति निर्मम समीक्षा गर्न बाध्य पार्छ, तसर्थ यस पर्व अब धार्मिक पर्वका रुपमा मात्र नभएर सामाजिक र साँस्कृतिक पर्वकोरुपमा समेत स्वदेश तथा विदेशमा मनाउन थालिएको छ । दसैं अघि बल्झिएको दशालाई समयमै उचित ब्यवस्थापन गरी सदाझैं दसैंलाई हर्षोल्लासका साथ मनाउन सकियोस् स्वदेश तथा विदेमा रहनुभएका समस्त नेपालीहरुमा हार्दिक शुभकामना ! ***

तपाईको प्रतिक्रिया