काठमाडौं – पोखराका २ जना विद्यार्थीले कक्षा १२ को नतिजामा नेपाल टप गर्न सफल भएको सम्बन्धित विद्यालयको दाबी छ । शुक्रबार प्रकाशित नतिजामा मदरल्याण्ड माविकी सदीक्षा क्षत्री र एसओएस पोखराका कुशल तिवारीले समान ३.९६ जिपिए ल्याउन सफल भएका हुन् ।
उनीहरु दुवै जना विज्ञान संकायका हुन् । प्रशंसा पोखरा १७ तथा कुशल पर्वतको कुष्मा घर भइ हाल पोखरा निवासी हुन् । मदरल्याण्डका अरु ३ जना विद्यार्थीको ३.९५ जिपिए आएको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । विज्ञान संकायका विनम श्रेष्ठ र प्रशील लामिछाने तथा व्यवस्थापन संकायबाट प्रशंसा बरालको ३.९५ जिपिए आएको हो ।
व्यवस्थापनतर्फ प्रसिम आचार्यले ३.९२ जिपिए ल्याए । गत वर्ष पोखराका ३ जना विद्यार्थी नेपालमै टपर भएका थिए । व्यवस्थापन संकायका राजेश पौडेल तथा विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापाले ३.९६ जिपिए ल्याएपछि विद्यालयले जनही २ लाखसहित पुरस्कृतसमेत गरेको थियो ।
यसपालि देशभर कुल परीक्षार्थीमध्ये ५२ प्रतिशत पास हुँदा मदरल्याण्डले ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको प्राचार्य नारायण बरालले बताए । उनका अनुसार कुल ३ सय ६१ विद्यार्थीले परीक्षा दिएका थिए । विज्ञान संकायका १ सय ९० मध्ये ९८.४२ प्रतिशत र व्यवस्थापनका १ सय ७१ मध्ये ९६.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
२०८० सालको हालै प्रकाशित एसइई नतिजामा समेत मदरल्याण्डकै १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४.० जिपिए तथा औषत ३.७९ जिपिए ल्याएपछि देशैभरि चर्चाको विषय बनेको थियो । २०५१ सालमा स्थापित मदरल्याण्डमा हाल नर्सरीदेखि १२ कक्षासम्म करिब २६ सय विद्यार्थी पढ्छन् ।
एसओएसबाट यस वर्ष १ सय ४० जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएकामा १ सय ३९ जना उत्तीर्ण भएको प्लस टु इन्चार्ज खगेन्द्र बरालले बताए । तीमध्ये ३.६१ देखि ४.० जिपिएभन्दा ल्याउने ६४ जना, ३.२१ देखि ३.६० जिपिएसम्म ६२ जना, २.८१ देखि ३.२० सम्म ११ जना छन् । १ जनाको २.७३ जिपिए आएको बरालले बताए । यहाँ नर्सरीदेखि १२ कक्षासम्म करिब १ हजार विद्यार्थी छन् ।