Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

लन्डन – लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार, आइतबार भएको भर्चुअल बैठकमा एनआरएनए पदाधिकारीले पहिलो चरणमा तत्काल बाढीपीडितका निम्ति एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकबाट गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ । समितिमा संघका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् ।

पदाधिकारीको बैठकपछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपत्कालीन संयुक्त बैठक आयोजना गरी सहयोग संकलनमा थप छलफल गरिने जनाइएको छ । अध्यक्ष डा. केसीका अनुसार, एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ ।

वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाप्रति बैठकबाट श्रद्धाञ्जली व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

यसैक्रममा संघले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौंमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद् (केन्द्रीय समिति) बैठकमा प्रस्तुत गर्नेछ । बाढीपहिरोबाट काठमाडौं, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरी जिल्लाका बासिन्दा प्रभावित छन् ।

संघका महासचिव गौरीराज जोशीले एनआरएनएको वार्षिक साधारणसभाको तयारीबारे पनि बैठकमा छलफल गरिएको जानकारी दिए । उक्त साधारणसभा आउँदो कात्तिक ११ र १२ मा काठमाडौंमा आयोजना गरिँदै छ ।

तपाईको प्रतिक्रिया